सिरुटारमा एकाविहानै चोरीको प्रयास ःएकजना पक्राउ, तीनजना फरार
बैशाख ८, २०८०, शुक्रबार | विहान ०५:०७ बजे | 0
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका १ सिरुटार धन्सार चोकस्थित सोही स्थानमा बस्ने प्रकाशजंग थापाको दुईतल्ले पक्की घरको माथिल्लो तलामा रिद्दीसिद्धी बचत तथा ऋण सहकारी संस्था रहेको भुई तल्लाको काठको मेन ढोकाको ताला फोडी शुक्रबार एकाविहानै चोरीको प्रयास गर्ने एकजना मानिस पक्राउ परेका छन् । भित्र प्रवेश गरेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रभाग सिरुटारबाट प्रहरी सहायक निरीक्षक राजन खड्का र प्रहरी वरिष्ठ हवल्दार.रामाकान्तप्रसाद कुशुवाह टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
ताला काटेर भित्र प्रवेश गर्ने चारजनामध्ये धादिङ भुमेस्थान गाउँंपालिका ३ ढाकरे बस्ने बर्ष ५६ को शुक्रबहादुर तामाङ (मा.प.से) लाई विभिन्न सामानहरुसहित पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनलाई कालो ब्याग ठुलो थान –२, निलो सानो ब्याग थान –१, कपडाको सानो डोरी भएको खैरो झोला थान–१, ग्याँसको रेगुलेटर थान –१ र पाइप थान –१ सहित पक्राउ गरिएको परिसरका एसपी प्रजित केसीले जनाए । उनलाई सामानसहित नियन्त्रणमा लिई वृत ठिमीमा ल्याई राखिएको जनाइएको छ । अन्य तीनजना मानिस कालो पोशाक लगाएका ललितपुर लुभुतर्फ फरार रहेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागी वृत ठिमीबाट प्रहरी नायब निरीक्षक राजकुमार थापाको टोली र प्रहरी नायब निरीक्षक तेजबहादुर बस्नेतको टोली समेत खटि गएको र थप अनुसन्धान जारी रहेको जनाइएको छ । घटनास्थल वृत ठिमीबाट अन्दाजी ६ किलोमिटर दक्षिणमा पर्दछ ।