भक्तपुरबाट खसीबोका चोरहरु पक्राउ
चैत १७, २०७९, शुक्रबार | विहान ०८:०१ बजे | 0
भक्तपुर । भक्तपुर प्रहरीले खसीबोका चोरी गर्ने र चोरी भएको खसीबोका खरिद गरेकोे आरोपमा तीनजनालाई पक्राउ गरेको छ । रामेछाप दोरम्वा १ घर भई हाल भक्तपुरको सूर्यविनायक वस्ने वर्ष २४ को सुमन तामाङ (ट्याक्सी चालक), दोरम्वा ७ घर भई हाल भक्तपुरको मध्यपुर थिमि बस्ने वर्ष ४० को मिलन तामाङ र रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल काठमाडौं पेप्सीकोलामा रामेछाप उदयपुर मासु पसल सञ्चालन गर्ने वर्ष ४३ को दिलबहदुर कार्की (मासु पसल सञ्चालक) गरी तीनजनालाई पक्राउ गरेको हो ।
घटना विवरण अनुसार विहीबार विहान अन्दाजी तीन बजेको समयमा प्रहरी चेकजाँच गर्ने क्रममा बा. २ ज. ४३२७ नं.को ट्याक्सीमा १ वटा कालो बोकासहित पक्राउ परेका ती तीनजना व्यक्तिहरु फेला परेका थिए । निजहरुलाई सोधपुछ गर्दा काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ३ कुशादेवीको रितप्रसाद सापकोटाको घरबाट बोका चोरी ल्याएको र रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल काठमाडौं पेप्सीकोलामा रहेको रामेछाप उदयपुर मासु पसलका संचालक बर्ष ४३ को दिलबहादुर कार्कीलाई बेच्न हिडेको भन्नेसमेत अनुसन्धानको क्रममा खुल्न आएको छ । निज मासुपसलका संचालकसमेतलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि चोरीमा संलग्न मानिसहरु, सवारी साधन (ट्याक्सी), बोकासमेत ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलान्चोकमा पठाइएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । साथै, हालसम्मको प्रारम्भिक अनुसन्धानमा काभ्रेपलान्चोकको विभिन्न ८ स्थान र भक्तपुरको १७ स्थानबाट ४ वटा बोका र ३६ वटा खसी चोरी भएको भन्ने समेत खुल्न आएको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए ।