सिन्धुपाल्चोक। वन तथा वातावरण संरक्षण, सामाजिक चेतना, शिक्षा, कृषि विकास, हरित उद्यम र स्थानीय रोजगारी सिर्जनालाई समाज परिवर्तनका महत्वपूर्ण आधार मान्दै शारदा प्रसाद चालिसे विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आउनुभएको छ। चालिसे वि.सं. २०७७ सालदेखि २०८३ सालसम्म सिन्धुपाल्चोक जिल्लामा हरित स्वयंसेवकका रूपमा वन संरक्षण, वन डढेलो नियन्त्रण तथा वातावरणीय सचेतना अभिवृद्धिको अभियानमा निरन्तर क्रियाशील रहनुभएको छ। वन तथा वातावरण संरक्षणको अभियानसँगै उहाँ शिक्षा क्षेत्रको विकासमा पनि सक्रिय हुनुहुन्छ। विद्यालय व्यवस्थापन समितिको नेतृत्वमार्फत गुणस्तरीय शिक्षा, विद्यार्थीको शैक्षिक भविष्य र विद्यालयको विकासमा योगदान पुर्याउँदै आउनुभएको छ। त्यसैगरी पछिल्लो समय उहाँ कृषि अभियानमा समेत सक्रिय हुनुभएको छ। खेतीयोग्य जमिनको सदुपयोग, आधुनिक कृषि प्रविधिको प्रयोग, कृषि उत्पादन वृद्धि, किसानको सम्मान र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उहाँले जोड दिँदै आउनुभएको छ। आफैँ खेतबारीमा कृषि औजार प्रयोग गरी खेतीपातीमा संलग्न हुनुले पनि उहाँको कृषि अभियानप्रतिको रुचि झल्काउँछ। हरित उद्यममार्फत स्थानीय रोजगारी सिर्जना चालिसेको अर्को महत्वपूर्ण पहल हरित उद्यमसँग सम्बन्धित छ। उहाँको व्यवस्थापकीय संलग्नतामा सञ्चालित सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र, सुनकोशी गाउँपालिका–३, सुकुटे सेरा तथा बलेफी गाउँपालिका–२, नौबिसे धाडे मार्फत सालको पातबाट दुना टपरी उत्पादन हुँदै आएको छ। यस उद्यमले स्थानीय आमा, दिदीबहिनीहरूलाई कच्चापदार्थ संकलन, छटाइ तथा उत्पादनसम्बन्धी काममा आंशिक रोजगारीको अवसर प्रदान गरेको छ। यसबाट स्थानीय स्रोतसाधनको उपयोग, परम्परागत सीपको संरक्षण, वातावरणमैत्री उत्पादन र महिलाको आर्थिक सहभागितामा समेत सहयोग पुगेको छ। सन्देशमूलक गीतका सर्जक तथा गायक चालिसे सामाजिक अभियानसँगै कला र संगीत क्षेत्रमार्फत पनि जनचेतना फैलाउन सक्रिय हुनुहुन्छ। उहाँ वन, वातावरण संरक्षण, जलवायु परिवर्तन, कृषि तथा सामाजिक चेतनासम्बन्धी सन्देशमूलक गीतका सर्जक तथा गायकसमेत हुनुहुन्छ। उहाँले सिर्जना तथा गायन गर्नुभएका ‘वनको माया छ’, ‘वनजोगाउने अभियान’, ‘सिन्धुपाल्चोक घुम्न जाऔँ बसमा सरर’ र ‘हामी आगो रोक्छौँ’ लगायतका गीतमार्फत वन संरक्षण, पर्यावरणीय सचेतना र सामाजिक जागरणको सन्देश प्रवाह गर्दै आउनुभएको छ। यसरी सामाजिक अभियान, उद्यमशीलता र संगीतलाई समेत जोडेर समाजमा सकारात्मक परिवर्तन ल्याउने उहाँको प्रयास प्रशंसनीय देखिन्छ। उहाँको भनाइमा, “वन जोगाऔँ, वातावरण बचाऔँ, गुणस्तरीय शिक्षा विस्तार गरौँ, कृषि उत्पादन बढाऔँ र हरित उद्यममार्फत स्थानीय रोजगारी सिर्जना गरौँ। किसानको सम्मान, स्थानीय उत्पादन र सामुदायिक सहभागिताबाट समृद्ध समाज निर्माण गर्न सकिन्छ।” वन, वातावरण, शिक्षा, कृषि, उद्यम र संस्कृतिलाई एकअर्काका परिपूरक क्षेत्रका रूपमा विकास गर्न सके मात्रै दिगो विकास र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने उहाँको धारणा छ।
हरित वातावरण, शिक्षित समाज, समृद्ध कृषि, स्थानीय रोजगारी र जनचेतनामूलक सिर्जना नै समुन्नत नेपालको आधार हुन्। समाचार तथा प्रस्तुति: शारदा प्रसाद चालिसे हरित स्वयंसेवक संयोजक, सिन्धुपाल्चोक
जय किसान! जय हरित अभियान! समृद्ध नेपाल!
वन तथा वातावरण संरक्षणदेखि शिक्षा, कृषि, हरित उद्यम र सन्देशमूलक गीत सिर्जनासम्म चालिसेको बहुआयामिक अभियान












Leave a Reply