बेखाल साकोसको १९औँ वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर। बेखाल बचत तथा ऋण सहकारी संस्था लि.को १९औँ वार्षिक साधारणसभा भक्तपुरको कमलविनायकमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक समिति सदस्य कृष्णगोविन्द लाखाजुले सहकारी क्षेत्रमा लागू गरिएको ‘एक व्यक्ति एक सहकारी सदस्यता’ सम्बन्धी व्यवस्थाबारे चर्चा गर्दै उक्त व्यवस्थाको संशोधनका लागि आफूहरूले निरन्तर पहल गरिरहेको बताउनुभयो। उहाँले सहकारीका शेयर सदस्यहरू एकभन्दा बढी सहकारीमा सदस्य भई ऋण कारोबार गर्दैमा सहकारी संस्था नबिग्रने धारणा व्यक्त गर्नुभयो। साथै, जगेडा कोष, नियमित बचत र शेयर लाभांशबारे जानकारी दिँदै नयाँ सहकारी ऐनअनुसार नियमित बचत वृद्धि गर्न शेयर सदस्य तथा सञ्चालकहरूले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले वडाका गतिविधिबारे जानकारी दिँदै भक्तपुर नगरपालिकाले नागरिकलाई निःशुल्क अक्सिजन तथा रगत उपलब्ध गराउँदै आएको बताउनुभयो। उहाँले शेयर सदस्यहरूले आफ्नै वडामा सञ्चालित सहकारी संस्थामा बचत गर्दा आफ्नो बचत सुरक्षित हुने उल्लेख गर्दै बजारमा सञ्चालित असुरक्षित सहकारीको लहलहैमा लागेर बचत गर्दा बचत डुब्न सक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो।

त्यसैगरी, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक समिति सदस्य राजकुमार लघुले साधारणसभा शेयर सदस्यहरूको महासभा भएको बताउँदै साधारणसभामा उपस्थित भई संस्थाका प्रतिवेदन सुन्ने र प्रतिवेदनमा उल्लेखित विषयमाथि छलफल गर्दा संस्थाको वास्तविक अवस्था ऐनाजस्तै छर्लङ्ग हुने बताउनुभयो। उहाँले जिल्ला बचत संघले प्रारम्भिक सहकारी संस्थाहरूका लागि विभिन्न शिक्षा तथा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। प्रारम्भिक संस्था र संघहरूको हकहितका लागि जिल्ला संघ निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै सरकारले जारी गरेका कतिपय मापदण्डले सहकारी संघसंस्थालाई अप्ठ्यारो पारेको अवस्थामा त्यसको संशोधनका लागि विभिन्न कार्यक्रममार्फत सम्बन्धित निकायमा पहल गरिरहेको बताउनुभयो।

कार्यक्रममा संस्थाका सल्लाहकार रामभक्त अवाल र राम अवालले संस्थाको विकासका लागि विभिन्न सल्लाह तथा सुझाव दिनुभएको थियो।

साधारणसभाको अवसरमा प्रमुख अतिथि कृष्णगोविन्द लाखाजुले ज्येष्ठ नागरिक, असल बचतकर्ता तथा असल ऋणीहरूलाई सम्मान गर्नुभएको थियो भने भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले एसईई उत्तीर्ण शेयर सदस्यहरूलाई सम्मान गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका सचिव सुरेन्द्र राजचलले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सजना चित्रकारले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक सञ्जय शाक्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो। सभाले प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *