सुकुन्दा साकोसको १९औँ वार्षिक साधारण सभा सम्पन्न
भक्तपुर, मंसिर ५ गते । सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा शनिबार खँचास्थित सिद्धि गणेश तालिम हलमा आज भव्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष राजभाई माकको सभापतित्वमा भएको सो कार्यक्रमको भक्तपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले पानसमा दिप प्रज्वलन गरी साधारण सभाको औपचारिकरुपमा उद्घाटन गर्नु हुँदा एकान्त कुमारी साँस्कृतिक खलले बाँसुरी बाजाको सुमधुर धुन प्रस्तुत गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष उकेश कवांले एउटा सहकारी संस्था मात्रै सम्पन्न भएर देशको आर्थिक समस्या समाधान नहुने बताउनुभयो। देशमा २ खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ रेमिटेन्स भित्रिए पनि सहकारीमा रहेको पुँजी उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको उहाँले औँल्याउनुभयो। हजारौँ युवाहरू विदेश पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले वर्तमान सरकारले उद्योग–व्यवसाय प्रवद्र्धनमा ध्यान नदिएको आरोप लगाउनु भयो।
पुँजीवादी व्यवस्थाका कारण हरेक १०–१० वर्षमा विश्वमा आर्थिक संकट निम्तिने गरेको उल्लेख गर्दै कवांले भन्नुभयो, “ठूला देशको अगाडि साना देशका उद्योगधन्दा सप्रिनेमा शंका छ। उत्पादन नबढाई र आर्थिक गतिविधिलाई तीव्रता नदिई देश विकास सम्भव छैन।” संसारमा कम्युनिस्ट विचारधारा नभएको भए काम गरी खाने जनताले अझै धेरै दुःख भोग्नुपर्ने बताउँदै उहाँले आर्थिक विकाससँगै राजनीतिक सचेतना र आर्थिक अनुशासन अपरिहार्य रहेकोमा जोड दिनुभयो। साथै, साधारण सभामा उपस्थिति भत्ता लिएर मात्र फर्किने प्रवृत्तिमा आर्थिक तथा सामाजिक चिन्तनको अभाव देखिएको टिप्पणी गर्दै उहाँले सहकारीलाई सही दिसा दिन सदस्यको भूमिका पनि महत्वपूर्ण हुने धारणा राख्नु भयो
कार्यक्रमका विशेष अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण संघकी प्रतिनिधि चन्दिका छुकांले सहकारी बचत र ऋणको कारोबार गर्ने थलो मात्र नभई सामाजिक क्षेत्रमा योगदान पुर्याउने संस्था भएको बताउनुभयो। पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टिकोण फरक बन्दै गएको चर्चा गर्दै उहाँले साधारण सभाको अवसरमा सदस्यहरूले संस्थाको वास्तविक आर्थिक अवस्था बुझ्न आवश्यक रहेकोमा जोड दिनुभयो।
संस्थाका सल्लाहकार नाती कवांले युवाहरू विदेसिँदा स्वदेशमा वृद्धवृद्धा मात्र बाँकी रहेको अवस्थाका कारण आर्थिक समस्या जर्जर बनेको बताउनुभयो। आफूसँग भएको पुँजीलाई घरजग्गामा मात्र नलगाई कृषि र उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने उहाँको सुझाव थियो।
अर्का सल्लाहकार विश्वराम कवांले वि.सं. २०१३ सालमा चितवनको बखानपुर सहकारीबाट सुरु भएको सहकारी अभियानले ७ दशक पार गरिसक्दा पनि बढी ब्याज र रोजगारीको प्रलोभनमा सर्वसाधारण ठगिँदै आएको बताउनुभयो। सुकुन्दा साकोस समुदायमा आधारित सहकारी भएकाले सदस्य र समुदायको आर्थिक उन्नतिका लागि निरन्तर चिन्तनशील हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो। सभामा सल्लाहकार विष्णुभक्त मारिखु लगायत विभिन्न मित्र सहकारी संस्थाका प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका सचिव सूर्यराम त्वानाबासुले आर्थिक वर्ष २०८२÷८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा हाल २ हजार ६५ जना सदस्य आबद्ध रहेको र ४३ करोड ९६ लाख ३० हजार ५३७ रुपैयाँ १ पैसा बराबरको कुल सम्पत्ति तथा दायित्व रहेको जानकारी दिनुभयो।
यसैगरी कोषाध्यक्ष श्रीकृष्ण गोसाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले २८ करोड ९८ लाख ८८ हजार ४९६ रुपैयाँ ६६ पैसा ऋण प्रवाह गरेको तथा सदस्यहरूबाट ६२ करोड ९६ लाख २१ हजार ५७३ रुपैयाँ ९२ पैसा बचत तथा निक्षेप संकलन गरेको विवरण सार्वजनिक गर्नुभयो। लेखा सुपरिवेक्षण समितिका संयोजक श्यामप्रसाद कोजूले संस्थाको तुलनात्मक प्रगति विवरण प्रस्तुत गर्दै विगतको तुलनामा संस्थाले समग्रमा २४ दशमलव ५३ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिनुभयो।
“आर्थिक स्वतन्त्रता र विकासका लागि सहकारिता” भन्ने मूल नाराका साथ वि.सं. २०६४ साल कार्तिक ३० गते संस्थापक अध्यक्ष कान्छा कासिछ्वाको नेतृत्वमा २५ जना सदस्यबाट यो संस्था सुरु भएको थियो।
संस्थाका उपाध्यक्ष केशव कवांले स्वागत मन्तव्य तथा सञ्चालक समिति सदस्य निर्जला प्रजापतिले धन्यवाद ज्ञापन गर्नुभएको उक्त औपचारिक कार्यक्रमको सञ्चालन उद्घोषन संस्थाका व्यवस्थापक सानुकाजी चिकंबन्जारले गर्नुभएको थियो।
सहकारीमार्फत आर्थिक, सामाजिक विकासमा जोड












Leave a Reply