भक्तपुर, मंसिर ४
भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामाले भ्रष्टाचारीको भण्डाफोर अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । स्थानीय निकायको निर्वाचनको चर्चासँंगै निर्वाचनमा भ्रष्टाचारीहरुलाई हराउन अभियान चलाउने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।
भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यसहित आगामी स्थानीय निर्वाचन अघि विशेष गरेर भक्तपुर र काभ्रेमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । काभ्रेको नमोवुद्ध स्थानीय ठेगाना घर भई हाल भक्तपुरमा रहेका अभियन्ता लामाले ‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यले’ यस्तो अभियान सञ्चालन गर्न लागेको जानकारी गराएका छन् । उनले सार्वजनिक गरेको सन्देशमा आगामी स्थानीय निर्वाचनलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको अभियानसँग जोड्दै आफ्नो सक्रिय सहभागिता रहने बताएका छन् ।
भ्रष्ट दल र तिनका उम्मेदबारलाई हराउनु नै मेरो अभियानको मुख्य उद्देश्य हो, उनले एवीसीडी खवरसँंग भनेका छन्, त्यसकारण चुनाव अगाडि उनीहरुको भ्रष्टाचार जनताको अगाडि ल्याउने हाम्रो योजना हो । लामाले भक्तपुर र काभ्रेका स्थानीय निर्वाचनमा आफ्नोतर्फबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्न विश्वस्त रहेको उल्लेख गरेका छन् । स्थानीय तह जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सरकार भएकाले स्थानीय तहमा हुने गतिविधि, निर्णय र कामकारबाहीलाई पारदर्शी तथा जनउत्तरदायी बनाउन नागरिकको भूमिका महत्वपूर्ण हुने उनको सन्देशको आशय छ ।
उनले भ्रष्टाचारमुक्त समाज निर्माण केवल कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट सम्भव नहुने भएकाले यसका लागि सचेत नागरिक, सामाजिक अभियन्ता, पत्रकार तथा जिम्मेवार जनप्रतिनिधिहरूको सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएका छन् । लामा अभियन्ताका साथै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्यसमेत हुन् ।
स्थानीय निर्वाचनलाई जनताले आफ्नो क्षेत्रको नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिँदै लामाले निर्वाचनका क्रममा भ्रष्टाचार, अनियमितता र जनहितविपरीतका गतिविधिविरुद्ध आवाज उठाउनुपर्ने आवश्यकतासमेत औंल्याएका छन् । उनको सार्वजनिक सन्देशमा ‘समाजको हित, राष्ट्रको समृद्धि हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई समेत प्राथमिकता दिइएको छ । यसले स्थानीय तहमा सुशासन कायम गर्दै समाज र राष्ट्रको समग्र विकासमा योगदान पु¥याउने उनको प्रतिबद्धता झल्काउँछ । भक्तपुर र काभ्रेलाई आफ्नो कार्यक्षेत्रका रूपमा उल्लेख गरेका लामाले आगामी स्थानीय निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष जुनसुकै माध्यमबाट भए पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन् ।
लामा पत्रकारिता तथा सामाजिक अभियानमा संलग्न रहँदै आएका छन् । उनले सार्वजनिक गरेको सन्देशमा आगामी निर्वाचनमा आफैं उम्मेदवार नबन्ने स्पष्ट पारको छन् । भ्रष्टाचारी पार्टी र तिनका उम्मेदबारलाई हराई स्वच्छ छविका जुनसुकै पार्टी र स्वतन्त्र उम्मेदबारहरुलाई आफनो समर्थन रहने उनले स्पष्ट पारेका छन् । भ्रष्टाचारमुक्त समाज निर्माण, सुशासन र राष्ट्रिय समृद्धिलाई मुख्य प्रतिबद्धता बनाउँदै लामाले आगामी स्थानीय निर्वाचनमा भक्तपुर र काभ्रेमा आफ्नो भूमिका रहने सार्वजनिक गरेका छन् ।
चुनाव अगाडि भक्तपुरमा भ्रष्टाचारीको भण्डाफोर हुने












Leave a Reply