राजमार्ग सरसफाईसँगै रोपिएका बिरुवाको संरक्षणमा अभियानको सक्रियता निरन्तर

भक्तपुर, मङ्सिर ५

राष्ट्रको लागि २ घण्टा अभियानले अरनिको राजमार्ग खण्डको सल्लाघारी परिसरमा अभियानबाट रोपिएका बिरुवाको संरक्षण, सम्वर्धन तथा राजमार्ग सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। २०८३ मङ्सिर ५ गते बिहान ७ बजेबाट सल्लाघारी चोकदेखि राधे राधेसम्म कार्यक्रम गरिएको थियो। अभियानका कार्यवाहक अध्यक्ष जयराज पौडेलको संयोजनमा भएको कार्यक्रममा पूर्व संघीय सांसद दुर्लभ थापा, पारिजात सहकारी बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष टंकराज काफ्ले, अभियानका सल्लाहकार भागीरथा सिटौला,अभियानका सचिवद्वय गोविन्दप्रसाद आचार्य र चन्द्रकृष्ण श्रेष्ठ तथा कोषाध्यक्ष बिना देउजा,फोहोरमैला व्यवस्थापनमा काम गर्दै आएका नेप्सेम्याक भक्तपुर, नेपाल फुलबारी र स्वच्छ वातावरण समाज केन्द्रका प्रतिनिधि, अभियानका सदस्य, सक्रिय अभियन्ता तथा स्थानीयको पनि उल्लेख्य सहभागिता थियो। कार्यक्रम पारिजात सहकारीको विशेष व्यवस्थापन र सहजीकरणमा भएको थियो भने प्राविधिक सहकार्य नेप्सेम्याकले गरेको थियो। पूर्व सांसद थापाले आफ्नो घर अगाडि राजमार्गछेउ अभियानबाट रोपिएका करिब ३०० देखि ५०० मिटर क्षेत्रका बिरुवाम शतप्रतिशत आफूले हुर्काएको बताए। सबैको साथ,सहयोग र सहभागिताले मात्र भक्तपुरलाई स्वच्छ, समुन्नत र सुन्दर बनाउन सकिने उनको भनाइ थियो। कुरामा भन्दा काममा बढी अग्रसर हुनुपर्ने सुझाव दिँदै उनले अभियानले भक्तपुरका विभिन्न भूगोलमा पुर्‍याएको वातावरणीय योगदानका लागि धन्यवाद दिए। पारिजात सहकारीका अध्यक्ष काफ्लेले मानिसको भित्री मन स्वस्थ र पवित्र भएमात्र बाहिरी सुन्दरता झल्कने बताए। सहकारीले राधे राधेदेखि कटुन्जे दोभान चोकसम्मको राजमार्ग खण्डमा सरसफाई तथा वृक्षारोपणमार्फत हरियाली प्रवर्धनमा आगामी दिनमा अभियान सँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यवाहक अध्यक्ष पौडेलले अभियानको कामलाई हौसला दिने र सहकार्यमा जोडिने सबैलाई धन्यवाद दिए। अभियानका महासचिव नबराज काफ्लेले केही दिनअघि घरघरबाट फोहोर सङ्कलन गर्ने क्रममा डम्पिङमा परेको १७ तोला सुन खोजतलास गरी धनीलाई फिर्ता गरेकोमा अभियानका सक्रिय अभियन्ता समेत रहेका नेपाल फुलबारीका व्यवस्थापक केदार घिमिरे लगायत परिवारलाई धन्यवाद दिँदै कार्यक्रममा थप सक्रिय हुन आह्वान गरे। सरसफाईका क्रममा राजमार्गको छेउको कुलोमा फोहोर डम्पिङ गरिएको, प्लास्टिकजन्य वस्तु, सुर्ती र गुट्खाका खोल यत्रतत्र फालिएको तथा मृत जनावर भेटिएको थियो। अव्यवस्थित पार्किङ र बिग्रेका सवारीसाधन सडकमै स्थायी रूपमा राखिँदा आवागमन असहज भएको देखिएको थियो। अध्यक्ष पौडेलले यस विषयमा सबैको चासो हुनुपर्ने धारणा राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *