स्थानीय उत्पादन र युवा उद्यमशीलतालाई जोडदै पाँचौ ख्वप हाटबजार सम्पन्न

सुनिता गाइसी
भक्तपुर, असोज २३
स्थानीय उत्पादन, घरेलु उद्यम, हस्तकला तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित पाँचौँ ख्वप हाटबजारमा ६३ भन्दा बढी स्टल राखिएका थिए । ख्वप इन्क्युबेसन ल्याब तथा प्लेसमेन्ट सेलको आयोजनामा सम्पन्न हाटबजारको उद्घाटन ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले संयुक्त रूपमा गर्नुभयो। ।हाटबजारको उद्घाटनपछि मन्तव्य राख्दै ख्वप कलेजका प्रार्चाय प्रकाशकुमार श्रेष्ठले हाटबजारको महत्वमाथि प्रकाश पार्नुभयो। उहाँले स्थानीय उत्पादनको प्रवद्र्धन, घरेलु तथा साना व्यवसायको विकास र उद्यमशीलता अभिवृद्धिमा हाटबजारले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। यस्ता कार्यक्रमले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुका साथै स्थानीय सीप, सिर्जनशीलता र व्यावसायिक क्षमतालाई बजारसँग जोड्न सहयोग पु¥याउने बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्क्युबेसन ल्याबकी संयोजक अन्जु ग्वाछाले हाटबजारलाई विद्यार्थी तथा युवा उद्यमीले आफ्ना उत्पादन र व्यावसायिक सोच प्रस्तुत गर्ने अवसरका रूपमा व्याख्या गर्नुभयो। यस्ता गतिविधिले उद्यमशीलता विकास, व्यावहारिक ज्ञान अभिवृद्धि तथा नयाँ व्यावसायिक सम्भावना पहिचान गर्न सहयोग पु¥याउने अपेक्षा गरिएकोमा जोड दिनुभयो । हाटबजारमा स्थानीय स्तरमा सञ्चालित व्यवसाय तथा साना उद्यमीका उत्पादनलाई विशेष स्थान दिइएको थियो । हातले बुनेका ऊनका सामाग्री, बुकी, गहना, खाद्य परिकार, लत्ताकपडा, स्टेसनरी, हस्तकला, मसला, अचार, बेकरीका परिकार, माटाका आकर्षक सामाग्री, सौन्दर्य सामग्री तथा परम्परागत सांस्कृतिक आभूषण, हस्तकलाका सामाग्री, तोरीको तेल, पुस्तक लगायतका सामग्री बिक्री तथा प्रदर्शनीका लागि राखिएका थिए।
ख्वप हाटबजार स्थानीयस्तरमा सञ्चालित साना तथा घरेलु व्यवसायलाई आफ्ना उत्पादन चिनाउने, ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने र बजार विस्तार गर्ने अवसरका रूपमा रहेको छ। यस हाट बजारमा भादगाउले टोपी देखि जुम्लाको मार्सी चामल सम्म राखिएको थियो । ठूला व्यापारिक प्रतिष्ठानको तुलनामा सीमित स्रोतसाधन भएका साना उद्यमीलाई बजारसम्म पहुँच स्थापित गर्न चुनौती हुने गर्दछ। यस्तो अवस्थामा हाटबजारले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध निर्माण गर्न सहयोग पु¥याउँछ। उपभोक्ताले स्थानीय उत्पादनको गुणस्तर, उपयोगिता र विशेषताबारे जानकारी प्राप्त गर्न सक्ने भएकाले यसले स्थानीय व्यवसायको पहिचान विस्तार गर्नसमेत मद्दत गर्छ । भक्तपुरको मौलिक कला, संस्कृति, परम्परा र हस्तकलासँग स्थानीय उत्पादनको गहिरो सम्बन्ध छ। माटाका भाँडा, परम्परागत गहना, सांस्कृतिक आभूषण तथा हस्तकलाका सामग्रीले स्थानीय सीप र सिर्जनशीलतालाई प्रतिनिधित्व गर्छन्। यस्ता सामग्रीको प्रदर्शनी तथा बिक्रीले परम्परागत सीपको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि सकारात्मक वातावरण निर्माण गर्न सक्छ। त्यसैगरी, मसला, अचार, बेकरीका परिकार तथा अन्य खाद्य सामग्रीको बिक्रीले घरेलु उत्पादनलाई बजारसँग जोड्ने अवसर प्रदान गर्छ। हाटबजारलाई केवल किनमेल गर्ने स्थलका रूपमा मात्र नभई स्थानीय जीवनशैली, सीप, संस्कृति र उत्पादन प्रणाली बुझ्ने अवसरका रूपमा पनि लिन सकिन्छ । हाटबजारले स्थानीय उत्पादनको कारोबार बढाउन, साना उद्यमीको आयआर्जनका अवसर विस्तार गर्न र समुदायभित्र आर्थिक गतिविधि प्रवद्र्धन गर्न सहयोग पु¥याउन सक्छ। यसले उत्पादन, बिक्री तथा वितरणमा संलग्न व्यक्तिहरूबीच आर्थिक सम्बन्ध विस्तार गर्ने सम्भावना पनि बोकेको छ।
यस्ता कार्यक्रमले विद्यार्थी तथा युवामा उद्यमशील सोच विकास गर्न, नयाँ व्यावसायिक सम्भावना पहिचान गर्न र आफ्नै उत्पादन तथा सीपलाई बजारमा प्रस्तुत गर्न प्रेरित गर्न सक्छन्। विशेषगरी घरेलु तथा पारिवारिक व्यवसायलाई प्रोत्साहन गर्दा स्थानीय स्रोतसाधनको उपयोग र समुदायमा आधारित आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्न सक्छ।
हाटबजारमा रजत प्रजापति र लिजा प्रजापतिको ‘क्ले ब्युटी’ स्टल उत्कृष्ट स्टलका रूपमा छनोट भएको थियो। उत्कृष्ट स्टललाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट स्टलको छनोट तथा सम्मानले विद्यार्थी र युवा उद्यमीलाई सिर्जनशीलता, व्यावसायिक सीप र उद्यमशील क्षमता प्रदर्शन गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
पाँचौँ ख्वप हाटबजारमा ६३ भन्दा बढी स्टलको सहभागिताले स्थानीय उत्पादन तथा साना व्यवसायको विविधता प्रस्तुत गरेको छ। यस्ता कार्यक्रमको निरन्तरताले स्थानीय उद्यमशीलता, आर्थिक आत्मनिर्भरता, कला–संस्कृति र परम्परागत सीपको संरक्षणमा योगदान पु¥याउने अपेक्षा गर्न सकिन्छ। यस ५ औ हाट बजारमा गो लोकलका तर्फबाट पनि ४ वटा स्टल राखिएको थियो । कार्यक्रमको समापन सत्रमा उत्कृट स्टललाई प्रमाणपत्र तथा नगद पुरस्कारकाका साथै सम्पूण सहभागी स्टलहरुलाई सहभागिताको प्रमाण पत्र कलेका प्रार्चाय प्रकाश कुमार श्रेष्ठले वितरण गर्नुभयो । कार्यक्रममा बिबिएसका इन्चार्ज प्रकाश नायभारी र उपप्राध्यापक सुनिता गाइसीले पनि बोल्नुभएको थियो । यस्ता हाटबजारले स्थानीय उत्पादनलाई बजारसँग जोड्न, साना उद्यमीको पहिचान विस्तार गर्न तथा उद्यमशीलताको विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *