नबराज काफ्ले
भक्तपुर, २३ असोज
जलवायु परिवर्तनका असरहरू स्थानीय स्तरमै प्रत्यक्ष देखिन थालेको अवस्थामा वातावरणीय सचेतना र समुदायको प्रत्यक्ष सहभागितालाई जोड्दै भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ मा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
“सफा–सुग्घर घर–आँगन, सफा स्वच्छ बाटो, पूर्ण सरसफाइउन्मुख बन्दैछ चाँगुनारायणको माटो” भन्ने मूल नाराका साथ विजया दशमी, शुभ दीपावली, नेपाल संवत्–११४७ एवं छठ पर्वको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
‘समुदायको लागि दुई घण्टा अभियान’ को १८० औं हप्ताको निरन्तरता स्वरूप चाँगुनारायण नगरपालिका–२ नं. वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रमको पहिलो चरणमा वडा कार्यालयको अग्रभागबाट केएमसी चोकसम्मको सडक खण्डमा व्यापक सरसफाइका साथै पूर्ववत् रूपमा रोपिएका बिरुवाहरूको गोडमेल तथा संरक्षण गरिएको थियो। तत्पश्चात् दुवाकोट ब्यान्केटको परिसरमा दोस्रो चरणको औपचारिक शुभकामना तथा अभिमुखीकरण सभा सञ्चालन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश सरकारका पूर्व मन्त्री माननीय सुरेश श्रेष्ठले चाडपर्वहरू केवल खानपिन र भेटघाटमा मात्र सीमित नभई समुदायलाई जोड्ने र वातावरण जोगाउने सामाजिक उत्तरदायित्वसँग गाँसिनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहमा ‘समुदायको लागि दुई घण्टा’ जस्ता नागरिक अभियानले समाजमा सकारात्मक नागरिक चेतनाको बीजारोपण गरेको उल्लेख गर्नुभयो ।
विशिष्ट अतिथिका रूपमा बोल्दै चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले चाँगुनारायणलाई स्वच्छ, हरियाली र पूर्ण सरसफाइयुक्त नगरपालिका बनाउने नीतिगत प्राथमिकता रहेको स्पष्ट पार्नुभयो । स्थानीयवासीको सक्रियताविना कुनै पनि सरकारी योजना सफल नहुने भन्दै नगरप्रमुख खत्रीले वडा नं. २ ले सरसफाइ र वातावरण संरक्षणमा प्रस्तुत गरेको नमुना योग्य अभ्यासलाई अन्य वडाहरूमा पनि विस्तार गरिने बताउनुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय भक्तपुरका अधिकृत रूपक खत्रीले जलवायु परिवर्तनका विश्वव्यापी प्रभाव र स्थानीय तहमा त्यसले पारेको असरबारे विस्तृत अभिमुखीकरण गराउनुभयो । उहाँले वातावरणीय सन्तुलन कायम राख्न सडक किनाराका हरियाली जोगाउनु र स्थानीय जातका रुख रोप्नु अत्यावश्यक रहेको प्राविधिक पक्ष प्रस्तुत गर्नुभयो । त्यस्तै, प्रज्ञा बोर्डिङ स्कुलका प्रधानाध्यापक टंक सिटौलाले विद्यालय स्तरबाटै बालबालिकाहरूमा सरसफाइ र वातावरण संरक्षणको संस्कार बसाल्नुपर्ने धारणा राख्नुभयो ।
‘समुदायको लागि दुई घण्टा अभियान’का प्रमुख अभियन्ता डा.नबराज काफ्लेले विषयवस्तुको उठान गर्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उहाँले १८० हप्तासम्मको निरन्तर यात्रामा स्थानीय समुदाय, युवा तथा वडाबासीको पाएको अद्भूत साथले नै यो अभियानलाई दीगो बनाएको बताउनुभयो ।
जलवायु परिवर्तनका गम्भीर चुनौतीहरूलाई समुदाय स्तरको सानो प्रयास (सरसफाइ, प्लास्टिक न्यूनीकरण र वृक्षारोपण) बाटै सम्बोधन गर्न सकिन्छ भन्ने सन्देश अभियानले दिँदै आएको उहाँको भनाइ थियो ।
कार्यक्रमको सभापतित्व गर्दै चाँगुनारायण नगरपालिका–२ का वडा अध्यक्ष सोम प्रसाद प्रधानले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले वातावरण मैत्री वडा निर्माणका लागि निरन्तर श्रमदान र सहयोग गर्ने सम्पूर्ण वडाबासी, टोल विकास संस्था, स्थानीय विद्यालय तथा सामाजिक अगुवाहरूप्रति हार्दिक आभार एवं प्रशंसा व्यक्त गर्नुभयो । वडालाई पूर्ण सरसफाइउन्मुख घोषणा गर्ने लक्ष्यतर्फ सबैको हातेमालोले थप ऊर्जा मिलेको अध्यक्ष प्रधानले बताउनुभयो ।
कार्यक्रममा वडाभित्रका विभिन्न विद्यालयका प्रतिनिधि, टोल विकास समितिका पदाधिकारी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि एवं स्थानीय सामाजिक अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरूले आगामी दिनमा पनि यस्ता समुदायकेन्द्रित र वातावरणमैत्री कार्यहरूमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्।










Leave a Reply