महिला सशक्तीकरण र आर्थिक आत्मनिर्भरतामा सकारात्मक परिवर्तन
भक्तपुर । सूर्यविनायक नगरपालिकामा सीमान्तकृत महिला तथा बालबालिकाको सशक्तीकरण, आर्थिक आत्मनिर्भरता र न्यायमा पहुँच अभिवृद्धिका लागि सञ्चालित परियोजनाले सकारात्मक परिवर्तन ल्याएको सामाजिक लेखापरीक्षणले देखाएको छ।
महिला जागरण तथा विकास केन्द्र (CWAD) द्वारा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित परियोजनाको सामाजिक लेखापरीक्षणमा महिलाको आत्मविश्वास, अधिकारसम्बन्धी ज्ञान, आयआर्जनमा सहभागिता तथा स्थानीय तहका निर्णय प्रक्रियामा पहुँच बढेको उल्लेख गरिएको छ।
असोज २३ गते प्रस्तुत सामाजिक लेखापरीक्षण प्रतिवेदनअनुसार परियोजनाले महिलालाई आर्थिक गतिविधिमा सहभागी गराउनुका साथै आफ्ना अधिकारबारे जानकारी प्राप्त गर्न, सरकारी निकायसँग संवाद गर्न र परिवार तथा समुदायका निर्णय प्रक्रियामा आफ्नो भूमिका स्थापित गर्न सहयोग पुर्याएको छ।
परियोजनाअन्तर्गत सूर्यविनायक नगरपालिकामा सशक्तीकरण, न्यायमा पहुँच तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमको लक्ष्य ३१८ जना रहेकामा ३४८ जनाले सहभागिता जनाएका छन्। विधिको शासन, सुशासन तथा नीतिगत पैरवीतर्फ १२० जनाको लक्ष्य राखिएकामा १३७ जनासम्म कार्यक्रमको पहुँच पुगेको छ। त्यसैगरी आर्थिक सशक्तीकरण तथा शैक्षिक सहयोगतर्फ २५० जनाको लक्ष्य रहेकामा १९३ जनाले प्रत्यक्ष सहयोग प्राप्त गरेका छन्। परियोजनाको विवरणअनुसार यसअन्तर्गत १५ वटा व्यवसायलाई सहयोग गरिएको छ भने ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइएको छ।
महिलाको आर्थिक अवस्था सुधार गर्न धूपबत्ती उत्पादन, कपडा ब्रान्डिङ तथा क्याटरिङ सेवाजस्ता व्यवसायमा सहयोग गरिएको छ। सूर्यविनायक नगरपालिका वडा नं. ६ मा यी गतिविधिका लागि विभिन्न शीर्षकमा गरी कुल चार लाख ६९ हजार ९७४ रुपैयाँ खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ।
परियोजनाबाट लाभान्वित महिलाहरूले आफ्नै आम्दानी गर्न थालेपछि परिवारको खर्चमा योगदान पुर्याउन र बचत गर्ने क्षमता विकास गर्न सहयोग पुगेको बताएका छन्। सामूहिक रूपमा आबद्ध भएर काम गर्दा आत्मविश्वास, सीप र सामाजिक पहिचानसमेत बढेको उनीहरूको भनाइ छ।
सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना (भट्टराई) ले महिला सशक्तीकरण, आर्थिक गतिविधि र नगरपालिकासँगको सहकार्यमा CWAD ले महत्त्वपूर्ण योगदान गरेको बताएकी छन्। उनले महिलाको वित्तीय ज्ञान, बचत, संस्थागत व्यवस्थापन र व्यवसाय सञ्चालन क्षमतालाई थप सुदृढ गर्न आवश्यक रहेको औँल्याएकी छन्।
सूर्यविनायक नगरपालिका वडा नं. ६ का अध्यक्ष ईश्वर खड्काले सीमान्तकृत महिला तथा बालबालिकासम्म पुगेर गरिएको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै लैङ्गिक हिंसा न्यूनीकरणका लागि पुरुषको सहभागिता बढाउनुपर्ने सुझाव दिएका छन्।
परियोजनाले आर्थिक सहयोगसँगै महिला तथा बालबालिकाको कानुनी सशक्तीकरण, लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिलाई सेवा तथा न्यायमा पहुँच, व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना र विद्यालयमा अध्ययनरत जोखिममा रहेका बालबालिकालाई शैक्षिक सहयोग प्रदान गर्दै आएको छ।
प्रतिवेदनअनुसार सीमान्तकृत महिला तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिका लागि सेवा पहुँच र सिफारिस प्रणाली सुदृढ गर्न स्थानीय तह, न्यायिक समिति, प्रहरी, विद्यालय तथा अन्य सरोकारवाला संस्थासँग समन्वय गरिएको छ। यसबाट महिलाको सामुदायिक सहभागिता र स्थानीय निर्णय प्रक्रियामा प्रतिनिधित्व बढाउन सहयोग पुगेको उल्लेख छ।
यद्यपि, परियोजनाबाट सुरु गरिएका व्यवसायको दिगोपन, उत्पादनको बजारीकरण, ब्रान्डिङ, डिजिटल मार्केटिङ, लेखा तथा वित्तीय व्यवस्थापन अझै चुनौतीका रूपमा रहेका छन्। अस्थायी बसोबास गर्ने महिला तथा बालबालिकासम्म निरन्तर पहुँच पुर्याउनु र स्थानीय जनप्रतिनिधिको सहभागिता सुनिश्चित गर्नु पनि चुनौती रहेको प्रतिवेदनले औँल्याएको छ।
सामाजिक लेखापरीक्षकले महिला समूहबाट उत्पादित वस्तु तथा सेवाको बजार सुनिश्चित गर्न स्थानीय तहको नेतृत्वमा दिगो बजार संयन्त्र विकास गर्नुपर्ने सुझाव दिएका छन्। सफल आयआर्जनका गतिविधि अन्य वडामा विस्तार गर्न, स्थानीय सरकारको लगानी तथा सहयोग बढाउन र लैङ्गिक हिंसा, बालविवाह, लागुऔषध दुरुपयोग तथा बाल संरक्षणसम्बन्धी सचेतना कार्यक्रमलाई निरन्तरता दिन पनि सिफारिस गरिएको छ।
तीन वर्षे परियोजना सन् २०२४ जनवरी १ देखि २०२६ डिसेम्बर ३१ सम्म सञ्चालन हुने गरी तयार गरिएको हो। यसको कुल बजेट तीन करोड ३७ लाख पाँच हजार २९६ रुपैयाँ रहेको छ। परियोजना सूर्यविनायक नगरपालिका, भक्तपुर तथा कैलाली जिल्लाका धनगढी र गोदावरी नगरपालिकामा सञ्चालन भइरहेको छ। यसको आर्थिक सहयोग Aide à l’Enfance de l’Inde and du Népal (AEIN), लक्जेम्बर्गले गरेको छ।
सामाजिक लेखापरीक्षणको मुख्य उद्देश्य परियोजनाको प्रगति, आर्थिक व्यवस्थापन, उपलब्धि तथा सामाजिक प्रभावबारे सरोकारवालालाई जानकारी गराउनुका साथै कार्यक्रमलाई थप पारदर्शी, सहभागितामूलक र प्रभावकारी बनाउन सुझाव संकलन गर्नु रहेको छ।












Leave a Reply