वेलुन उडाएर कार्यक्रमको उद्घाटन

वागीश्वरीमा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न
भक्तपुर, १९ कार्तिक
वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेजमेण्टको संयुक्त आयोजनामा तिहार, नेपाल सम्बत् ११४७ र छठ पर्वको अवसरमा शुभकामना एवं नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले द्विप प्रज्वलन र उपाध्यक्ष एवम् वागीश्वरी माविका पूर्व प्रधानाध्यापक मोहन प्रसाद प्रजापतिले वेलुन उडाएर कार्यक्रमको उद्घाटन गरेको थियो ।
प्रमुख अतिथि सुनिल प्रजापतिले सुशासन र समृद्धिको कुरा ल्याउने सरकारले व्यवहारमा अर्कै काम गर्नुले जनताले समीक्षा गर्नुपर्ने समय आएको बताउनुभयो । उहाँले नाफा र व्यक्ति विशेषको लागि नभइ समग्र वागीश्वरीको विकास गर्न अनुशासित, इमान्दार र जिम्मेवार भइ काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारमा व्यक्ति फेरेको तर शासकीय सोचमा कुनै परिवर्तन नआएको विचार राख्दै सात महिनासम्म सरकारले गरेका कामले अराजकता निम्त्याएको औंल्याउनुभयो । भ्रष्टाचार र अनियमिततालाई यो सरकारले केही नगरेको भन्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा नै फिर्ता गरी शासन पद्धतिमै अराजकता ल्याएको उहाँको भनाइ छ । सचेत नागरिकले राजनीति नगरे योभन्दा बढी दुर्गति व्यहोर्नुपर्ने बताउँदै उहाँले गलत कार्यलाई हटाउन इमान्दार शिक्षक विद्यार्थीबाटै राजनीति गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले नेपालको सम्पत्ति खरानी पार्न विदेशीहरुले लगानी गरिरहेको औंल्याउँदै नेपालमा आफ्नो स्वार्थ अनुकूल काम गराउने हो भने दुई तिहाइको बहुमतबाटै नेपाल सिक्किम बन्नसक्ने स्पष्ट अडान राख्नुभयो । भारतलाई आफ्नो देश ओगट्नका लागि आह्वान गर्ने सरकारले देशघाटी कदम चाले सचेत नागरिकले नै विरोध गर्नुपर्ने उहाँको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर न.पा. वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सभ्य र सुसंस्कृत समाज र योग्य नागरिक बन्नका लागि शुभ काम र शुभ बचनको थालनी गर्नुपर्नेमा जोड दिनुभयो । जातीय, भाषिक र सांस्कृतिक विविधता रहेको यो देशमा सम्मानित र संस्कारयुक्त जीवन विताउन सकारात्मक सोचको विकास गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै वर्गीय भेद र आर्थिक असमानताको अन्त्य हुनुपर्नेमा जोड दिँदै सम्मान, उचित व्यवहार र विभेदमुक्त भएर काम गर्न सबैलाई उत्प्रेरित गर्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जालमा नकारात्मक कुराले राज गरेको प्रति सचेत भई समाज र देशको प्रगतिका लागि नयाँ पुस्ता अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । बारुद पटाका पड्काउने र जुवा तास खेल्ने हाम्रो संस्कार नभएको बताउँदै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् हुनसक्ने प्रति सतर्क भइ चाडपर्व मनाउन उहाँले आग्रह गर्नुभयो ।
वागीश्वरी कलेज अफ म्यानाजमेण्टका प्राचार्य कृष्णप्रसाद धन्छाले नयाँ वर्ष ११४७, तिहार र छठ पर्व मनाउँदा नयाँ काम के गर्ने र के नगर्ने भनी स्पष्ट पार्दै कविता वाचन गर्नुुभयो । त्यस्तै कलेज व्यवस्थापन समितिका सदस्य एवम् कक्षा ११÷१२ संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरीले शुभकाम गरेर मात्र शुभकामना आदान प्रदान गरेको बताउनुभयो । उहाँले शंखधर साख्वातले आफ्नो सुन बेचेर जनताको ऋण मोचन गरेको सन्दर्भ बताउँदै अहिलेको सरकारले ऋणमोचनभन्दा राज्यको ऋण भार ३० अर्बभन्दा बढी बनाएको बताउनुभयो । साथै उहाँले सरकार थितिभदा बेथितितिर लागेको सन्दर्भ जोड्दै स्वतन्त्रता छाडापन नभएकाले विद्यार्थीहरुलाई इमान्दार, अनुशासित र मर्यादामा बस्न सिक्नुपर्ने बताउनुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले वागीश्वरीमा पढ्ने विद्यार्थीहरु आर्थिक अभावमा बस्न नपरेको बताउनुभयो । उहाँले विद्यालयतहमै ४५ लाख रुपैयाँ र कलेजसम्म १ करोडभन्दा बढी छात्रवृत्तिको व्यवस्था गरेको औंल्याउनुभयो । साथै विद्यालयले कक्षा १ सम्मका विद्यार्थीहरुका लागि तुमचोको बनसीमा छुट्टै बालमैत्री भवनको व्यवस्था गरिसकेको उहाँले बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कलेजमा अध्ययनरत विद्यार्थीका लागि क्षमता वृद्धि हुने गरी कार्य गरिरहेको बताउनुभयो । उहाँले वागीश्वरीका विद्यार्थी संसारका जुनसुकै देशमा गएपनि योग्य र सक्षम बनाउन कार्यक्रमहरु ल्याएको स्पष्ट पार्नुभयो ।
कार्यक्रम संयोजन समितिका संयोजक सुमित्रा कार्कीको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरु लक्मी तामाङ, एल्भिसा कोजु,, असिम ध्वोंजु, ग्रिष्मा हुमागाई, सुवान सुवाललगायतले शुभकामना आदानप्रदान गरेको थियो ।
कार्यक्रममा प्रसिद्ध गायक थानेश्वर गौतम र गनु साम्पाङ राईको बेजोड प्रस्तुतिसँगै विद्यार्थीहरुबाट गीत, नृत्यलगायतको प्रस्तुति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *