टेबुल टेनिस प्रतियोगिता सुरु

भक्तपुर। ड्रागन्स टेबुल टेनिस क्लबको आयोजनामा दसैँ तथा तिहारको अवसरमा प्रथम भक्तपुर जिल्लाव्यापी खुला टेबुल टेनिस प्रतियोगिता आजदेखि भक्तपुरको कलमविनायकमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजना माकको प्रमुख आतिथ्यमा सम्पन्न भयो।उद्घाटन कार्यक्रममा प्रमुख अतिथि माकले खेलकुद र प्राविधिक क्षेत्रबीच अन्तर्निहित सम्बन्ध रहेको धारणा व्यक्त गर्नुभयो। खेल मैदान तथा कभर्डहल निर्माण गर्दा प्राविधिक सहयोग गर्ने इन्जिनियरहरूलाई सम्बन्धित खेलको आवश्यक ज्ञान हुनु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले खेल क्षेत्रको विकासमा प्राविधिकहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।

उहाँले नेपालमा सञ्चालन भइरहेको एनपीएलका क्रममा लगातार वर्षाका कारण खेल मैदान हिलाम्य भएर प्रतियोगिता रद्द हुने सम्भावना रहे पनि उपयुक्त प्रविधिबाट निर्माण गरिएको मैदानमा वर्षा रोकिएलगत्तै खेल सञ्चालन गर्न सम्भव भएको उदाहरण प्रस्तुत गर्दै उहाँले खेलकुद र इन्जिनियरिङ क्षेत्र एकअर्काका परिपूरक रहेको बताउनुभयो।

त्यसैगरी, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत टेबुल टेनिस खेलका वरिष्ठ मुख्य प्रशिक्षक मोहनदास बासुकलाले भक्तपुर नगरपालिकाले सञ्चालन गरेका पाँचवटा खेलकुद प्रशिक्षणमध्ये टेबुल टेनिसमा प्रशिक्षण दिँदै आफू आज देशकै वरिष्ठ मुख्य प्रशिक्षक बन्न सफल भएको स्मरण गर्नुभयो। उहाँले आफ्नो सफलतामा भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण योगदान रहेको बताउँदै कुनै पनि क्षेत्रमा निरन्तर मेहनत गरे सफलता प्राप्त हुने धारणा व्यक्त गर्नुभयो।विगतमा भक्तपुर टेबुल टेनिस खेलको पर्यायका रूपमा परिचित रहेको स्मरण गर्दै उहाँले यस क्लबको सञ्चालनले आगामी दिनमा भक्तपुरबाट विगतमा जस्तै राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो। भक्तपुरमा सम्भवतः पहिलोपटक निजी क्षेत्रबाट टेबुल टेनिस क्लब सञ्चालनमा ल्याएकोमा क्लबका निर्देशक राजिव चिकंबन्जारप्रति आभार व्यक्त गर्दै उहाँले सहभागी खेलाडीहरूलाई सफलताको शुभकामना दिनुभयो।

कार्यक्रमका अतिथि भक्तपुर जिल्ला टेबुल टेनिस संघका अध्यक्ष प्रेम खर्बुजाले भक्तपुर नगरपालिकाले नगरवासीलाई स्वस्थ र सक्रिय बनाउने उद्देश्यले विभिन्न खेलकुद प्रशिक्षण सञ्चालन गर्नुका साथै समय–समयमा प्रतियोगिताहरू आयोजना गरी भक्तपुरलाई खेलकुदमय बनाउँदै आएको जानकारी दिनुभयो। उहाँले नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न कलेज सञ्चालन गर्नुका साथै ती कलेजमा राष्ट्रियस्तरका उत्कृष्ट खेलाडीलाई छात्रवृत्ति प्रदान गरी प्रोत्साहन गर्दै आएको पनि बताउनुभयो।

कार्यक्रममा क्लबका निर्देशक राजिव चिकंबन्जारले स्थानीयस्तरमा टेबुल टेनिस खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। पूर्वअन्तर्राष्ट्रिय टेबुल टेनिस खेलाडी मुना बासुकलाले मानव जीवनमा खेलकुदको महत्त्वबारे प्रकाश पार्नुभयो।

लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल तथा ३५ वर्षमाथि पुरुष एकल विधामा गरी कुल ७० जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता भोलि पनि जारी रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *