नयाँ राजनीति कि पुरानो राजनीतिक संस्कारको नयाँ आवरण ?

लोकतन्त्रको संकट दलमा होइन, राजनीतिक संस्कारमा, लोकतन्त्र, राजनीतिक संस्कार र वैकल्पिक राजनीतिका चुनौती
राजेश शिल्पकार
समाजकै प्रतिबिम्ब राजनीतिक नेतृत्वमा पनि देखिन्छ। राजनीतिक नेतृत्व समाज भन्दा अलग कुनै टापुमा निर्माण हुँदैन। समाजमा विद्यमान चेतना, संस्कार, आकांक्षा, पूर्वाग्रह, मूल्य–मान्यता र व्यवहारकै राजनीतिक अभिव्यक्ति नेतृत्वमा देखिने हो। त्यसैले राजनीतिक नेतृत्वमा देखिएका विकृतिलाई केवल नेताहरूको व्यक्तिगत कमजोरीका रूपमा बुझेर पुग्दैन। त्यसको जरो हाम्रो सामाजिक र राजनीतिक संस्कारभित्र पनि खोज्नुपर्छ।
यही सन्दर्भमा दक्षिण एसियाको राजनीतिलाई हेर्दा एउटा समान प्रकृतिको विडम्बना देखिन्छ। हामीले लोकतन्त्रका संस्थाहरू निर्माण ग¥यौँ, निर्वाचनलाई स्वीकार ग¥यौँ, संविधान बनाएर सत्ता परिवर्तनको अभ्यास ग¥यौँ। तर लोकतन्त्रको मूल संस्कार, अर्थात् असहमतिलाई सम्मान गर्ने, प्रश्न गर्ने, संस्थाको मर्यादा कायम राख्ने, विधिको शासन स्वीकार गर्ने र आफूभन्दा फरक विचारलाई पनि वैध राजनीतिक विचारका रूपमा स्वीकार गर्ने संस्कार अझै पूर्ण रूपमा विकसित हुन सकेको छैन।
हामीले लोकतन्त्रको संरचना निर्माण ग¥यौँ, तर लोकतान्त्रिक संस्कार निर्माण गर्ने काम अझै अधुरो छ।
लोकतन्त्र निर्वाचनमा मात्र सीमित हुँदैन। लोकतन्त्र संसदमा मात्र अभ्यास हुने व्यवस्था पनि होइन। घरदेखि समाज सम्म, राजनीतिक दल देखि राज्यका संस्था सम्म, नेतृत्व देखि नागरिक सम्म असहमतिको सम्मान, प्रश्न गर्ने स्वतन्त्रता, जवाफदेहिता र विधिको शासन स्वीकार गर्ने संस्कारबाट लोकतन्त्र बलियो हुन्छ।
दक्षिण एसियाली राजनीतिमा अर्को साझा प्रवृत्ति पनि देखिन्छ। राजनीति धेरैपटक विचार भन्दा व्यक्ति केन्द्रित, संस्थाभन्दा समूहकेन्द्रित र नीतिभन्दा भावनात्मक ध्रुवीकरणतर्फ जाने गरेको पाइन्छ। आफूले समर्थन गरेको नेताले गल्ती गर्दा त्यसलाई गल्ती भन्न नसक्ने तर विपक्षीले त्यही काम गर्दा त्यसलाई ठूलो अपराध ठान्ने प्रवृत्तिले लोकतान्त्रिक विवेकलाई कमजोर बनाउँछ।
त्यसैले एउटा असहज प्रश्न उठ्छ—के हाम्रा नेता मात्र खराब हुन्, कि हामीले पनि त्यस्तै नेतृत्वलाई निरन्तर उत्पादन गरिरहेका छौँ? नेताले आलोचना सुन्न नसक्नु एउटा समस्या हो। तर नागरिकले पनि आफूले मन पराएको नेता माथि प्रश्न गर्न नसक्नु अर्को समस्या हो। नेतृत्वले असहमतिको आवाजलाई शत्रु ठान्नु जति खतरनाक हुन्छ, नागरिकले पनि आफ्नो दल वा नेता प्रतिको निष्ठालाई विवेकभन्दा माथि राख्नु त्यति नै खतरनाक हुन्छ।
नयाँ राजनीतिको दाबी र पुरानो संस्कारको चुनौती
यही पृष्ठभूमिमा नेपालमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूको उदयलाई बुझ्नुपर्छ। जनताले नयाँ राजनीतिक दलबाट केवल नयाँ अनुहार खोजेका होइनन्। उनीहरूले नयाँ राजनीतिक संस्कार, नयाँ संगठनात्मक संस्कृति, नयाँ नेतृत्व शैली र लोकतन्त्रको नयाँ अभ्यास खोजेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ भनिएका राजनीतिक शक्तिप्रति पनि नागरिकको अपेक्षा यही कारणले बनेको हो।
तर कुनै पनि नयाँ राजनीतिक दलका लागि सबैभन्दा ठूलो चुनौती विपक्षी दललाई आलोचना गर्नु होइन, आफ्नै संगठनभित्र लोकतन्त्रको अभ्यास गर्नु हो।
यदि संगठनभित्र नेतृत्वको वरिपरि समूह निर्माण हुने, असहमतिलाई असहज रूपमा लिने, प्रश्न गर्ने व्यक्तिलाई विरोधीका रूपमा हेर्ने, निर्णय प्रक्रियामा पारदर्शिताको कमी हुने, व्यक्तिगत निष्ठालाई संस्थागत प्रक्रियाभन्दा माथि राख्ने वा अवसर र जिम्मेवारी वितरणमा पहुँच निर्णायक बन्ने प्रवृत्ति विकास भयो भने समस्या केवल एउटा दलको आन्तरिक व्यवस्थापनमा सीमित रहँदैन।
त्यसले नयाँ राजनीतिको मूल दाबीमै प्रश्न उठाउँछ।
किनभने संसदमा प्रतिपक्षको सम्मान गर्ने कुरा गर्ने राजनीतिक दलले आफ्नै संगठनभित्र फरक मतको सम्मान गर्न सक्दैन भने त्यो लोकतान्त्रिक संस्कारको अधुरोपन हो। जनतालाई जवाफदेहिताको पाठ पढाउने संगठन आफैँभित्र पारदर्शिता र जवाफदेहिताबाट टाढिँदै गयो भने त्यसले आफ्नै राजनीतिक विश्वसनीयतालाई कमजोर बनाउँछ।
अवसरवाद नयाँ राजनीतिको सबैभन्दा ठूलो परीक्षा
जनताले आशा र भरोसा गरेका नयाँ राजनीतिक दलहरूमा पनि अवसरवादी प्रवृत्तिले संगठनको चरित्र निर्धारण गर्न थाल्यो भने त्यसको परिणाम दीर्घकालीन रूपमा गम्भीर हुन सक्छ।
राजनीतिमा अवसर खोज्ने मानिस आउनु अस्वाभाविक होइन। राजनीति आफैँ सार्वजनिक जिम्मेवारी र अवसरको क्षेत्र हो। समस्या त्यहाँबाट सुरु हुन्छ, जहाँ अवसरवादले विचारलाई विस्थापित गर्छ, व्यक्तिगत सम्बन्धले संस्थागत प्रक्रियालाई विस्थापित गर्छ र समूहगत स्वार्थले सार्वजनिक उद्देश्यलाई ओझेलमा पार्छ।
यदि संगठनको केन्द्र विचारभन्दा व्यक्ति, नीति भन्दा गुट, योगदान भन्दा पहुँच र सार्वजनिक उद्देश्य भन्दा व्यक्तिगत स्वार्थतर्फ झुक्न थाल्यो भने नयाँ दलले पनि त्यही बाटो समात्न सक्छ जुन बाटोमा पुराना दलहरूमाथि नागरिकले प्रश्न उठाउँदै आएका छन्।
सबैभन्दा गम्भीर कुरा के हो भने राजनीतिक दलहरू अचानक पुराना हुँदैनन्। पुरानो राजनीतिक संस्कार विस्तारै संगठन भित्र जम्मा हुँदै जान्छ। सुरुमा सानो सम्झौता हुन्छ, त्यसपछि व्यक्ति केन्द्रित निर्णय सामान्य बन्छ, त्यसपछि समूहगत स्वार्थ संस्थागत हुन्छ र अन्ततः संगठनले आफू स्थापना हुँदा गरेको मूल प्रतिबद्धता भन्दा आफ्नै शक्ति र संरचना जोगाउन बढी ध्यान दिन थाल्छ।
त्यसैले नयाँ दलको नाम नयाँ रहन सक्छ, चुनाव चिह्न नयाँ रहन सक्छ, नेतृत्वमा नयाँ अनुहार आउन सक्छ। तर यदि राजनीतिक संस्कार पुरानै रह्यो भने केही वर्षपछि नयाँ र पुरानोबीचको भिन्नता बाहिरी आवरणमा मात्र सीमित हुन सक्छ।
बिभिन्न पेसाकर्मी राजनीतिमा आउनु सुखद कुरा हो, तर पर्याप्त होइन
नेपालको राजनीतिक इतिहासले देखाएको अर्को महत्वपूर्ण पक्ष पनि यहाँ स्मरणीय छ। डा. के.आई. सिंह चिकित्सकीय पेसाबाट आएका व्यक्ति भए पनि आफ्नो समयको राजनीतिक परिवर्तन र प्रजातान्त्रिक संघर्षमा आफ्नो भूमिका आवश्यक ठानी राजनीतिमा सक्रिय हुनुभयो। यसले एउटा महत्वपूर्ण कुरा देखाउँछ—राजनीति परम्परागत राजनीतिज्ञहरूको मात्र क्षेत्र होइन। समाजका विभिन्न पेसा, क्षेत्र र समुदायबाट आएका सचेत नागरिकले पनि राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
आज नयाँ भनिएका राजनीतिक दलहरूमा चिकित्सक, इन्जिनियर, शिक्षक, कानुन व्यवसायी, व्यवसायी, उद्यमी, प्राविधिक, सञ्चारकर्मी तथा विभिन्न पेसामा स्थापित व्यक्तिहरू नेतृत्व तहमा आउनु निश्चय नै सकारात्मक कुरा हो। यसले राजनीतिलाई सीमित राजनीतिक परिवार वा परम्परागत राजनीतिक समूहको घेराबाट बाहिर ल्याउने सम्भावना पैदा गर्छ।
तर यहाँ एउटा गम्भीर प्रश्न पनि छ।
कुनै व्यक्ति आफ्नो पेसामा सफल हुनु र राजनीतिक रूपमा वैचारिक रूपमा परिपक्व हुनु एउटै कुरा होइन।
एक जना उत्कृष्ट चिकित्सक हुनुहुन्छ भने उहाँको चिकित्सा ज्ञान महत्वपूर्ण हुन्छ। एक जना सफल व्यवसायी हुनुहुन्छ भने उहाँको व्यवसायिक क्षमता महत्वपूर्ण हुन्छ। तर राज्य सञ्चालन, संविधान, लोकतन्त्र, सामाजिक न्याय, अर्थनीति, सार्वजनिक नीति, संघीयता, समावेशिता र नागरिक अधिकारजस्ता विषयमा निर्णय गर्न पेसागत दक्षतासँगै राजनीतिक चेतना र वैचारिक स्पष्टता पनि आवश्यक हुन्छ।
त्यसैले नयाँ राजनीतिक दलमा पेसाकर्मी र व्यवसायी आउनु मात्र पर्याप्त हुँदैन। मूल प्रश्न यो हुनुपर्छ—उहाँको राजनीतिक दृष्टिकोण के हो?
लोकतन्त्रप्रतिको उहाँको बुझाइ कस्तो छ?
राज्य र समाजलाई उहाँ कसरी हेर्नुहुन्छ?
आर्थिक तथा सामाजिक न्यायबारे उहाँको धारणा के हो?
असहमति र बहुलवादलाई उहाँ कति स्वीकार गर्नुहुन्छ?
र सबैभन्दा महत्वपूर्ण, व्यक्तिगत स्वार्थभन्दा माथि सार्वजनिक हितलाई राख्ने राजनीतिक संस्कार उहाँमा कति विकसित छ? पेसागत प्रतिष्ठा राजनीतिमा प्रवेशको आधार हुन सक्छ, तर राजनीतिक वैचारिकता नेतृत्वको मापदण्ड बन्नुपर्छ।
नयाँ राजनीतिको दाबी गर्ने दलहरूले पेसाकर्मीलाई राजनीतिमा ल्याउँदा केवल अनुहार परिवर्तन होइन, राजनीतिक चेतना र संस्कार परिवर्तनको अवसर सिर्जना गर्नुपर्छ।
वास्तविक वैकल्पिक राजनीति कहाँबाट सुरु हुन्छ?
नयाँ राजनीति भनेको पुराना दलहरूको आलोचना गरेर मात्र स्थापित हुँदैन। नयाँ राजनीति तब स्थापित हुन्छ, जब उसले आफूभित्र पनि त्यही मूल्य र संस्कार लागू गर्छ जुन उसले राज्य र समाजमा स्थापित गर्ने दाबी गरेको हुन्छ।
यदि राज्यमा पारदर्शिता चाहिन्छ भने संगठनमा पनि पारदर्शिता चाहिन्छ।
यदि राज्यमा जवाफदेहिता चाहिन्छ भने नेतृत्व पनि जवाफदेही हुनुपर्छ।
यदि नागरिकको असहमतिको सम्मान चाहिन्छ भने कार्यकर्ताको असहमतिको पनि सम्मान हुनुपर्छ।
यदि संस्थागत शासन चाहिन्छ भने दलभित्र पनि संस्था व्यक्तिभन्दा माथि हुनुपर्छ।
यदि अवसरवाद र भ्रष्ट राजनीतिक संस्कारको विरोध गर्ने हो भने संगठनभित्र पनि पहुँच, निकटता र व्यक्तिगत स्वार्थलाई राजनीतिक योग्यता बन्न दिनु हुँदैन।
यही नै नयाँ राजनीतिको वास्तविक परीक्षा हो।
नयाँ दलले पुराना दललाई विस्थापित गर्नु मात्र पर्याप्त छैन। पुरानो राजनीतिक संस्कारलाई विस्थापित गर्न सक्नुपर्छ। नयाँ नाम, नयाँ प्रतीक, नयाँ पुस्ता र नयाँ अनुहारले मात्र राजनीति नयाँ हुँदैन। निर्णय गर्ने तरिका नयाँ हुनुपर्छ। असहमति सुन्ने संस्कार नयाँ हुनुपर्छ। नेतृत्वलाई प्रश्न गर्न सकिने वातावरण नयाँ हुनुपर्छ। जिम्मेवारी र अवसर वितरणको आधार नयाँ हुनुपर्छ। र सबैभन्दा महत्वपूर्ण, आफू सही हुन सक्छु भन्ने विश्वाससँगै आफू गलत हुन पनि सक्छु भन्ने लोकतान्त्रिक विनम्रता हुनुपर्छ।
अन्ततः लोकतन्त्रको वास्तविक परीक्षा चुनाव जित्नु होइन। आफूले जितेको शक्ति कसरी प्रयोग गरिन्छ भन्ने हो। र नयाँ राजनीतिको वास्तविक परीक्षा पुराना दललाई हराउनु होइन। पुराना राजनीतिक विकृतिहरूलाई आफू भित्र प्रवेश गर्न नदिनु हो।
किनकि इतिहासको कठोर पाठ यही हो—
पुरानो राजनीति केवल पुराना अनुहारले निर्माण गरेको हुँदैन। पुरानो राजनीति एउटा संस्कार हो। त्यो संस्कार नयाँ अनुहारमा पनि सर्न सक्छ।
त्यसैले आजको प्रश्न केवल “नयाँ पार्टी आयो कि आएन?” भन्ने होइन। आजको गम्भीर प्रश्न हो—
“नयाँ पार्टीसँग नयाँ राजनीतिक संस्कार पनि आयो कि आएन?”
यदि यसको उत्तर व्यवहारबाट दिन सकिएन भने नयाँ राजनीति पनि विस्तारै त्यही पुरानो राजनीतिको अर्को अध्याय बन्न सक्छ।
तर यदि नयाँ राजनीतिक शक्तिहरूले आफ्नै संगठनभित्र लोकतन्त्र, वैचारिकता, पारदर्शिता, असहमतिको सम्मान, संस्थागत निर्णय र सार्वजनिक उत्तरदायित्वलाई स्थापित गर्न सके भने त्यसले नेपालको लोकतान्त्रिक संस्कारलाई नै नयाँ दिशातर्फ लैजान सक्छ।
राजनीतिक परिवर्तनको अन्तिम अर्थ सत्ता परिवर्तन होइन, राजनीतिक संस्कारको परिवर्तन हो। र यहीँबाट वास्तविक वैकल्पिक राजनीति सुरु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *