आजबाट मुपात्र जात्रा, को हो मुपात्र ?

जिआर रञ्जित
भक्तपुरको इन्द्रजात्रा अर्थात येंला पुन्हीमा हुने विभिन्न जात्राहरुमध्ये मुपात्र जात्रा पनि प्रमुख जात्रा हो । भक्तपुरको इन्द्रजात्राको छैठौं, सातौं र आठौं दिन मुपात्रको जात्रा हुने गर्दछ ।
मुपात्र भन्नाले मत्र्यमण्डलका एक क्रूर शासक हो जो हरेक अपराधीलाई क्रूरतापुर्वक सजाय दिन्छ । मुपात्रलाई मुख्य पात्र भनिनेहरु पनि धेरै छन । सम्भवत मुपात्र एक शासक भई बीचमा बस्ने र दुई तिर धिचा नामक आफ्नो सहायक अर्थात् मन्त्रीहरु राखेर आउने गरेका कारण मुख्य पात्र भनिएको हो ।
मुपात्रलाई कतैकतै दैत्यराज पनि भनिने गर्दछ । सम्भवत मुपात्र एक दैत्य स्वभावको भएकै कारण मुपात्रलाई दैत्यराजको संज्ञा दिइएको हो । मुपात्र ल्याउने बेला जात्रालुहरुले ठूल्ठूलो स्वरमा ’ह्याचायगू कप मुपात्र, गेरा म्येसा ला’ अर्थात् हाँसको टाउको र गैँडाको मासु खाने मुपात्र भन्दै जिस्क्याउँछन् । यसरी हाँसको टाउको भनेको जो कोहिले खान पाउदैन । यो भनेको परिवारको सबैभन्दा ठूलो सदस्यले मात्र खान पाउँछ । यस अर्थले मुपात्र पनि राज्यको जेष्ठ ब्यक्ती भएरै यसो भनिएको होला भने गैंडाको मासु जो कोहिले खान सक्दैन । त्यस्तो हिंसकको संज्ञा दिन यस्तो भनिएको हुनसक्छ ।
च्वथा गणेशलाई पूजा गर्न नभई नहुने एक विशेष फल (किप) स्वर्गमा पनि हुन लागेको च्वथा पूजा गर्न लिन मत्र्यमण्डल आएका इन्द्रका छोरा जयन्तले कसैलाई नसोधी टिप्न खोज्दा जनताहरुले चोर भनि समातेर टोलको मुख्य चोकमा बाँधेर राखेपछि ती चोरको हात काट्न मुपात्र स्वयम् धिचाहरुसंग आई यमद्यःको हात काट्न आउने गर्छ । जसको प्रतिक यमद्यःलाई तीन पटक घुमेर आफुले बोकेको खड्गले छुने गर्दछ । यसरी जयन्तको हात काटेकै कारण मुपात्रलाई एक जलादको रुपमा पनि प्रस्तुत गर्न सकिन्छ ।
मुपात्र जात्रा भक्तपुरको इन्द्रजात्राको प्रमुख आकर्षणको रुपमा लिइन्छ । द्वितीयाको दिन माथिल्लो क्षेत्र सकोलानबाट यामता (त्रिशुल आकारको बति) र वाकुपती नारायणबाट मुपात्र ल्याउने गर्दछ । यसै दिन जयन्तलाई छुटाउन सलां गणेशको जात्रा पनि गरिन्छ । दोस्रो दिनको जात्रा भक्तपुर दरबार स्क्वायरका चार धाम मन्दिरबाट नगर परिक्रमा गरी दरबार स्क्वायरमै पुगेर समापन हुन्छ । यसदिन भक्तपुरको मध्य क्षेत्र गोल्मढीबाट यामता ल्याउने गर्दछ भने यसै दिन जयन्तलाई छुटाउन छुमा गणेशको जात्रा पनि गरिन्छ । यी दुई गणेशहरुसंग कुरा नमिलेपछि अन्तिम तेस्रो दिन इन्द्रले मसान भैरवको स्तुति गरि मुपात्रसंग युद्ध गर्न आफ्नो बहान ऐरावत हात्ती दिई मसान भैरवको जात्रा गरिन्छ । तसर्थ यसदिन टौमढीस्थित भैरव मन्दिरबाट जात्रा सुरु भई त्यहीं पुगेर जात्रा सम्पन्न हुन्छ । यसदिन भक्तपुरको तल्लो क्षेत्र बुल्चाबाट यामता ल्याउने गर्दछ । यहाँ यामता भन्नाले आकाश दीप हो जुन अत्याचारी मुपात्रलाई खोज्न आकाशबाट पठाएको दीप हो । यो दीप टाढाबाटै देख्ने भएकोले यसलाई नेपाल भाषामा “यातालु मता“ भनिन्छ । यहि यातालु मता शब्द पछि गएर यामता हुन गए । इन्द्रको यस कार्यमा सहयोग पुर्याउन यसैदिन इन्द्रायणी माताले आफ्नो पथ प्रदर्शक ख्वप लाखेलाई मुपात्र खोज्न ऐरावत हात्तीलाई सहयोग पुर्याउन पठाउने गर्दछ । यसरी एक क्रूर शासकलाई युद्धमा हराउन विभिन्न दैविक शक्तिहरु मिलेर आउनाले यी मुपात्र सामान्य शासक मात्र होइन भनेर बुझ्न सकिन्छ ।
यस जात्रामा जयन्तलाई बाँधेर राख्नाले इन्द्रले आफ्नो छोरालाई उम्काउन गरेको प्रयास देखियो भने अर्को तिर अब वर्षा पुग्यो, पानी रोक्न दिएको संदेशको रुपमा पनि लिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *