सोसाइज (SOCISE) को वार्षिक साधारण सभा सम्पन्न

एभरेष्ट इन्जिनियरिङ कलेजमा 

मंसिर ६, ललितपुर। एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपा, ललितपुरमा कम्प्युटर, सूचना प्रविधि (आईटी) तथा सफ्टवेयर इन्जिनियरिङ सम्बन्धी विषय अध्ययनरत विद्यार्थीहरूको साझा संस्था सोसाइज (SOCISE) को वार्षिक साधारण सभा सम्पन्न भएको छ।

सभामा सन् २०२५–२६ का लागि निर्वाचित कार्यकारी समितिका सचिवले संस्थाको वार्षिक कार्यक्रम, प्रगति विवरण तथा आय–व्यय विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत विवरणमाथि छलफल गर्दै सहभागीहरूले आगामी वर्षका कार्यक्रम, संस्थाको भावी कार्यदिशा तथा संस्थागत विकासका प्राथमिकताबारे विस्तृत विचारविमर्श गरेका थिए।

सभाले सोसाइजको संस्थागत विकास, पारदर्शिता र प्रभावकारिता अभिवृद्धिका लागि आठवटा महत्वपूर्ण निर्णय सर्वसम्मतिले पारित गरेको छ। पारित निर्णयहरूमा वर्षभरि सञ्चालन गरिने कार्यक्रमहरूको पूर्वयोजना तयार गरी समयमै स्वीकृत गराउने, कार्यक्रम सञ्चालनसम्बन्धी आय–व्यय विवरणलाई थप पारदर्शी बनाउने, संस्थाका गतिविधि तथा निर्णयसम्बन्धी जानकारी समयमै सबै सदस्यसमक्ष साझा गर्ने र उद्योग तथा बजारसँग सहकार्य गरी कम्प्युटर, सूचना प्रविधि तथा सफ्टवेयर क्षेत्रमा आवश्यक पर्ने व्यावहारिक एवं व्यावसायिक सीपबारे जानकारी संकलन गरी विद्यार्थीहरूमाझ पुर्‍याउने विषय समेटिएका छन्। साथै, सोसाइजअन्तर्गतका पाँचवटै समूहलाई समान अवसर र सहभागिताको सुनिश्चितता प्रदान गर्ने निर्णयसमेत गरिएको छ। यी निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत संस्थालाई थप व्यवस्थित, उत्तरदायी र उपलब्धिमूलक बनाउने प्रतिबद्धता सदस्यहरूले व्यक्त गरेका छन्।

सभाले सन् २०२६–२७ का लागि नयाँ कार्यकारी समितिसमेत निर्वाचित गरेको छ। सो अवसरमा निवर्तमान अध्यक्ष अनिस भट्टराई नेतृत्वको कार्यकारी समितिले नवनिर्वाचित अध्यक्ष शिवराज पौडेल नेतृत्वको समितिलाई संस्थाका सम्पूर्ण अभिलेख, कागजात तथा आवश्यक सामग्रीसहित औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरेको थियो।

कार्यक्रममा कम्प्युटर इन्जिनियरिङ विभागका प्रमुख इन्जिनियर मुकुन्द पौडेलले सोसाइजले विगत एक वर्षमा सफलतापूर्वक सम्पन्न गरेका ११ वटा कार्यक्रमको प्रशंसा गरे। उनले प्राविधिक कार्यशाला, प्रतियोगिता, उद्योगसँगको सहकार्य तथा समुदायसँगको साझेदारीमार्फत विद्यार्थीहरूलाई समाजका वास्तविक आवश्यकता बुझ्न, व्यावहारिक ज्ञान हासिल गर्न र पेशागत सञ्जाल विस्तार गर्न सोसाइजले महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै सम्पूर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे।

कार्यक्रमको समापन गर्दै एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठले निवर्तमान कार्यकारी समितिका सदस्यहरूलाई सफल कार्यकालका लागि धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरे। साथै, उनले नवनिर्वाचित कार्यकारी समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै आगामी कार्यकाल सफल, उपलब्धिमूलक र सिर्जनात्मक बनाउन शुभकामना व्यक्त गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *