तीनै तहका सरकारको साझेदारीमा स्वस्थ नागरिक, सबल समाज
नबराज काफ्ले
भक्तपुर। कार्तिक २०
भक्तपुर जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले भक्तपुर जिल्लालाई योगको नमुना जिल्ला बनाइने उद्घोष गरेका छन्। योगलाई संस्थागत गरी सबै नागरिकसम्म यसको पहुँच पुर्याउने लक्ष्यसहित जिल्लामा विभिन्न संघसंस्था अहोरात्र क्रियाशील रहेको सन्दर्भमा उनको यो घोषणा आएको हो।
कार्यक्रममा मुख्यमन्त्रीले जिल्लाको वर्तमान वस्तुस्थिति हेर्दा यो सम्भावना नजिक देखिएको बताए। त्यसैले योगको नमुना मोडेलका रूपमा भक्तपुरलाई अगाडि सार्न सकिने उनको भनाइ थियो।
यस अभियानमा स्थानीय, प्रदेश र संघीय गरी तीनै तहका सरकार मिलेर लागेमा कार्यान्वयन थप प्रभावकारी हुने धारणा पनि मुख्यमन्त्रीले व्यक्त गरे।
योग अब केवल व्यक्तिगत अभ्यास मात्र होइन, सार्वजनिक स्वास्थ्यको सशक्त माध्यम पनि बनेको छ। नियमित योगाभ्यासले शारीरिक सक्रियता बढाउने, मानसिक तनाव घटाउने र जीवनशैलीजन्य रोगको जोखिम कम गर्न मद्दत गर्ने विश्वास गरिन्छ। भक्तपुरवासीको स्वास्थ्यका दृष्टिले यो पहल दीर्घकालीन लाभ दिने खालको मानिएको छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिने (रोकथाममुखी) स्वास्थ्य संस्कृतिमा यसले जोड दिन्छ।
वाग्मती प्रदेश,स्वास्थ्य मन्त्रालय,प्रादेशिक योग समितिका सदस्य डाक्टर नबराज काफ्लेले घोषणा मात्र पर्याप्त हुँदैन, तीनै तहका सरकारबीच समन्वय गर्दै स्वास्थ्य निकाय, विद्यालय, योग संस्था र नागरिक समाजको सहकार्यमा स्पष्ट कार्ययोजना, तालिम प्राप्त प्रशिक्षक र नियमित अनुगमन आवश्यक पर्ने धारणा व्यक्त गर्दछ्न । नमुना जिल्लाको अवधारणा कार्यान्वयनमा रूपान्तरण भए मात्र जनताले यसको प्रत्यक्ष अनुभूति गर्न पाउने सदस्य काफ्लेको विस्वास रहेको छ ।
भक्तपुरले योगमार्फत स्वस्थ समाजको उदाहरण प्रस्तुत गर्न सक्यो भने यो मोडेल अन्य जिल्लाका लागि पनि प्रेरणा बन्न सक्ने देखिन्छ।











Leave a Reply