भक्तपुर । हिजोआज तपाईहरु भक्तपुर घुम्न आउनुभयो भने एउटा फरक दृश्य देख्न सक्नुहुन्छ, त्यो हो जताततै गमला र बोटविरुवा । भक्तपुर नगरका मुख्यमुख्य सडकदेखि गल्लीगल्लीका सडकहरुमा पनि छेउछाउमा गमलामा फुलका बोट रोपेर राखेको जताजतै सजिले देख्न सक्नुहुन्छ ।
हिजोसम्म कला र संस्कृतिको सहरका रूपमा चिनिएको भक्तपुरमा आजभोलि एउटा नयाँ र पर्यावरणमैत्री पहिचान थपिँदै गएको छ यसले । भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका एकजना स्थानीय नगरबासी प्रकाश मल्ल भन्नुहुन्छ, “पाइलेपिच्छे सार्वजनिक स्थलमा गमलाहरू लाइनै राखिएका छन् । सायद, एक दिन मानिसहरूले भक्तपुरलाई ’गमलै गमलाको सहर’ भनेर चिन्नेछन् ।“
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति आफूहरुले गर्न नसकिने ठुलाठुला आश्वासन दिएर जनता नझुकाउने बताउनुहुन्छ । हामी जे सकिन्छ, त्यही मात्रै बोल्छौं, उहाँंले भन्नुभयो, यो हाम्रो काम सानो हो तर हामीलाई विश्वास छ यो ठुलो महत्वको छ । यसले भविष्यमा भक्तपुर हरियो नगर बन्ने बताउनुहुन्छ । यसले सवैतिर सुन्दर देखिने उहाँंको विश्वास छ । कंक्रिटको जंगलको रुपमा रहेको सहरलाई सुन्दर बनाउन यो सानो कामले ठुलो टेवा पुग्ने विश्वास उहाँंको छ । यसले एकातिर सहरमै हिरियो देखिन्छ भन्ने अर्काेतिर स्वच्छ हावा पाउने उहाँंको भनाई छ ।
अमेरिकी नागरिक ई. ए. पावेलले सन् १९२० तिर नेपाल भ्रमणको क्रममा भनेका थिए, “नेपालमा भक्तपुर दरबार क्षेत्रबाहेक अरू केही बाँकी रहेन भने पनि त्यसलाई हेर्नका लागि मात्रै पनि पृथ्वीको आधा चक्कर कट्नुसरह हुन्छ ।” यस नगरलाई जर्मन वास्तुकलाविद् नील गोत्सोले संसारकै ठुलो जीवित सङ्ग्रहालय भनेका छन् । त्यस्तै संस्कृतिविद् जगदीशशमशेर राणाले भक्तपुरलाई नाचगानको राजधानीको संज्ञा दिएका छन् । यो संज्ञामा अव हरियो भक्तपुर थप्ने आकांक्षाले यो सानो काम गरेको बताउनुहुन्छ नगर प्रमुख प्रजापति ।
भक्तपुर नगरपालिका वातावरण समितिका संयोजक एवं वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्व नगरलाई हरियाली कायम गर्ने उद्देश्यका सवैतिर गमला राखेर फूलका बोटहरु रोप्ने गरेको बताउनुहुन्छ । भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै सम्पूर्ण वडामा यो काम भएको उहाँ बताउनुहुन्छ ।
कुन वडामा कति ?
ज्याख्वका अनुसार हालसम्म नगरभरि २ हजार ६२० वटा गमला राखेर फूलका बोटहरु रोप्ने काम भइसकेका छन् । भक्तपुर नगरपालिका वडा नं १ मा ४६५ वटा, वडा नं. २ मा ४५०, वडा नं ३ मा ४६५, वडा नं ४ मा ८ वटा, वडा नं ५ मा २६५ वटा, वडा नं ६ मा १६० वटा, वडा नं ७ मा २५० वटा, वडा नं ८ मा १२ वटा, वडा नं ९ मा ३०० वटा र वडा नं १० मा २२५ वटा गमलाहरु राखेर फुलका बोटहरु रोपिसकिएको जानकारी उहाँंले गराउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालले आफनो वडामा मात्रै पाँंच ६ सय गमला राख्ने योजना रहेको र यसका लागि गमला बनाउन दिइरहेको जानकारी गराउनुभयो । भक्तपुरमा ठाउँ ठाउँमा राखेका गमलाहरु ९० वर्षीय दुई जोडी हजुरआमा हजुरबुवाले बनाउने गरेको उहाले जानकारी दिनुभयो ।
कहाँ कहाँ राखेको छ ?
विशेष गरेर सम्पदा तथा पर्यटकीय क्षेत्रहरू, सडक किनार तथा डिभाइडरहरू, सार्वजनिक भवन तथा कार्यालय परिसर, सांस्कृतिक प्रदक्षिणा मार्गहरूलगायतका क्षेत्रहरुमा गमला राखेर हरियाली बनाएको छ । सम्पदा तथा पर्यटकीय क्षेत्रहरू अन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर आसपासका क्षेत्रहरू, दत्तात्रय क्षेत्र र टौमढी जाने प्रमुख पर्यटकीय मार्गहरू गमलाहरु राखेका छन् ।
भक्तपुर नगरपालिका ७ का वडा अध्यक्ष उकेश कवांले सडक किनारमा नगरपालिकाभित्र पर्ने मुख्य सडकका किनारहरू, चोकहरू र पैदलयात्री हिँड्ने फुटपाथका छेउहरूमा गमला राखेर हरियाली गर्ने योजना सुरु गरिएको बताउनुुभयो । त्यस्तै सार्वजनिक भवन तथा कार्यालय परिसर अन्तर्गत भक्तपुर नगरपालिका कार्यालय परिसर, वडा कार्यालयहरू र नगरपालिकाद्वारा सञ्चालित विद्यालय तथा ख्वप अस्पताल वरपर गमला राख्ने गरेको उहाँले बताउनुुभयो । त्यस्तै सांस्कृतिक प्रदक्षिणा मार्गहरू अन्तर्गत विशेष चाडपर्व (जस्तै गुन्हीपुन्ही÷सापारु) मनाइने परम्परागत सांस्कृतिक सडक मार्गहरूलाई सजाउन अस्थायी वा स्थायी रूपमा गमलाहरू राख्दै आएको वडाअध्यक्ष कवांले बताउनुुभयो ।
स्याहर चाहिंँ कसले गर्छ ?
नगरपालिका र वडा कार्यालयको सक्रियतामा राखिएका गमला र फूलको स्याहार संरक्षण हेरचाह भने स्थानीयले गर्ने उहाँले बताउनुुभयो । विरुवा रोप्ने काम नगरपालिका वा वडाको तर त्यसलाई स्याहार्ने काम बडाबासीहरु आफैले गर्ने उहाँले सुनाउनुुभयो । नगरबासी आफैंले आफनो घर अगाडिको रुख विरुवा हुर्काेउने, विरुवाको हेरविचार गर्ने, पानी दिनेलगायतका स्थानीयस्तरमा घर नजिक भएका स्थानीयबाट नै हुँदै आएको छ, अध्यक्ष उकेश कवां भन्नुहुन्छ, यसले अपनत्व पनि वढ्छ र वोटविरुवा पनि बाँंच्छ ।
नगरपालिकाले नगरलाई हरित, स्वच्छ र सुन्दर बनाउने अभियान अन्तर्गत यो कार्य भइरहेको उहाँले बताउनुुभयो । नगरपालिकाले वडा नं १ देखि १० सम्ममै यो अभियान सुरु गरेको भन्दै यही काम आफनो वडामा पनि सम्पन्न भइसकेको गरेको जानकारी उहाँंले गराउनुभयो ।
हामी स्याहार्छाै हाम्रो बोटविरुवा
भक्तपर नगरपालिका वडा नं ७ का स्थानीय सुलोचना किसीले भक्तपुरलाई हरियाली तथा बातावरण संरक्षण प्रवद्र्धनका लागि भक्तपुरको यो कदम उदाहरणीय रहेको बताउनुहुन्छ । यही कारण आफनो वडामा भएको यो कार्यक्रममा आफूले पनि भाग लिएको उहाँंले सम्झनुभयो । वडामा याता टोलदेखि गोल्मढीको गणेश मन्दिरसम्म गमलामा विरुवा रोप्ने कार्य भएको उहाँंले बताउनुुभयो । अर्की नगरबासी मोहनकेशरी ग्वाछा आफ्नो घरको पेटीमा आफैले फुल रोप्नुपर्ने ठाउँमा वडा वडा नगरपालिकाले राखिदिनुुभएकोमा खुसी व्यक्त गर्नुभयो । जसरी घरको कौसीमा रोपिराखेको फुल छ, त्यसरी नै आज रोपेको गमलाको फुललाई आफूहरुले नै स्याहार्ने उहाँले बताउनुुभयो । हरेक घरको पेटीमा फुल रोपेको देख्दा एकदम खुसी भएको उहाँंले बताउनुभयो । अब यी फुलहरु फुल्ने बेलामा टोल बगैचा जस्तै हुने भयो, उहाँले भन्नुुभयो । त्यस्तै नगरबासी एक युवा प्रकाश मल्लले एक दिन भक्तपुरलाई गमलै गमलाको शहर भनेर चिन्ने भन्दै खुशी व्यक्त गर्नुभयो । किनभने पाइलैपिच्छे सार्वजनिक स्थलमा गमलाहरु लाइनै रहेको देखिएको उहाँंले बताउनुुभयो ।
के गमला माटोको हो ?
गमला माटोको होइन । गमला सिमेन्टको तयार पारिएको छ । केही समय पहिला सुरुमा माटोको गमला राख्दा केही उच्छृखल व्यक्तिहरुले गमला फुटाइदिने घटना भएको हुनाले चाहेर पनि माटोको गमला राख्न नसकेको वातावरण समितिका प्रमुख एवं वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले बताउनुुभयो । गमला चारपाटे आकारको बनाइएको छ ।
फेरिएला भक्तपुरको परिचय ?
भक्तपुरको हरेक चोक र गल्ली कलाका उत्कृष्ट नमुना हुन् । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा रहेका प्रसिद्ध ५५ झ्याले दरबार, कलात्मक सुनौलो ढोका (लुँधोखा) र नेपालकै सबैभन्दा अग्लो न्यातपोल (ङातापोलो) देवल यहाँको इन्जिनियरिङ र काष्ठकलाका जिउँदा इतिहास हुन् । ढुङ्गा र काठका प्रत्येक टुक्रामा कुँदिएका देवीदेवताका मूर्तिहरूले मल्लकालीन भव्यताको कथा भनिरहेका लाग्छन् ।
भक्तपुर केवल पुराना भवनहरूको सहर होइन, यो एउटा ’लिभिङ हेरिटेज’ अर्थात् जीवन्त सम्पदा हो । यहाँ वर्षैभरि विभिन्न जात्रा र चाडपर्वहरू मनाइन्छन् । नयाँ वर्षको आगमनसँगै सुरु हुने भव्य बिस्का जात्रा, सापारु (गाईजात्रा), र गल्ली–गल्लीमा गुञ्जने परम्परागत दाफा भजन तथा नवदुर्गा नाचले यो सहरलाई सधैँ उत्सवमय बनाइराख्छन् ।
२०७४–०७९ सालसम्मको पहिलो कार्यकालमा पाँचतले मन्दिर, भैरवनाथ मन्दिरजस्ता महत्वपूर्ण सम्पदाको जीर्णोद्धारका साथै पाटी, ढुङ्गेधारा, सत्तल, इनार, पोखरी गरी १२४ वटाभन्दा बढी सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न भए । २०७९ सालमा दोस्रो पटकको निर्वाचनपछि पनि जनप्रतिनिधिहरूले उक्त कार्यलाई निरन्तरता दिइरहे । भाज्या पोखरी, रानी पोखरी, लक्ष्मीनरसिंह मन्दिरजस्ता महत्वपूर्ण सम्पदाको काम पछिल्लो कार्यकालमा सम्पन्न भएका हुन् । दुई कार्यकालमा गरी अहिलेसम्म मूर्त सम्पदाअन्तर्गत मठ, मन्दिर, ढुङ्गेधारा, पोखरी, सत्तल, पाटीलगायत १८५ वटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार सम्पन्न भइसकेका छन् भने डेढ दर्जनजति सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार भइरहेको छ । छिट्टै नै ती पनि सम्पन्न हुने क्रममा छन् ।
भक्तपुरको परिचय अहिलेसम्म कला र संस्कृतिको जीवन्त नगर हो । जुजु धौ (दही), भादगाउँंले टोपी यहांँको चिनारी हो । यी र यस्तै चिनारीमा अर्काे थप चिनारी थप्ने पछिल्लो प्रयास हो ‘हरियो नगर’ । के पूरा होला ?
गमलै गमलाको शहर भक्तपुर









Leave a Reply