च्याउ खेती तालिम सम्पन्न

भक्तपुर । मशरुम सिड नेपाल एण्ड रिसर्च सेन्टर प्रा. लि.को आयोजनामा असोज १८ गतेदेखि सुरु भएको तीनदिने व्यावसायिक सिताके तथा कन्ये च्याउ खेती तालिम मंगलबार सम्पन्न भएको छ।

तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि च्याउ विज्ञ बुद्धि कुमार दुवालले सिताके च्याउको महत्वबारे चर्चा गर्दै यसको उत्पादनलाई घर–घरमा विस्तार गर्नुपर्ने बताउनुभयो। उहाँले थोरै लगानीबाट च्याउ खेती सुरु गरी दुई–चार वर्षमै राम्रो उत्पादन लिन सकिने उल्लेख गर्दै साथीभाइ मिलेर प्रत्येक घरमा सिताके च्याउ उत्पादन गर्ने अभियान सञ्चालन गर्ने योजना भए पनि २०७६ सालमा आएको कोरोना महामारीका कारण अभियान अघि बढाउन नसकिएको बताउनुभयो।

तालिमका प्रशिक्षक निशा कार्कीले तालिममा सिकेका ज्ञान र सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो। व्यावसायिक रूपमा अघि बढ्न नसके पनि परिवारका सदस्यलाई सिकाएर च्याउ खेती गर्न प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले च्याउ खेती सुरु गर्नु नै थप ज्ञान र सीप हासिल गर्ने सुरुवात भएको बताउनुभयो।

कार्यक्रमका सभापति मशरुम सिड नेपाल एण्ड रिसर्च सेन्टर प्रा. लि.का निर्देशक आकाश वाडेले तालिमलाई थप उपयोगी बनाउन सैद्धान्तिकभन्दा प्रयोगात्मक प्रशिक्षणलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले “जब खेती सुरु हुन्छ, तब तालिम सुरु हुन्छ” भन्ने धारणा राख्दै सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरू ज्योति जोशी र चन्द्रबहादुर सुनारले तालिमका क्रममा प्राप्त अनुभव तथा सिकाइबारे मन्तव्य राख्नुभएको थियो। तालिममा विभिन्न जिल्लाबाट आएका ९ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो।

तालिमको उद्घाटन असोज १८ गते च्याउ खेती वैज्ञानिक बुढी रत्न खड्गेले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *