काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले Diaspora संयोजकका रूपमा झापा मेचीनगर नगरपालिका स्थायी घर भई हाल हङकङस्थित हिमालयन ग्लोरियस चर्चका पास्टर बिमल कुमार थापालाई नियुक्त गरेको छ। महासंघले विश्वका विभिन्न देशमा रहेका नेपाली ख्रीष्टियन समुदायसँग समन्वय, सहकार्य र संस्थागत सम्बन्ध विस्तार गर्ने जिम्मेवारीसहित थापालाई Diaspora संयोजकको जिम्मेवारी दिएको हो।
महासंघको केन्द्रीय सचिवालयले अघिल्लो साता निर्णय गर्दै यसअघि गठन भएको Diaspora सम्बन्धी सम्पूर्ण टिमलाई खारेज गरेको थियो। त्यसपछि नयाँ संरचनाअनुसार डायस्फोराको नेतृत्वका लागि थापालाई नियुक्त गरिएको महासंघका प्रवक्ता चेतकुमार श्रेष्ठले जनकारि दिएको छ। महासंघले विश्वभर रहेका नेपाली ख्रीष्टियन समुदायलाई संस्थागत रूपमा जोड्ने तथा महासंघसँग सहकार्य गर्न चाहने प्रतिनिधिहरूसँग समन्वय गर्ने उद्देश्यले नयाँ जिम्मेवारी तोकेको हो।
काठमाडौंको कोटेश्वरस्थित एक होटलमा हिजाे आयोजित कार्यक्रममा हङकङ काउन्सिलका महासचिव देवराज गुरुङमार्फत थापालाई नियुक्तिपत्र प्रदान गरिएको थियो। कार्यक्रममा महासंघसँग सम्बन्धित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नियुक्तिपत्र मार्फत थापालाई महासंघको उद्देश्य, नीति तथा कार्यक्रमअनुसार Diaspora क्षेत्रमा समन्वय र सहकार्य अघि बढाउने जिम्मेवारी दिइएको छ।
नवनियुक्त Diaspora संयोजक थापाको कार्यकाल दुई वर्षको रहनेछ। महासंघका अनुसार विश्वका विभिन्न देशमा रहेका नेपाली ख्रीष्टियन समुदायबाट महासंघमा आबद्ध भई सम्बन्धित देशको प्रतिनिधित्व गर्न चाहने व्यक्तिहरूलाई आवश्यक प्रक्रिया पूरा गरी सिफारिस गर्ने जिम्मेवारीसमेत थापालाई दिइएको छ। यससँगै विभिन्न देशमा महासंघको संस्थागत उपस्थिति र समन्वय विस्तार गर्ने अपेक्षा गरिएको छ।
थापा हाल हङकङ ख्रीष्टियन काउन्सिलका प्रमुखसमेत हुन्। महासंघले उनको अनुभव र अन्तर्राष्ट्रिय ख्रीष्टियन समुदायसँगको सम्बन्धलाई उपयोग गर्दै विश्वभर रहेका नेपाली ख्रीष्टियन समुदायबीच एकता, सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास लिएको जनाएको छ। नयाँ जिम्मेवारीसँगै थापाले विभिन्न देशमा रहेका नेपाली ख्रीष्टियन समुदायलाई महासंघको संस्थागत संरचनासँग जोड्ने कार्यलाई प्राथमिकतामा राख्ने बताइएको छ
राष्ट्रिय ख्रीष्टियन महासंघको Diaspora संयोजकमा पास्टर बिमल कुमार थापा नियुक्त







Leave a Reply