भक्तपुर, २१ असोज — नेपाल स्काउट, बागमती प्रदेश स्काउट अन्तर्गत मध्यपुर थिमीस्थित आदर्श स्काउट इकाई, सानोठिमीको आयोजनामा ‘दीक्षान्त समारोह २०८३’ भव्य रूपमा सम्पन्न भएको छ। आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा इकाई अध्यक्ष श्री रामबाबु रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। समारोहमा मध्यपुर थिमी नगरपालिका वडा नं. २ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री श्रीकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका सामाजिक महाशाखा प्रमुख श्री ज्ञानेन्द्र प्रसाद भट्ट विशेष अतिथिका रूपमा रहनुभएको थियो। यसैगरी, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्री सुनेश अधिकारी, स्थानीय प्रमुख आयुक्त श्री तुल्सीहरि प्रजापति र सदस्यता वृद्धि आयुक्त तथा राष्ट्रिय प्रशिक्षक श्री भुवनचरण श्रेष्ठ लगायतका अतिथिहरूको सहभागिता रहेको थियो। सहायक प्रधानाध्यापक श्री टंकनाथ आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा झण्डात्तोलन, राष्ट्रिय गान र स्काउट राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो। समारोहमा कब, ब्राउनी, ब्वाइ तथा गर्ल्स स्काउटका नयाँ सदस्यहरूलाई स्काउट प्रतिज्ञा गराउँदै स्कार्फ, बायज् र दीक्षान्त प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, स्काउटरहरूलाई पनि सम्मान-पत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथिहरूले स्काउटको महत्त्वबारे आफ्ना भनाइ तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। स्काउटर श्री लिलादेवी निरौलाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम सभापति श्री रामबाबु रेग्मीको धन्यवाद ज्ञापन र सभा विसर्जनसँगै समापन भएको थियो।
आदर्श स्काउट इकाई, सानोठिमीमा दीक्षान्त समारोह सम्पन्न









Leave a Reply