नबराज काफले
काठमाडौँ ,भाद् १५
मानव स्वास्थ्यलाई निरोगी, सन्तुलित र आध्यात्मिक रूपमा समृद्ध बनाउने उद्देश्यका साथ योगको विकास र विस्तारमा निरन्तर लागिपरेका विभिन्न संघ-संस्थाहरूको संयुक्त प्रयासमा काठमाडौँ महानगरपालिका वडा नं. ९ मा नियमित योग साधना गर्ने वातावरण तयार भएको छ। पातञ्जल योग समिति नेपाल जिल्ला शाखा काठमाडौँ र श्री स्वामी समर्थ आध्यात्मिक केन्द्र पाशुपत क्षेत्रको संयुक्त आयोजनामा आयोजित विशेष कार्यक्रमका बीच ‘योग शिविर समापन’ तथा ‘महामृत्युञ्जय योग साधना केन्द्र’को भव्य उद्घाटन सम्पन्न भएको छ।
काठमाडौँ महानगरपालिका स्थित साततारे होटेलको परिसरमा यही २०८३ साल भाद्र १५ गते आयोजित उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका विद्वान्, योगविज्ञ तथा विशिष्ठ व्यक्तित्वहरूले योगको महत्त्व, यसको आधुनिक सान्दर्भिकता र साधना केन्द्रको प्रभावकारितामा केन्द्रित रहेर आफ्ना गहन मन्तव्यहरू व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका श्री स्वामी समर्थ आध्यात्मिक केन्द्र पाशुपत क्षेत्रका अध्यक्ष भुवन प्रसाद काफ्लेले आफ्नो अध्यक्षतासहितको समापन मन्तव्य दिँदै योग साधनाले व्यक्तिलाई शारीरिक मात्र नभई आध्यात्मिक रूपमा पनि सुदृढ बनाउने बताउनुभयो। उहाँले नवगठित योग साधना केन्द्रले स्थानीय स्तरमा नियमित साधनाको जग बसाल्ने विश्वास व्यक्त गर्नुभयो।
यसअघि, कार्यक्रममा स्वागत मन्तव्य राख्दै पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्य एवं जिल्ला शाखा काठमाडौँका अध्यक्ष अम्बिका खड्गीले उपस्थित सम्पूर्ण अतिथि तथा साधक-साधिकाहरूलाई शब्दद्वारा हार्दिक स्वागत गर्दै योगको पहुँचलाई घर-घरसम्म पुर्याउने अभियानमा यो केन्द्र कोसेढुङ्गा साबित हुने बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पातञ्जल योग समिति नेपालका प्रमुख अभिभावक, वरिष्ठ योग तथा प्राकृतिक चिकित्सा विज्ञ डा. हरि प्रसाद पोख्रेलले योग केवल व्यायाम मात्र नभएर जीवन जिउने कला र विज्ञान भएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार, आधुनिक व्यस्त र तनावपूर्ण जीवनशैलीमा रोग व्याधिबाट बच्न तथा मानसिक शान्ति प्राप्त गर्न नियमित योग र प्राकृतिक चिकित्साको विकल्प छैन। साधना केन्द्रको स्थापनाले स्थानीय बासिन्दालाई आरोग्य प्राप्त गर्न ठूलो मद्दत पुग्ने उहाँको भनाइ थियो।
त्यस्तै, विशिष्ट अतिथिका रूपमा बोल्दै पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले संस्थागत रूपमा योगको प्रचार-प्रसार र विकासमा भइरहेका प्रयासहरूको प्रशंसा गर्दै योग साधना केन्द्रहरूको दिगो सञ्चालनमा सबैको सामूहिक प्रतिबद्धता हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अतिथि पातञ्जल योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदीले योगलाई नीतिगत र व्यावहारिक दुवै तहमा समुदायसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो। अर्का अतिथि महामृत्युञ्जय योग साधना केन्द्रका संस्थापक योगी पूर्ण श्रेष्ठले साधना केन्द्रको स्थापनाको उद्देश्य र यसले दिने नियमित योग शिक्षाबारे प्रकाश पार्नुभएको थियो।
त्यसैगरी, अतिथि श्री स्वामी समर्थ आध्यात्मिक केन्द्र पाशुपत क्षेत्रका उपाध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव शम्भु कोइरालाले योग र अध्यात्मले समाजमा अनुशासन, नैतिक मूल्य र सकारात्मक सोचको विकास गर्ने धारणा राख्नुभयो। अतिथि तथा पातञ्जल योग समिति नेपालका महासचिव नवराज काफ्लेले योग अभियानलाई देशभर सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रमको अवसरमा नवनिर्मित महामृत्युञ्जय योग साधना केन्द्रलाई व्यवस्थित र अनुशासित रूपमा सञ्चालन गर्न योग साधक केदार चालिसेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
अध्यक्ष: केदार चालिसे
उपाध्यक्ष: कमल खरेल
सचिव: माया थिंक
कोषाध्यक्ष: सुमित्रा गौतम
सदस्यहरू: रमेश गुरुङ, प्राप्ति जोशी, चित्र रिमाल र दाेण खड्का
यसैगरी, केन्द्रको मार्गदर्शन र नीतिगत सहयोगका लागि डा. घनश्याम खतिवडा, भुवन काफ्ले र डा. माला खरेल रहेको एक सल्लाहकार समितिसमेत सर्वसम्मत रूपमा चयन गरिएको छ।
उक्त विशेष समारोहमा पातञ्जल योग समिति नेपालका उपाध्यक्षद्वय होम प्रसाद गौतम एवं योग प्रसाद आचार्य, केन्द्रीय सदस्य हेमा प्रजापति, केन्द्रीय योग तथा खेलकुद विभाग सदस्य राममणि तिमल्सिना, दुबुलापेश्वर योग साधना केन्द्रका अध्यक्ष सुरक्षा मल्ल ठकुरी लगायत ठूलो संख्यामा योग साधक-साधिकाहरू, स्थानीय समाजसेवीहरू तथा बुद्धिजीवीहरूको गरिमामय उपस्थिति रहेको थियो।
यो कार्यक्रम काठमाडौँ महानगरपालिका वडा नं. ९ र साततारे होटेलको विशेष सहकार्य तथा व्यवस्थापनमा भव्यताका साथ सम्पन्न भएको हो। स्थानीय निकाय र निजी क्षेत्रको यस्तो सहकार्यले योग क्षेत्रको विकास, विस्तार र नागरिकको आरोग्यता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।











Leave a Reply