पालिकासँग समन्वय गर्न संघको आग्रह : मुख्यमन्त्री थापा मगर
नबराज काफ्ले
काठमाडौ,भाद्र १५,०८३
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रभावित नागरिकसम्म राहत पुर्याउन समस्या देखिएको बताएका छन् ।
मुख्यमन्त्री थापा मगरका अनुसार नुवाकोटको बटार तथा रसुवाको धुन्चेस्थित ब्यारेकमा राहत सामग्री संकलन भएर बसे पनि प्रभावित क्षेत्रमा अपेक्षित रूपमा वितरण हुन सकेको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा राहत सामग्री स्थानीय तहसँग समन्वय गरी वितरणको व्यवस्था मिलाउन आफूलाई आग्रह गरिएको उनले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री कार्यालयबाट गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्षसँग समेत सम्पर्क गरी राहत वितरणलाई स्थानीय तहको संयन्त्रमार्फत अघि बढाउन भनिएको छ।
मुख्यमन्त्री थापा मगरले संघीय तहबाट संकलित राहत सामग्री सम्बन्धित क्षेत्रमा पुर्याउने र वितरण गर्ने कार्यमा प्रदेश सरकार तथा स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए ।
उनले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका सल्लाहकार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित टोलीसँग छलफल भएको र राहत व्यवस्थापनका विषयमा थप छलफलसमेत हुने जानकारी दिए ।
बाढी तथा पहिरोबाट प्रभावित जिल्लामा राहत सामग्री संकलन भइरहेको भए पनि भण्डार स्थलदेखि वास्तविक पीडितसम्म सामग्री पुर्याउने व्यवस्थापन चुनौतीपूर्ण बनेको मुख्यमन्त्रीको भनाइ छ ।
विपद्का समयमा राहत वितरणमा देखिएको यस्तो समन्वयको समस्याले संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट जिम्मेवारी, द्रुत निर्णय प्रक्रिया तथा प्रभावकारी सूचना आदान–प्रदानको आवश्यकता थप उजागर गरेको छ ।











Leave a Reply