नबराज काफ्ले
भक्तपुर, भदौ १४
देशका विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै चाँगुनारायण नगरपालिका–२, बारुदखाना चोकमा ज्येष्ठ नागरिक समाजले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ ।
आज साँझ ज्येष्ठ नागरिक समाजको आयोजनामा बाढीबाट ज्यान गुमाएका नागरिकको चिरशान्तिको कामना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन, स्वस्तिवाचन तथा श्रद्धाञ्जली सभा आयोजना गरियो ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूले विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।
श्रद्धाञ्जली कार्यक्रमसँगै समाजले बाढीपीडित नागरिकका लागि रु. २४ हजार ८८० सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ । विशेषतः ज्येष्ठ नागरिकहरूले आफूले प्राप्त गर्ने वृद्धभत्ताबाट समेत रकम छुट्याएर स्वस्फूर्त रूपमा सहयोग गर्नु मानवीय सहृदयताको उल्लेखनीय उदाहरण बनेको छ।
‘एक थुकी सुकी, सय थुकी नदी’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै सानो–सानो सहयोगबाट ठूलो मानवीय सहयोग निर्माण गर्न सकिन्छ भन्ने सन्देशसमेत यस पहलले दिएको छ। आर्थिक रूपमा ठूलो योगदान गर्न नसकिए पनि आफ्नो क्षमताअनुसार विपद्मा परेका नागरिकका लागि साथ दिन सकिन्छ भन्ने प्रेरणा ज्येष्ठ नागरिक समाजको यस कार्यले दिएको छ ।
विशेषगरी जीवनको उत्तरार्धमा रहेका ज्येष्ठ नागरिकहरूले आफूलाई प्राप्त हुने वृद्धभत्ताबाट समेत विपद्पीडितका लागि सहयोग गर्नुले समाजमा रहेको ‘हामी’ भावनालाई थप बलियो बनाएको छ । स्वस्फूर्त रूपमा संकलित उक्त रकमलाई सम्बन्धित राहत कोषमा पारदर्शी र औपचारिक रूपमा दाखिला गर्ने योजनाले सहयोगसँगै उत्तरदायित्व र पारदर्शिताको पक्षलाई समेत उजागर गरेको छ ।
विपद्को पीडामा राज्यको राहत प्रयाससँगै नागरिकस्तरबाट हुने यस्ता साना तर अर्थपूर्ण पहलहरूले पीडित परिवारमा आशा र भरोसा जगाउने काम गर्छन् । चाँगुनारायण–२ का ज्येष्ठ नागरिकहरूले प्रस्तुत गरेको यो मानवीय व्यवहारले सहयोग रकमको आकारभन्दा सहयोग गर्ने भावना ठूलो हुन्छ भन्ने सन्देश दिएको छ ।
ज्येष्ठ नागरिक समाजको यस अनुकरणीय पहलप्रति हार्दिक नमन।











Leave a Reply