भक्तपुर । भक्तपुरको सल्लाघारीमा पर्सि (असोज २१ गते बुधबार) देखि दसैँ रमाइलो महोत्सव २०८३ हुने भएको छ । आयोजक औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले सोमबार पत्रकार सम्मेलनको आयोजनामा गरी मेला हुने जानकारी गराएको हो । नेपालीहरूको महान् पर्व बडादसैँको अवसर पारेर हुने ‘दसैँ रमाइलो महोत्सव–२०८३’ असोज ३० गतेसम्म भक्तपुर नगरपालिका–१ स्थित सल्लाघारी खुला चौरमा हुने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा मेला संयोजक संगम लामाले मेलामा दैनिक जीवनमा प्रयोग हुने सामग्री, खाद्यान्न, अटोमोबाइल, जुत्ता–चप्पल, कृषि तथा हस्तकलाका सामग्रीलगायतका वस्तु प्रदर्शनी तथा बिक्रीमा राखिने जानकारी गराए । त्यस्तै मेलामा मनोरञ्जनका लागि बालउद्यान, रोटेपिङ, झुला, नाउ, मिनी बन्जी जम्प, वाटर बल, मिकी माउस, ट्राम्पोलिनलगायतका खेल तथा मनोरञ्जनका सामग्री राखिने उनले जनाए ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्ग्य तथा गीत–गायनसहित हरेक दिन खुला नृत्य प्रतियोगिता समेत आयोजना गरिनेछ । मेलामा ५० भन्दा बढी स्टल रहनेछन् । स्थानीय व्यापारीका लागि स्टलको आकारअनुसार न्यून शुल्कमा स्टल उपलब्ध गराइने जनाइएको छ ।
मेलामा विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार मेलाले भक्तपुरको स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । भक्तपुर ऐतिहासिक तथा सांस्कृतिक स्थल भएकाले सल्लाघारीमा आयोजना हुने मेलाले स्थानीय व्यवसायी तथा उपभोक्तालाई समेत प्रत्यक्ष लाभ पुग्ने आयोजकको भनाइ छ ।
महोत्सवलाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी पूरा भइसकेको र अहिले स्टल निर्माणलगायतका काम भइरहेको आयोजक समितिका संयोजक लामाले जानकारी दिनुभयो । उहाँले मेला अवलोकन गर्न भक्तपुरवासी तथा सर्वसाधारणलाई आग्रह गर्नुभयो । मेलामा के.डी. श्री डान्स कल्चर एकेडेमी प्रा.लि. को विशेष प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।
पर्सिदेखि सल्लाघारीमा दसैँ रमाइलो महोत्सव









Leave a Reply