शब्दयात्रा प्रकाशनबाट आठ विधामा सम्मान

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको सम्मान समर्पण गरिएको हो । पत्रकारिताको क्षेत्रमा आबद्ध रहेर चार दशकभन्दा बढी समयसम्म अल इन्डिया रेडियोबाट नेपाली भाषाको समाचार वाचन गरी विभिन्न जानकारी जनमनसम्म पु¥याउन विशेष योगदान गर्नुका साथै ‘रेडियो जिन्दगी’ लगायतका विभिन्न पुस्तकहरू लेखेर आफू आबद्ध क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका सुपरिचित अग्रज पत्रकार तथा लेखक प्रकाशप्रसाद उपाध्याय (सप्तरी) लाई प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटाको स्मृतिमा संस्थापित ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, २०८३’ समर्पण गरियो । उहाँलाई डा. इन्दुल केसीले टीका र पुष्पमाला, गीता अधिकारीले भेटी र उपहार तथा चन्द्रबहादुर खड्काले किरीट र अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । चित्रकलाकारिता र चित्रकलाको प्रदर्शनीका माध्यमबाट मिथिला चित्रकलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति दिलाउन विशिष्ट भूमिका निर्वाह गरी अतुल्य योगदान गर्नुका साथै विभिन्न विषयमा अन्वेषण गरी पुस्तकहरूको लेखन तथा प्रकाशन गर्नुभएकोमा बनारस हिन्दू विश्वविद्यालयबाट चित्रकला विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उपाधि प्राप्त गर्ने पहिलो नेपालीका रूपमा सुपरिचित व्यक्तित्व जीतबहादुर रायमाझी (सिराहा) लाई ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान, २०८३’ समर्पण गरियो । उहाँलाई डा. इन्दुल केसीले टीका र पुष्पमाला गीता अधिकारीले भेटी र उपहार, चन्द्रबहादुर खड्काले किरीट र प्रकाशप्रसाद उपाध्यायले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध रही शब्दको शुद्ध उच्चारण गर्नुपर्ने भाषिक नियमको पालना गर्दै वर्णमात्रिक र मात्रिक छन्दका सिर्जनालाई शास्त्रीय रागसँग समायोजन गरेर सुमधुर स्वरलहरीबाट गुञ्जायमान् पार्नुका साथै विभिन्न आधुनिक गीतहरूमा स्वर दिएर साङ्गीतिक समृद्धिका लागि चार दशकदेखि प्रयत्नरत रहनुभएकोमा छन्दगायिका लोचन भट्टराई (सुनसरी) लाई नेपाली भाषाको गीत पहिलोपटक स्वराङ्कन गर्ने गायिका मेलवादेवी गुरुङको नाउँमा संस्थापित ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान, २०८३’ समर्पण गरियो । उहाँलाई शिव बन्जाराले टीका र पुष्पमाला, गीता अधिकारीले उपहार र भेटी, चन्द्रबहादुर खड्काले किरीट र जीतबहादुर रायमाझीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । विभिन्न अध्यात्म–साधकहरूको साधनायात्रा र आध्यात्मिक जागरणका विषयमा ज्ञानवद्र्धक सामग्रीहरू प्रस्तुत गरी आध्यात्मिक पत्रकारिताका माध्यमबाट सामाजिक चेतनावृद्धिका लागि अहम् भूमिका निर्वाह गर्नुका साथै सनातन धर्म–संस्कृति, आध्यात्मिक भावना, नैतिक चरित्र एवं मौलिक परम्परासँग सम्बन्धित विषयमा यथार्थ जानकारी दिइरहेको श्री दिव्यपुरी टेलिभिजन (काठमाडौँ) लाई आबाल ब्रह्मचारी षडानन्द अधिकारीको नाउँमा संस्थापित ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान, २०८३’ समर्पण गरियो । संस्थाका प्रतिनिधि उपस्थित हुन नसक्नुभएकाले पछि उपलब्ध गराउने गरी सम्मान सामग्रीहरू जयनारायण नेपालले भवानी पाण्डेलाई हस्तान्तरण गर्नुभयो । नेपालको साहित्यिक र सांस्कृतिक उत्थानका लागि समर्पित रहेर आध्यात्मिक क्षेत्रका ५ वटा र अन्य क्षेत्रका ३ वटासमेत ८ वटा पुस्तकहरू लेखी प्रकाशन गराउनुका साथै सांस्कृतिक क्रियाकलापद्वारा समाजमा आध्यात्मिक जागरण गराएर मानवीय नैतिक मूल्य–मान्यताको जगेर्ना गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नुभएकोमा आध्यात्मिक लेखक श्री केदारनाथ तिमल्सिना (काभ्रेपलाञ्चोक) लाई बनेपा प्रकाशन प्रा. लि. द्वारा संस्थापित ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक लेखक सम्मान, २०८३’ समर्पण गरियो । उहाँलाई शिव बन्जाराले टीका र पुष्पमाला, गीता अधिकारीले उपहार र भेटी, चन्द्रबहादुर खड्काले किरीट र लोेचन भट्टराईले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । सिर्जनात्मक उत्कृष्टता र प्राविधिक दक्षताका आधारमा फोटोग्राफी र सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने फोटोग्राफरका रूपमा सुपरिचित बनी फोटोग्राफी, सिनेमेटोग्राफी, व्यावसायिक विज्ञापन, फेसन, ग्ल्यामर र दृश्यसञ्चारका क्षेत्रमा चार दशकसम्म सक्रिय रहेर फोटो पत्रकारिता क्षेत्रमा योगदान गर्नुभएकोमा फोटो पत्रकार श्री राजभाइ सुवाल (काठमाडौं) लाई फोटो पत्रकार तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधानबाट संस्थापित ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान, २०८३’ समर्पण गरियो । उहाँलाई लोकेन्द्र ढकालले टीका र पुष्पमाला, हरिगोपाल प्रधानले उपहार र भेटी, चन्द्रबहादुर खड्काले किरीट र केदारनाथ तिमल्सिनाले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । लामो समयदेखि राष्ट्रिय स्तरका विभिन्न पत्रिकाहरूमा स्तम्भकारका रूपमा निरन्तर सक्रिय भएर नेपाली जनजीवनलाई आधार बनाई लोकसाहित्य, लोकगीत, लोकनृत्य, लोकसांस्कृतिक मूल्य–मान्यता, लोकचिन्तन र लोकपद्धतिका विषयमा पाठकलाई अनुसन्धानात्मक लेखद्वारा सुसूचित गराउन उल्लेख्य योगदान गर्नुभएकोमा स्तम्भकार श्री राममणि सिटौला (नुवाकोट) लाई अग्रज पत्रकार तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधानबाट संस्थापित ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान, २०८३’ समर्पण गरियो । उहाँलाई लोकेन्द्र ढकालले टीका र पुष्पमाला, हरिगोपाल प्रधानले उपहार र भेटी, चन्द्रबहादुर खड्काले किरीट र राजभाइ सुवालले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका क्षेत्रमा विभिन्न मन्दिरहरूको निर्माण र अन्य कार्यक्रमहरूको सञ्चालन गरी धार्मिक पर्यटन र आध्यात्मिक जागरणका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुका साथै आध्यात्मिक गौरवयुक्त ज्ञानसम्पदाको प्रचारप्रसार गरी आध्यात्मिक र नैतिक पुनर्जागरण गराउन अध्यात्मको गहिरो सत्यलाई सरल र सहज ढङ्गबाट समाजमा प्रस्तुत गर्न क्रियाशील रहेकोमा श्री बृहत् शान्तिधाम नेपाल (काठमाडौं) लाई ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान, २०८३’ समर्पण गरियो । संस्थाका तर्फबाट उपस्थित राजेन्द्रराज कठायतलाई लोकेन्द्र ढकालले टीका र पुष्पमाला, कृष्णमणि कुइकेलले उपहार र भेटी, चन्द्रबहादुर खड्काले किरीट र राममणि सिटौलाले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *