पोखरा विश्वविद्यालयसँग सम्बन्धनप्राप्त एभरेष्ट इन्जिनियरिङ कलेजको आयोजनामा तथा हिष्ट इन्जिनियरिङ कलेजको सहआयोजनामा International Conference on Artificial Intelligence in Computational Science & Engineering (IC-AICSE 2026) २०८३ असोज २१ गते (७ अक्टोबर २०२६) काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजना हुने भएको छ।
सम्मेलनमा २०० भन्दा बढी सहभागी तथा ४० भन्दा बढी अनुसन्धानपत्रको प्रस्तुत हुनेछ। सम्मेलन मा १० देसको पेपर प्रस्तुतीकरण हुने छ। विज्ञ समीक्षाबाट छनोट गरिएका अनुसन्धानपत्र समानान्तर प्राविधिक सत्रमा प्रस्तुत गरिनेछन्। सम्मेलनका प्रमुख अतिथिका बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेल तथा सम्मेलनको अध्यक्ष प्रा. डा. हरिकृष्ण श्रेष्ठ र सदस्यसचिव सहप्राध्यापक इन्जिनियर राजन लामा हुनुहुन्छ।
सम्मेलनका छ प्रमुख विषयक्षेत्रमा कम्प्युटर इन्जिनियरिङ तथा सूचना प्रविधि, कम्प्युटेसनल विज्ञान, साइबर सुरक्षा तथा डिजिटल फरेन्सिक्स, वित्तीय प्रविधि, सिभिल इन्जिनियरिङ तथा वातावरण विज्ञान र इन्जिनियरिङ समेटिएका छन्। IEEE Nepal Section प्राविधिक सहयोगी र नेपाल इन्जिनियर्स एसोसिएसन ज्ञान साझेदार रहेका छन्। सम्मेलनलाई नेपाल इन्जिनियरिङ परिषद्को मान्यता तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगसमेत छ।
कृत्रिम बुद्धिमत्तालाई अनुसन्धान, शिक्षण र व्यावहारिक समस्या समाधानसँग जोड्ने विषय यस सम्मेलनको केन्द्रीय सन्देश हुनेछ। विज्ञान तथा इन्जिनियरिङमा उपलब्ध तथ्याङ्कलाई अर्थपूर्ण ज्ञानमा रूपान्तरण गर्न, जटिल समस्याको विश्लेषण गर्न र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न विषयका विज्ञबीच संवाद आवश्यक हुन्छ। यस सन्दर्भमा सम्मेलनलाई नयाँ विचार प्रस्तुत गर्ने, अनुसन्धानका निष्कर्षमाथि रचनात्मक प्रतिक्रिया प्राप्त गर्ने र सहकार्यका सम्भावना पहिचान गर्ने अवसरका रूपमा अघि बढाइनेछ।
नेपालको सन्दर्भमा कृत्रिम बुद्धिमत्तासम्बन्धी छलफल स्थानीय आवश्यकता र समस्यासँग जोडिनु विशेष अर्थपूर्ण हुनेछ। उदाहरणका लागि, पूर्वाधारको अवस्था मूल्याङ्कन, यातायात व्यवस्थापन, जलस्रोतसम्बन्धी तथ्याङ्क विश्लेषण, वातावरणीय जोखिम पहिचान र सार्वजनिक सेवाको सुधारमा अनुसन्धानका सम्भावना खोज्न सकिन्छ। यस्ता सम्भावनालाई व्यवहारमा उतार्न उपयुक्त तथ्याङ्क, विषयगत ज्ञान, प्रविधिको विश्वसनीयता र स्थानीय परिस्थितिको बुझाइलाई सँगसँगै अघि बढाउन आवश्यक छ।
विद्यार्थी तथा युवा अनुसन्धानकर्ताका लागि अनुसन्धानपत्र प्रस्तुत गर्नु आफ्नो अध्ययन साझा गर्ने अवसर मात्र नभई अनुसन्धान विधि, प्रमाणको प्रयोग र निष्कर्षको व्याख्यालाई परिष्कृत गर्ने अभ्याससमेत हो। विज्ञसँगको अन्तर्क्रिया र अन्य अनुसन्धानकर्ताका अनुभवबाट सिक्ने अवसरले नयाँ अनुसन्धान प्रश्न पहिचान गर्न तथा भविष्यको अध्ययनको दिशा तय गर्न सहयोग पुर्याउन सक्छ। यस किसिमको शैक्षिक संवादले कक्षाकोठाको सिकाइलाई अनुसन्धान र व्यावसायिक अभ्याससँग जोड्न योगदान दिन सक्नेछ।
सम्मेलनमा प्रविधिको उपयोगितासँगै जिम्मेवार प्रयोगलाई प्राथमिकता दिइने छ। कृत्रिम बुद्धिमत्तामा आधारित समाधानको मूल्याङ्कन गर्दा तथ्याङ्कको गुणस्तर, गोपनीयता, निष्पक्षता, पारदर्शिता र मानवीय उत्तरदायित्वलाई ध्यान दिनुपर्छ। विशेषगरी सार्वजनिक सुरक्षा र सेवासँग सम्बन्धित इन्जिनियरिङ निर्णयमा प्रविधिबाट प्राप्त नतिजालाई विषयगत परीक्षण तथा विज्ञको विवेकसँग जोड्नु महत्त्वपूर्ण हुन्छ।












Leave a Reply