सुर्यविनायकले योग प्रवर्द्धनका लागि अक्षय कोष स्थापना गर्ने

नबराज काफ्ले
​सूर्यविनायक, भक्तपुर,आश्वीन १८

पातन्जल योग समिति नेपाल अन्तर्गतको मुक्ति विनायक योग साधना केन्द्रको प्रथम वार्षिकोत्सव सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुञ्जेमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गहन छलफलका साथ सर्वसम्मतिले अनुमोदन गरिएको छ ।

​मुक्ति विनायक योग साधना केन्द्रका अध्यक्ष रामचन्द्र गुमान्जुको सभापतित्व तथा राजेश्वरीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीले योग क्षेत्रको दिगो विकासका लागि अक्षय कोषको घोषणा गर्नुभयो । उहाँले स्थानीय तहमा योग प्रवर्द्धनका गतिविधि निरन्तर अगाडि बढाउन हाललाई प्रत्येक साधना केन्द्रका लागि रु. ५१ हजारका दरले अक्षय कोष खडा गरिने र सोही कोषमार्फत विस्तारका कार्यहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

​कार्यक्रममा पातन्जल योग समिति नेपालका महासचिव नवराज काफ्लेले योग र स्वास्थ्यप्रतिको स्थानीय पालिकाको यो विशेष जिम्मेवारीबोधको प्रशंसा गर्दै सूर्यविनायक नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले पातन्जल योग समिति नेपाल सँगको सहकार्यका लागि आभार व्यक्त गर्दै वार्षिक साधारण सभाको सफलताको शुभकामना एवं बधाई सन्देश व्यक्त गर्नुभयो । त्यसैगरी,पातन्जल योग समिति नेपाल भक्तपुरका अध्यक्ष एवंय सदस्य रिता पाख्रीनले भक्तपुर जिल्लाभित्र योग जागरण अभियान सञ्चालन गर्न स्थानीय पालिकाहरूको भूमिका अतुलनीय रहेको स्पष्ट पार्दै वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नुभयो ।

​समारोहमा पातन्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष योग प्रसाद आचार्य र केन्द्रीय सदस्य हेमा प्रजापतिले योगको महत्त्व र आगामी कार्यदिशाका बारेमा आ-आफ्नो धारणा राख्नुभएको थियो । मुक्ति विनायक योग साधना केन्द्रका तर्फबाट अप्सरा थापाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा भक्तपुर जिल्ला महिला उपाध्यक्ष संगिता थापा मगर तथा सूर्यविनायक नगर सचिव जयराम ढकाल लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *