पाताञ्जल फसिन्टर योग साधना केन्द्रको ९ औँ वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न
चाँगुनारायण (भक्तपुर),आश्वीन १७
पाताञ्जल फसिन्टर योग साधना केन्द्रले आफ्नो ९ औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ । विभिन्न सांस्कृतिक झाँकी र उल्लासमय वातावरणका बीच सुरु भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष आस्था धमलाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।
चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोटमा आयोजित सो कार्यक्रममा साधना केन्द्रकी सचिव अप्सरा अधिकारीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। पेस गरिएका दुवै प्रतिवेदनलाई साधारण सभाले सर्वसम्मतिले अनुमोदन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरूको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । पाताञ्जल योग समिति नेपालका केन्द्रीय सल्लाहकार एवं चाँगुनारायण नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सोमप्रसाद प्रधान, केन्द्रीय उपाध्यक्षद्व्य होमप्रसाद गौतम एवम योग प्रसाद आचार्य,केन्द्रिय सदस्य एवम भक्तपुर जिल्ला अध्यक्ष रिता पाख्रीनले केन्द्रको प्रगतिको प्रशंसा गर्दै वैधानिक तथा सामाजिक निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
सो अवसरमा बोल्दै केन्द्रीय महासचिव तथा संगठन विभाग प्रमुख नवराज काफ्लेले फसिन्टर योग साधना केन्द्रबाटै सुरु भएको योग जागरण अभियानले अहिले देशव्यापी रूप लिन सफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार पातञ्जल योग समिति नेपालले हाल सातै प्रदेशमा फैलिएर १,००० भन्दा बढी साधना केन्द्रमार्फत योग गतिविधि सञ्चालन गरिरहेको छ ।
त्यसैगरी केन्द्रीय महिला उपाध्यक्ष शृजनामल्ल ठकुरीले नियमित योग साधना गर्ने ज्येष्ठ नागरिकलाई गरिएको सम्मानले समाजमा सकारात्मक सन्देश दिएको छ । योगलाई केवल व्यायाममा मात्र सीमित नराखी स्वस्थ जीवनशैली र मानसिक शान्तिको माध्यम बनाउन यस्ता कार्यले प्रोत्साहन गर्ने बताउनुभयो ।
संस्थाका केन्द्रीय उपाध्यक्ष गिता प्रसाद नेपालले फसिन्टरबाट सुरु भएको अभियान देशैभर १,००० भन्दा बढी केन्द्रहरूमा विस्तार हुनु ठूलो उपलब्धि हो । अब सङ्ख्यात्मक वृद्धिसँगै योग शिक्षकहरूको दक्षता, साधनाको गुणस्तर र साधकहरूको स्वास्थ्यमा परेको प्रभाव (Impact Assessment) मा ध्यान दिनु उपयुक्त हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिकको सम्मानलाई विशेष प्राथमिकता दिइएको थियो । दुवाकोटस्थित सो केन्द्रमा नियमित योग साधना गर्दै आउनुभएका एक दर्जनभन्दा बढी ज्येष्ठ बुवा-आमाहरूलाई वडा अध्यक्ष प्रधानले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा पातञ्जल योग समिति नेपालका केन्द्रीय सदस्यहरू उमेशमान मधीकर्मी र हेमा प्रजापति, केन्द्रीय महिला विभागकी कोषाध्यक्ष इन्दु लम्सालका साथै बागमती प्रदेशका महिला विभाग उपाध्यक्ष विना चौलागाईं, भक्तपुर जिल्ला, विभिन्न नगर तथा साधना केन्द्रका पदाधिकारी, सदस्य एवं साधकहरूको बाक्लो उपस्थिति रहेको थियो ।












Leave a Reply