भक्तपुर । वातावरणीय संकट समाधानका लागि जलवायु परिवर्तनका प्रभावबारे चर्चा गरेर मात्र नपुग्ने भन्दै वातावरण विनाशको मूल कारण पहिचान गरी उत्पादन, विकास र शासन प्रणालीमा परिवर्तन गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । प्राध्यापक समाज नेपाल केन्द्रीय समितिको आयोजनामा आइतबार भक्तपुरमा भएको ‘वातावरणः संकट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले वातावरण संरक्षणलाई विकास, राजनीति, अर्थतन्त्र र मानव व्यवहारसँग जोडेर हेर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित) ले देशमा व्याप्त कमिसनखोरीले वातावरण संरक्षण तथा देश विकासका कामसमेत प्रभावित भएको बताउनुभयो । उहाँले विगतका विभिन्न सरकारका मन्त्रीहरूले विकाससम्बन्धी काम अघि बढाउँदा कमिसन खोज्ने गरेको प्रसंग सुनाउँदै कमिसनको संस्कारले देशलाई पछाडि पारेको धारणा राख्नुभयो ।
उहाँले विदेशमा लामो समय बसेर आएका एक वैज्ञानिक इन्जिनियरले माटोको सट्टा चुनढुंगाबाट इँटा बनाउन सकिने वातावरणमैत्री प्रविधिबारे आफूलाई जानकारी गराएको स्मरण गर्नुभयो । उक्त प्रविधि नेपालमा लागू गर्न आफूले सम्बन्धित मन्त्रीकहाँ पठाउँदा कामको उपयोगिताभन्दा आफूले कति कमिसन पाउने भन्ने प्रश्न गरिएको उहाँले बताउनुभयो । अर्को सरकारका पालामा पनि सोही प्रस्ताव लिएर मन्त्रीकहाँ पठाउँदा उस्तै प्रश्नको सामना गर्नुपरेको बताउँदै विजुक्छेंले देशका लागि केही योगदान गर्न चाहने ती वैज्ञानिक इन्जिनियर कमिसनको संस्कारबाट निराश बनेको उल्लेख गर्नुभयो । पछि ती इन्जिनियरले आत्महत्या गरी मृत्युवरण गरेको प्रसंगसमेत उहाँले सुनाउनुभयो ।
कार्यक्रममा भूगर्भविद् डा. सुवेगमान विजुक्छेंले वातावरणीय संकटलाई वैज्ञानिक र भौगर्भिक दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिनुभयो । प्राकृतिक स्रोतको अनियन्त्रित दोहन, भू–उपयोगमा देखिएको अव्यवस्था तथा वातावरणीय प्रभावलाई बेवास्ता गर्दै गरिने विकासले भविष्यमा थप संकट निम्त्याउन सक्ने उहाँको भनाइ थियो । त्यस्तै, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इन्जिनियर सुनिल दुवालले वातावरण संरक्षण र विकासबीच सन्तुलन कायम गर्न इन्जिनियरिङ तथा प्राविधिक क्षेत्रमा समेत नयाँ सोच आवश्यक रहेको बताउनुभयो । वातावरणमैत्री प्रविधिको प्रयोग, प्राकृतिक स्रोतको उचित व्यवस्थापन र दिगो पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
वक्ताहरूले वातावरणीय समस्या केवल जलवायु परिवर्तनको विषय नभई मानव सिर्जित विकासको ढाँचा, प्राकृतिक स्रोतको दोहन, प्रदूषण, अव्यवस्थित सहरीकरण र गलत नीतिसँग समेत सम्बन्धित रहेको उल्लेख गरे । त्यसैले वातावरण संकटको दीर्घकालीन समाधानका लागि नीतिगत, राजनीतिक, आर्थिक र प्राविधिक क्षेत्रमा सुधार आवश्यक रहेको उनीहरूको जोड थियो ।
कार्यक्रममा प्राध्यापक समाज नेपालका केन्द्रीय उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवाललगायतको सहभागिता थियो । कार्यक्रमको उदघाटन पार्टी अध्यक्ष नारायणमान विजुक्छेंले गर्नुभएको थियो भने स्वागत मन्तव्य कृष्णप्रसाद धन्छा र समापन मन्तव्य प्रकाशकुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा समाजसँंग आवद्ध विभिन्न कलेजहरुका प्राध्यापकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्राध्यापक समाजले गरयो वातावरणः संकट र समाधान विषयमा अन्तरक्रिया












Leave a Reply