नगरपालिका वडा नं. २ को आयोजना नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

चाँगुनारायण–२ मा नागरिकका प्रश्नमा वडा र प्रहरीको साझा प्रतिबद्धता

नबराज काफ्ले
चाँगुनारायण, भक्तपुर

सुशासनको आधार पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता हो। यही मान्यतालाई व्यवहारमा उतार्दै चाँगुनारायण नगरपालिका वडा नं. २ को आयोजना र प्रहरी प्रभाग दुवाकोटको समन्वयमा आज नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीको सहकार्यमा भएको कार्यक्रमको उद्देश्य प्रहरी सेवालाई थप प्रभावकारी, जवाफदेही र नागरिकमैत्री बनाउनु थियो ।

कार्यक्रममा वडा अध्यक्ष सोमप्रसाद प्रधानको अध्यक्षता र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काको प्रमुख आतिथ्य थियो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले वडाको विकास निर्माण, शान्तिसुरक्षा र सेवा प्रवाहसँग जोडिएका विषय उठाए।

पूर्वाधार र विकास अन्तर्गत कच्ची सडक यथाशीघ्र पूर्ण गर्ने, टोल–टोलमा सडकबत्ती व्यवस्थापन गर्ने, मापदण्डअनुसार घर–टहरा निर्माण गराउने, सार्वजनिक जग्गा संरक्षणमा तदारुकता देखाउने र बजेट विनियोजनमा निष्पक्षता कायम गर्ने,वातावरण र स्वास्थ्य अन्तर्गत धुवाँ–धुलोबाट स्वास्थ्यमा परेको प्रतिकूल असर कम गर्ने र इँटा भट्टाबाट उत्पन्न समस्याको तत्काल समाधान खोज्ने,शान्तिसुरक्षा तर्फ सीसी क्यामेरा अद्यावधिक राख्ने, छिटपुट चोरीका घटनामा प्रहरी परिचालन चुस्त बनाउने, लुकीछिपी लागुऔषध दुर्व्यसनमा संलग्नको निगरानी गर्ने र गाडीको गति नियन्त्रणको व्यवस्था मिलाउने लगायतका विषय सरोकारवालाहरुबाट उठेको थियो ।

सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै प्रमुख प्रहरी उपरीक्षक खड्काले दरबन्दीभन्दा कम जनशक्ति हुँदाहुँदै पनि उपलब्ध जनशक्तिबाट प्रहरी संगठन सक्रिय रहेको जानकारी दिए । उठेका जिज्ञासालाई सम्बोधन गर्न प्रहरी प्रशासन सबैसँग साझेदार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले हालसम्मका कामको जानकारी पनि गराए।

प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक निशान थापाले नागरिकका जिज्ञासालाई प्रहरी सेवा सुधारका लागि उपयोगी हुने औल्याउँदै गस्ती र सूचना सङ्कलन प्रभावकारी बनाउने, जोखिमयुक्त स्थानमा निगरानी बढाउने र नागरिकको सूचनामा छिटो प्रतिक्रिया जनाउने प्रतिबद्धता उनले जनाए।लागुऔषधमा कारबाहीसँगै रोकथाम र सचेतना पनि उत्तिकै महत्त्वपूर्ण भएको र सीसी क्यामेराको अवस्थाबारे वडासँग समन्वय गरी नियमित जाँच गर्न सकिने उनले बताए।

वडा अध्यक्ष प्रधानले नागरिकका प्रश्नलाई गुनासोका रूपमा होइन, वडाको प्राथमिकता तय गर्ने मार्गदर्शनका रूपमा लिइएको बताए । वडाबाट ८० प्रतिशत भन्दा बढी सडकहरु पुर्ण गरिएको बताउदै बाँकी रहेका कच्ची सडक चरणबद्ध रूपमा पूर्ण गर्दै लैजाने,सडकबत्ती नपुगेका टोलको पहिचान गरी व्यवस्थापनलाई प्राथमिकता दिने र बजेट बाँडफाँट खुला तथा सहभागितामूलक बनाउने उनको भनाइ थियो । मापदण्डविपरीत निर्माण र सार्वजनिक जग्गा अतिक्रमणमा नियमन कडा बनाउँदै सार्वजनिक सम्पत्ति संरक्षणलाई साझा दायित्वका रूपमा अघि बढाइने उनले जानकारी दिए। प्रदूषण र इँटा भट्टाको विषयमा सम्बन्धित व्यवसायीसँग छलफल र मापदण्ड पालनाको अनुगमन गरिने, तर गति नियन्त्रण, सीसी क्यामेरा र लागुऔषधजस्ता विषयमा वडाको एक्लो प्रयासले मात्र नपुग्ने भएकाले प्रहरी, विद्यालय र अभिभावकसँगको सहकार्य आवश्यक रहेको उनको जोड थियो।

प्रहरी सेवाबारे खुला बहस, नागरिकका राय–सुझावको सङ्कलन, प्रहरी–नागरिक विश्वास सुदृढीकरण र अपराध नियन्त्रणमा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्ने आजको कार्यक्रमको मुख्य लक्ष्य रहेको प्रहरी प्रभाग दुवाकोटका प्रमुख प्रहरी नायब निरीक्षक खिल बहादुर दुलालले अवगत गराए ।

कार्यक्रममा पुर्व वडा अध्यक्ष शिवहरी केसी, जनप्रतिनिधि उमेश प्रधान, प्रेम खत्री र राधा माकाजु,वडा नं. १/२ का विद्यालयका प्रतिनिधि र विद्यार्थी तथा स्थानीय सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रम सामाजिक अभियन्ता नवराज काफ्लेले सञ्चालन गरे । उठेका जिज्ञासाप्रति प्रहरी प्रशासन र वडाले देखाएको तदारुकतामा धन्यवाद ज्ञापन गर्दै अभियन्ता काफ्लेले सबैको सक्रियता, साथ र सहयोगबाट मात्र यी सवाल सहज रूपमा समाधान गर्न सकिने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *