भक्तपुरमा फैसला कार्यान्वयनका फरार ६ जना पक्राउ

भक्तपुर, कात्तिक १८। जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनका क्रममा फरार रहेका ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न मुद्दामा फैसला कार्यान्वयनका लागि फरार रहेका ६ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ पर्नेहरूमध्ये चेक अनादर मुद्दाका तीन जना, अभद्र व्यवहार मुद्दाका दुई जना र बैंकिङ कसुर मुद्दाका एक जना रहेका छन्।

प्रहरीले चेक अनादर मुद्दामा तीन जनाबाट ३ हजार रुपैयाँ र अभद्र व्यवहार मुद्दामा दुई जनाबाट ६ हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने जनाएको छ। त्यस्तै, बैंकिङ कसुर मुद्दामा पक्राउ परेका एक जनालाई पाँच दिन कैद र २२ हजार ५०० रुपैयाँ जरिवानाको फैसला भएको थियो।

तीनवटै मुद्दामा गरी पाँच दिन कैद र ३१ हजार ५०० रुपैयाँ जरिवाना भुक्तान गर्नुपर्ने फैसला कार्यान्वयनका लागि पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *