ख्वप बचतको नवनिर्मित सहकारी भवन उद्घाटन सम्पन्न

भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को १९औँ स्थापना दिवस तथा नवनिर्मित सहकारी भवन उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव का. प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष राजकुमार लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुवालले रसुवा र नुवाकोटमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको बताउनुभयो। बाढीपहिरोका कारण सडक तथा भौतिक संरचनामा ठूलो क्षति हुनुका साथै धेरै नागरिकको मृत्यु र बेपत्ता भएको उहाँले उल्लेख गर्नुभयो।

बाढीपहिरो तथा प्राकृतिक विपत्तिको प्रमुख कारणमध्ये पृथ्वीको तापक्रम बढ्नु पनि रहेको बताउँदै सुवालले अव्यवस्थित रूपमा घर, सडक तथा अन्य भौतिक संरचना निर्माण गर्दा वातावरणमा असर परेको धारणा व्यक्त गर्नुभयो। हिमाली क्षेत्रमा हिउँ पग्लिँदै जाँदा हिमालका चट्टान तथा ढुंगा देखिन थालेको र त्यसले थप जोखिम निम्त्याउन सक्ने उहाँले बताउनुभयो।

उहाँले विपद्का बेला समयमै सूचना प्राप्त गरी सुरक्षित स्थानमा जानुपर्नेमा जोड दिँदै जोखिमको समयमा फोटो तथा सेल्फी खिचेर बस्ने प्रवृत्तिले समेत मानवीय क्षति बढाउन सक्ने बताउनुभयो। विद्यालयमा प्रार्थना गरिरहेका विद्यार्थी तथा शिक्षकहरूले समयमै सूचना पाएर होसियारी अपनाउँदा ठूलो दुर्घटनाबाट जोगिन सफल भएको उदाहरणसमेत उहाँले प्रस्तुत गर्नुभयो।

नेमकिपाले बाढीपहिरोबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा बेपत्ताको शीघ्र खोजी गर्न सरकारसँग माग गर्दै विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको उहाँले बताउनुभयो।

सहकारीको प्रसङ्गमा सुवालले सहकारीमा नेतृत्व गर्ने व्यक्ति निडर, निस्वार्थ र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो। संस्थाको आर्थिक कारोबार पारदर्शी भए सदस्यहरूमा संस्थाप्रतिको विश्वास अझ बढ्ने उहाँको भनाइ थियो। नेपाल मजदुर किसान पार्टी कामदार वर्गलाई शासक वर्गमा पु¥याउने उद्देश्यले स्थापना भएको र निस्वार्थ रूपमा जनताको सेवा गर्ने उद्देश्य पार्टीको रहेको उहाँले बताउनुभयो।

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुरमा रहेका सहकारी संस्थाहरूको नगरपालिकाले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो। उहाँले नगरपालिकाले अक्सिजन तथा रगत निःशुल्क वितरणलगायतका सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

भक्तपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हरिराम सुवालले सहकारी संस्था विधि, विधान र नियमअनुसार सञ्चालन भए समस्या नआउने बताउनुभयो।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जगन्नाथ प्रजापतीले भक्तपुरमा रहेका सहकारी संस्थाहरू नेपालमै उत्कृष्ट रहेको बताउनुभयो।

ख्वप साकोसका संस्थापक अध्यक्ष कुमार लघुले सहकारीमा सबै सदस्यको हक तथा अधिकार समान हुने बताउनुभयो।

त्यस्तै, नेमकिपा वडा नं. २ का इन्चार्ज गणेशप्रसाद सुवालले भाद्र ९ को भक्तपुर काण्डका कारण धेरैले दुःख, कष्ट तथा जेलनेल भोग्नुपरेको स्मरण गर्नुभयो।

संस्थाका अध्यक्ष राजकुमार लघुले संस्थाको आर्थिक अवस्थाबारे जानकारी दिँदै नवनिर्मित भवनले संस्थाप्रति सदस्यहरूको विश्वास अझ वृद्धि हुने बताउनुभयो।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष लक्ष्मी नारायण सुवाल तथा सचिव अमर बासुकलाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा ख्वप साकोस धा बाजा समूह तथा ख्वप बचत बाँसुरी बाजा र भ्वाइलेन समूहले विभिन्न मधुर धुन प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *