आधारभूत तह (कक्षा १–३) को एकीकृत पाठ्यक्रमसम्बन्धी पाँच दिने तालिम सुरु

भक्तपुर, असोज २० आधारभूत तह (कक्षा १–३) मा कार्यरत शिक्षकहरूको क्षमता अभिवृद्धि तथा एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले एकीकृत पाठ्यक्रमसम्बन्धी पाँच दिने तालिम आजदेखि भक्तपुरमा सुरु भएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरका प्रमुख सरिता देवी शर्माले एकीकृत पाठ्यक्रमको सफल कार्यान्वयनमा शिक्षकको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले शिक्षक केवल पाठ पढाउने व्यक्ति नभई बालबालिकाको सिकाइलाई सहजीकरण गर्ने, उनीहरूको क्षमता पहिचान गर्ने र सिकाइका अवसर सिर्जना गर्ने सहजकर्ता, मार्गदर्शक र प्रेरणाको स्रोत बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो- तालिमबाट प्राप्त उपलब्धिले आधारभूत तह कक्षा १–३ मा लागू भएको एकीकृत पाठ्यक्रमको आवश्यकता, उद्देश्य, महत्त्व, विषयवस्तुको अन्तरसम्बन्ध तथा कक्षाकोठामा यसको प्रभावकारी प्रयोगबाट समग्र रुपमा बालबालिकाको शैक्षिक विकास हुन्छ।

कार्यक्रममा सहजीकरणका लागि पहिलो दिन  पाठ्यक्रम तथा मूल्याङ्कनसँग सम्बन्धित क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका ERO का निर्देशक युवराज अधिकारी  एकीकृत पाठ्यक्रमले बालबालिकाको सिकाइलाई विषयगत सीमाभन्दा माथि उठाई उनीहरूको ज्ञान, सीप, व्यवहार, सिर्जनशीलता, समस्या समाधान क्षमता र जीवनोपयोगी सीपको समग्र विकासमा जोड दिने बताउनुभयो। एकीकृत पाठ्यक्रम बालबालिकाको उमेर, रुचि, आवश्यकता र दैनिक जीवनसँग सिकाइलाई जोड्ने महत्वपूर्ण माध्यम भएकाले यसको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता भएकोमा जोड दिइएको छ। कक्षा १–३ का बालबालिकाको सिकाइलाई सहज, रमाइलो, व्यवहारिक र बालमैत्री बनाउन विषयहरूबीचको अन्तरसम्बन्ध पहिचान गरी क्रियाकलापमा आधारित तथा विद्यार्थीकेन्द्रित शिक्षण सिकाइ प्रक्रिया सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ। यस तालिमले शिक्षकहरूलाई पाठ्यक्रमको उद्देश्यअनुसार  विषयवस्तुको एकीकरण, सिकाइ सहजीकरणका विविध विधि, शिक्षण सामग्रीको प्रयोग, कक्षाकोठा व्यवस्थापन तथा निरन्तर विद्यार्थी मूल्याङ्कन लगायतका पक्षमा व्यावहारिक ज्ञान र सीप प्रदान गर्दै एकीकृत रुपमा पाठयोजना निर्माण गर्ने विषयको समेत जानकारी गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षा शाखा अधिकृत सिर्जना ढकालले गर्नुभएको थियो। उहाँले शिक्षकहरूको निरन्तर व्यावसायिक विकास र क्षमता अभिवृद्धिबाट मात्र पाठ्यक्रमको अपेक्षित उद्देश्य हासिल गर्न सकिने बताउँदै तालिमलाई उपलब्धिमूलक र व्यवहारमुखी बनाउन सहभागी शिक्षकहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो। पाँच दिने यस तालिमले शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमको सैद्धान्तिक ज्ञानसँगै कक्षाकोठामा प्रयोग गर्न सकिने व्यावहारिक सीप र रणनीति प्रदान गर्ने विश्वास गरिएको छ। तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई विद्यालयमा प्रयोग गर्दै बालबालिकाको सिकाइ उपलब्धि वृद्धि, सिकाइप्रति रुचि अभिवृद्धि र बालमैत्री शिक्षण वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। उक्त तालिममा भक्तपुर जिल्लाका चारै वटा नगरपालिकाबाट जम्मा २५ जना शिक्षकहरु सहभागी भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *