भक्तपुरको जगातीदेखि –रत्नपार्कसम्म मेट्रो रेल सञ्चालनको तयारी

भक्तपुर–रत्नपार्क खण्डमा मेट्रो रेल सञ्चालनबारे छलफल
२०७९ कार्तिक १७
काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित भक्तपुरको जगातीदेखि –रत्नपार्कसम्म मेट्रो रेल सञ्चालनसम्बन्धी छलफल कार्यक्रम आज भनपा सभाकक्षमा सम्पन्न भयो ।
प्रस्तावित मेट्रो रेल प्रणालीले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनमा पार्न सक्ने प्रभाव, यातायात सेवालाई सहज बनाउने सम्भावना तथा वातावरणीय पक्षलाई ध्यानमा राखेर प्रस्ताव अघि बढाउने विषयमा छलफल केन्द्रित थियो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा मेट्रो रेल सञ्चालन गर्ने योजना सकारात्मक भए पनि त्यसको सम्भाव्यता अध्ययन विस्तृत रूपमा गर्नुपर्ने बताउनुभयो ।
उहाँले देशको ऋण भार ३० खर्ब रुपैयाँ पुगेको सन्दर्भ उल्लेख गर्दै यस्ता ठूला योजनाको बजेट व्यवस्थापन, खर्चको पारदर्शिता र योजना सम्पन्न हुने समयसीमा स्पष्ट हुनुपर्ने बताउनुभयो ।
उहाँले मेट्रो रेल योजना देशका कुन–कुन स्थानमा सञ्चालन गर्ने, त्यसबाट आउन सक्ने सम्भावित समस्या के–के हुन् र तिनको समाधान कसरी गर्ने भन्ने विषयमा समेत अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । लामो दूरीमा मेट्रो रेल सञ्चालन गर्ने विषयमा पनि स्पष्ट योजना आवश्यक रहेको उहाँको भनाइ थियो ।
प्रमुख प्रजापतिले योजनालाई अघि बढाउनुअघि संघ, प्रदेश र स्थानीय सरकार, सरोकारवाला निकायबीच छलफल गर्नुपर्ने बताउँदै आपसी सहमति र समन्वयको क्षेत्र र भूमिका स्पष्ट पार्नुपर्ने उल्लेख गर्नुभयो ।
रत्नपार्कदेखि भक्तपुरसम्म ११ वटा स्टेसन प्रस्ताव गरिएको र भक्तपुरमा मात्रै तीनवटा स्टेसन राख्ने योजनाबारे चर्चा गर्दै उहाँले छोटो दूरीमा धेरै स्टेसन आवश्यक पर्ने वा नपर्ने विषयमा पनि अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा समाजशास्त्रीय अध्ययन टोलीका चन्द्रकान्त लौडारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का विज्ञ टोलीका सदस्य हायातो कोबायासीले परियोजनाबारे संक्षिप्त जानकारी दिनुभएको थियो । वातावरणविद् अध्ययन टोलीका लोकेश सापकोटाले परियोजनासम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
उपस्थित जनप्रतिनिधिहरूले प्रस्तावित भक्तपुर–रत्नपार्क मेट्रो रेल योजनाबारे विभिन्न जिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *