योगको महत्त्व, दार्शनिक पक्ष तथा मानव जीवनमा पर्ने सकारात्मक प्रभावबारे प्रकाश

पतञ्जली योग समिति भक्तपुरकाे ६४औँ सहयोगी योग शिक्षक तालिम सम्पन्न, प्रशिक्षार्थीलाई दीक्षान्त

भक्तपुर, ७ मङ्सिर । पतञ्जली योग समितिअन्तर्गत भक्तपुर जिल्लामा सञ्चालित १५ दिने ६४औँ सहयोगी योग शिक्षक तालिम सम्पन्न भएको छ । तालिम पूरा गरेका प्रशिक्षार्थीलाई साेमबार भक्तपुरमा आयोजित एक कार्यक्रमबीच दीक्षान्त गरिएको छ ।

पतञ्जली योग समिति भक्तपुर जिल्लाको आयोजना तथा महिला पतञ्जली योग समिति भक्तपुरको सहकार्यमा सञ्चालित तालिम पतञ्जली भक्तपुर नगर योग समिति र महिला पतञ्जली भक्तपुर नगर योग समितिको व्यवस्थापनमा र पतञ्जली योग समिति भक्तपुरका सङ्गठन सचिव केशवराज गजुरेलको संयोजकत्वमा सम्पन्न भएको हो । गत असोज १३ देखि २७ गतेसम्म भक्तपुरको महाकाली योग साधना केन्द्रमा तालिम सञ्चालन गरिएको थियो ।

आयोजित दीक्षान्त समारोहमा बागमती प्रदेश प्रभारी गुरु ग्रोविन तजले प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएकाे थियाे । उहाँले योगको महत्त्व, यसको दार्शनिक पक्ष तथा मानव जीवनमा पर्ने सकारात्मक प्रभावबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो । उहाँले योगलाई शारीरिक व्यायाममा मात्र सीमित नराखी शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्ने जीवनपद्धतिका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले भक्तपुरमा याेगकाे हब बनाउन साधक साधिकाहरू लागिपर्नुपर्ने बताउँदै छिटैनै स्वर्ण समूह अर्थात सय सहयोगी योग शिक्षक तालिममा छिटै पुग्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै भक्तपुर नगर योग समितिका अध्यक्ष पूर्णबहादुर मगरले योगलाई नियमित जीवनशैलीका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । योगले शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, अनुशासन र सकारात्मक सोचको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा पतञ्जली योग समितिका सचिव कृष्णराम गणेश, भक्तपुर जिल्ला अध्यक्ष रामप्रसाद घिमिरे, महिला पतञ्जली योग समिति भक्तपुरकी अध्यक्ष सुनिता श्रेष्ठ, महिला भक्तपुर नगर योग समितिकी अध्यक्ष सानु मानन्धर, निवर्तमान अध्यक्ष नित्यनाथ श्रेष्ठ, विरेन्द्रकाजी प्रधानाङ्ग र रामकृष्ण चवाललगायतको उपस्थिति थियो साथै जिल्लाका विभिन्न योग साधना केन्द्रका संयोजकहरूको समेत सहभागिता रहेको थियो ।

योगको ज्ञान र अभ्यासलाई समाजका हरेक तहसम्म पुर्‍याउन प्रशिक्षित योग शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने सङ्गठन सचिव केशवराज गजुरेलले धारणा राखेका थिए । उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै विभिन्न योग साधना केन्द्रमार्फत समुदायमा योग अभ्यास विस्तार गर्न सहभागीहरूलाई आग्रह गरिएको थियो ।

दीक्षान्त कार्यक्रमले भक्तपुर जिल्लामा योग अभियानलाई थप प्रभावकारी बनाउनुका साथै दक्ष योग शिक्षक उत्पादन र योग संस्कृतिको विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

६४औँ सहयोगी योग शिक्षक तालिम
पतञ्जली योग समिति भक्तपुर
महाकाली योग साधना केन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *