वन डढेलो नियन्त्रणसम्बन्धी फिल्ड अभ्यास तथा डेमो तालिम सम्पन्न

वन डढेलो रोकथामका लागि पूर्वतयारी, सुरक्षा र व्यावहारिक सीप विकासमा जोड

सिन्धुपाल्चोक | वन डढेलोको जोखिम न्यूनीकरण, पूर्वतयारी, सुरक्षा तथा समुदायस्तरमा वन संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्लामा वन डढेलो नियन्त्रणसम्बन्धी फिल्ड अभ्यास तथा डेमो तालिम सञ्चालन गरिएको छ। ForestAction Nepal को आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८ मा रहेको बन्जेकापासे सामुदायिक वन समूह, वडा नं. १३ मा रहेको भेडीगोठ सामुदायिक वन समूह तथा क्लस्टरभित्र रहेका देउराली श्रीछाप सामुदायिक वन समूह, बाजे बिसौना सामुदायिक वन समूह र संसारी सामुदायिक वन समूह मा उक्त तालिम तथा फिल्ड अभ्यास सञ्चालन गरिएको हो। तालिममा ForestAction Nepal का अनुसन्धानकर्ता मदन बस्यालले वन डढेलो नियन्त्रण, जोखिम पहिचान, डढेलो लाग्नुअघि अपनाउनुपर्ने सावधानी, पूर्वतयारी तथा वन संरक्षणका विषयमा प्रशिक्षण दिनुभएको थियो भने निसान बरालले तालिमको सहजीकरण गर्नुभएको थियो। फिल्डमा आधारित डेमो तथा व्यावहारिक अभ्यासमा हरित स्वयंसेवक संयोजक सिन्धुपाल्चोक शारदा प्रसाद चालिसेले वन डढेलो नियन्त्रणसम्बन्धी व्यवहारिक अभ्यास गराउनुभएको थियो। अभ्यासमार्फत वन डढेलोको जोखिम पहिचान, पूर्वतयारी, सुरक्षा सावधानी, आगो फैलिन नदिन अपनाउनुपर्ने उपाय तथा समुदायस्तरमा समन्वय गरी वन संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने विषयमा जानकारी गराइएको थियो। वन डढेलो लागिसकेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्न नदिनु नै सबैभन्दा प्रभावकारी उपाय हो। वन क्षेत्रमा नियमित निगरानी, सुख्खा पातपतिङ्गरको उचित व्यवस्थापन, जोखिमयुक्त स्थानको पहिचान, आवश्यक पूर्वतयारी, सुरक्षा सामग्रीको व्यवस्था तथा स्थानीय समुदायको सक्रिय सहभागिता वन डढेलो रोकथामका महत्वपूर्ण आधार हुन्। यस प्रकारको फिल्ड अभ्यास तथा डेमो तालिमले सामुदायिक वन समूह, हरित स्वयंसेवक र स्थानीय समुदायलाई वन डढेलो नियन्त्रणसम्बन्धी ज्ञान, सीप, आत्मविश्वास र सुरक्षा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। 🌿 वन जोगाऔँ, डढेलो रोकौँ। 🌱 हरियाली बचाऔँ, वातावरण जोगाऔँ।

डढेलो लाग्न नदिऔँ, वन र वन्यजन्तुको संरक्षण गरौँ।

शारदा प्रसाद चालिसे हरित स्वयंसेवक संयोजक, सिन्धुपाल्चोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *