भक्तपुर । श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाको आयोजनामा नवदुर्गा मन्दिर परिसरमा प्रशिक्षण कार्यक्रम तथा नवदुर्गा अःखः (नवदुर्गा नाच) प्रशिक्षण तालिमघर निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका–७ का अध्यक्ष उकेश कवांले मल्लकालभन्दा अघिदेखि सञ्चालन हुँदै आएको नवदुर्गा देवगण जात्रा मानव समाजलाई दिशाबोध गर्ने महत्वपूर्ण सांस्कृतिक परम्परा भएको बताउनुभयो। उहाँले नवदुर्गा देवगण जात्राको संरक्षण र संवर्द्धनका लागि भक्तपुर नगरपालिका सधैं तत्पर रहेको बताउनुभयो।
समुदायमा आधारित संस्कृति भएकाले नगरवासीको श्रद्धा, गोप्य तान्त्रिक पूजा तथा संस्कृतिलाई देवगणहरूले सभ्य र भव्य रूपमा जात्राका माध्यमबाट निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले नवदुर्गा देवगण जात्रासम्बन्धी अभिलेख तयार गरी प्रकाशन गर्नुका साथै पुस्तकालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र सांस्कृतिक पहिचानलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा काम गरिरहेको बताउँदै अध्यक्ष कवांले ऐतिहासिक पृष्ठभूमि बोकेको भक्तपुरलाई सभ्य र व्यवस्थित सहरका रूपमा विकास गरिँदै आएको उल्लेख गर्नुभयो। अष्टमातृका देवगणका मठमन्दिरबाट घेरिएको भक्तपुर ऐतिहासिक सहर भएकाले यसको सांस्कृतिक सम्पदा संरक्षणमा सबैको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो।
उहाँले नवदुर्गा नाचका लागि निर्माण हुने तालिमघरको निर्माण सम्पन्न भएपछि त्यसको संरक्षण र सदुपयोगमा देवगणहरूको महत्वपूर्ण भूमिका हुनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका अतिथि भक्तपुर नगरपालिकाका अध्यक्ष रविन्द्र ज्याख्वले नवदुर्गा जात्रा सभ्य संस्कृति तथा मानव समाजकै पहिचान भएको बताउनुभयो। उहाँले नेपालकै लामो सांस्कृतिक धरोहरका रूपमा रहेको नवदुर्गा जात्राको संरक्षणमा बनमाला तथा उजाजुहरूको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो।
भक्तपुरको कला तथा संस्कृति संरक्षणमा भक्तपुर नगरपालिका नेपालकै पहिलो नगरका रूपमा अघि बढिरहेको बताउँदै उहाँले यस वर्षको नवदुर्गा जात्राअन्तर्गत हुने खम्ये जात्रा पनि सभ्य र भव्य रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले असोज १९ गते सोमबार बिहान ८ बजे स्थानीय वडावासीहरूको भेला आयोजना हुने जानकारी दिनुभयो।
त्यसैगरी, यस वर्ष ब्रह्मायणी पीठ मन्दिर जीर्णोद्धार गर्ने योजना रहेको जानकारी दिँदै उहाँले नयाँ पुस्ताका देवगणहरूलाई सचेत, संयमित र जिम्मेवार भएर परम्परालाई अघि बढाउन आग्रह गर्नुभयो।
संस्थाका वरिष्ठ सल्लाहकार नारायणमान बनमालाले देवगण जात्रा र यसको महत्वबारे चर्चा गर्दै देवगणहरू सचेत र संगठित भएर जात्राको संरक्षण गर्नुपर्ने बताउनुभयो। उहाँले लोभ–लालचमा परी आफ्नो मौलिक अस्तित्व गुमाउने गतिविधिप्रति सचेत हुनुपर्नेमा जोड दिनुभयो।
संस्थाका अध्यक्ष बालगोपाल बनमालाको सभापतित्वमा भएको कार्यक्रममा राजकुमार बनमालाले स्वागत गर्नुभएको थियो। कार्यक्रममा बनमाला समाजका अध्यक्ष आशाकाजी बनमालाले अःखः निर्माणसम्बन्धी जानकारी दिनुभएको थियो।
कार्यक्रमको अन्त्यमा भक्तपुर नगरपालिका–७ नासःचाः मन्दिर पछाडिपट्टि अःखः (नवदुर्गा नाच नित्य प्रशिक्षण तालिमघर) निर्माणका लागि उपभोक्ता समिति गठन गरिएको छ। नगरपालिकाको आर्थिक सहयोगमा रु. २० लाखको लागतमा तालिमघर निर्माण सम्पन्न गर्ने गरी कार्यक्रम अघि बढाइएको जनाइएको छ।












Leave a Reply