परम्पराअनुसार चार महिनासम्म बाजा प्रशिक्षण प्रदान गरेपछि बाजा पिदानेगु (बाजा हस्तान्तरण तथा समापन) कार्यक्रम नास द्यो: चोछेंमा आयोजना गरिएको हो। कार्यक्रममा करिब ६० जना प्रशिक्षार्थी कलाकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बाँसुरी बाजाका प्रशिक्षक रविन कपाली र भ्वाइलेन्ट बाजाका प्रशिक्षक श्रीकृष्ण तुइतुइले प्रशिक्षार्थीहरूलाई बाजा सामग्री हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले सहकारी संस्थाले नियमित रूपमा विभिन्न प्रकारका परम्परागत तथा सांगीतिक बाजाहरूको प्रशिक्षण सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले गत वर्ष ३४ जना कलाकारलाई धा बाजाको प्रशिक्षण प्रदान गरिएको र यस वर्ष संस्थाको उद्देश्यअनुरूप शेयर सदस्यहरूलाई लक्षित गरी चारमहिने बाँसुरी तथा भायोलिन बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
त्यसैगरी, संस्थाका कोषाध्यक्ष तथा बाँसुरी बाजा प्रशिक्षण समितिका संयोजक लक्ष्मीनारायण सुवालले प्रशिक्षार्थी कलाकारहरूले सिकेका सीपलाई व्यवहारमा उतार्दै सांस्कृतिक तथा सामाजिक गतिविधिमा प्रयोग गर्न अनुरोध गर्नुभयो। उहाँले प्रशिक्षणमा सहभागी प्रशिक्षार्थी तथा प्रशिक्षण प्रदान गर्ने गुरुहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारी, लेखा समिति तथा विभिन्न समिति र उपसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
दीक्षान्त समारोहपछि प्रशिक्षित कलाकारहरूले आफूले सिकेको बाँसुरी तथा भ्वाइलेन्ट बाजा बजाइ नाचगान सहित ब्यासी, त्रिपुरासुन्दरी, टौमढी, दरबार स्क्वायर, इन्द्रायणी, सानोव्यासी, चोछें, महाकाली, महालक्ष्मी र थालाछें क्षेत्रसम्म प्रस्तुत गरेका थिए। यसले स्थानीय सांस्कृतिक गतिविधिमा थप उत्साह सिर्जना गरेको थियो।
कार्यक्रम पश्चात् प्रशिक्षार्थी कलाकारहरूले गुरु रविन कपाली र श्रीकृष्ण तुइतुइलाई बाजागाजासहित उहाँहरूको निवाससम्म पुर्याई सम्मानपूर्वक बिदाइ गरेका थिए।
संस्थाका अध्यक्ष राजकुमार लघुका अनुसार प्रशिक्षित कलाकारहरू तथा प्रशिक्षकलाई आगामी २०८३ पुष ४ गते आयोजना भएको संस्थाको १९औँ वार्षिक साधारणसभामा विशेष कार्यक्रम सहित सम्मान गरिने बताउनु भयो।












Leave a Reply