कोशी प्राइड लिगको टिम स्वामित्वका लागि बोलपत्र आह्वान, पाँच वर्षको फ्रेन्चाइज अधिकार लिन सकिने

कोशी प्राइड लिग (KPL) ले टिम स्वामित्व तथा फ्रेन्चाइज अधिकारका लागि बोलपत्र आह्वान गरेको छ। कोशी प्राइड लिग (KPL) आयोजक K.P.L. Group Pvt. Ltd. ले योग्य कम्पनी, व्यवसायिक समूह तथा संघसंस्थालाई प्रतिस्पर्धात्मक प्रक्रियामार्फत टिम स्वामित्वका लागि आवेदन दिन आह्वान गरेको हो।

KPL ले सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक कम्पनी तथा संस्थाले पाँच वर्षका लागि टिम स्वामित्व/फ्रेन्चाइज अधिकार प्राप्त गर्न बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्रसम्बन्धी नियम तथा आवेदन फाराम प्राप्त गर्न रु. १० हजार गैर–फिर्ता हुने शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

इच्छुक आवेदकले अनलाइनमार्फत आवेदन तथा बोलपत्रसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्नेछ। बोलपत्र बुझाउने अन्तिम मिति १४ सेप्टेम्बर २०२६ राति ११ः५९ बजे तोकिएको छ।

यद्यपि, बोलपत्र पेश गर्नु र शुल्क भुक्तानी गर्नु मात्रले KPL टोली प्राप्त हुने ग्यारेन्टी भने नहुने आयोजकले जनाएको छ। प्राप्त बोलपत्रको मूल्यांकनपछि टोली मालिकको अन्तिम छनोट तथा टोली बाँडफाँट KPL बोर्डले गर्नेछ।

KPL का अनुसार यो अवसरले व्यवसायिक समूह तथा ब्रान्डहरूलाई क्रिकेटसँग प्रत्यक्ष रूपमा जोडिँदै खेलकुद व्यवसायमा दीर्घकालीन लगानी र ब्रान्ड विस्तार गर्ने अवसर प्रदान गर्नेछ।

कोशी प्राइड लिगले कोशी प्रदेशमा क्रिकेट विकास र ग्रासरुट कार्यक्रमलाई मजबुत बनाउने उद्देश्यका साथ टुर्नामेन्ट आयोजना गर्दै आएको छ। KPL ले सिजन १ र सिजन २ सफलतापूर्वक आयोजना गरिसकेको छ भने भर्खरै KPL कप को समेत सफल आयोजना गरेको छ।

इच्छुक कम्पनी, व्यवसायिक समूह तथा संस्थाले आवेदन र बोलपत्रसम्बन्धी विस्तृत जानकारी KPL को आधिकारिक वेबसाइट web.kplt20.org बाट प्राप्त गर्न सक्नेछन्। थप जानकारीका लागि info@kplt20.org मा सम्पर्क गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *