लुम्बिनी पिस अवार्डका अध्यक्ष आर.के. शाक्य र म्यानमारका राजदूत यू थान्त सिनबीच भेटवार्ता

पूर्व महासचिव यू थान्तको लुम्बिनी योगदानको कदर गर्दै लुम्बिनी पिस अवार्डका लागि मनोनयन गर्ने प्रस्ताव

काठमाडौं, ४ सेप्टेम्बर २०२६। नेपालका लागि म्यानमारका राजदूत महामहिम यू थान्त सिनले लुम्बिनी पिस अवार्डका अध्यक्ष आर.के. शाक्यसहितको टोलीसँग म्यानमार दूतावास, काठमाडौंमा भेटवार्ता गर्नुभएको छ।

दूतावासमा शुक्रबार बिहान १०ः३० बजे भएको भेटमा लुम्बिनी पिस अवार्डका अध्यक्ष आर.के. शाक्य, रामचन्द्र मानन्धर, डा. अम्बिका गुरूमा तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

भेटका क्रममा अध्यक्ष शाक्यले लुम्बिनी पिस अवार्डको परिचय, उद्देश्य, शान्ति अभियान, हालसम्मका गतिविधि तथा भावी कार्ययोजनाबारे महामहिम राजदूतलाई जानकारी गराउनुभएको थियो। साथै नेपाल–म्यानमारबीचको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै शान्ति, मैत्री र सहकार्यका क्षेत्रमा आदानप्रदान बढाउने विषयमा पनि छलफल भएको थियो।

यू थान्तलाई लुम्बिनी पिस अवार्ड प्रदान गर्ने प्रस्ताव

भेटवार्ताको महत्वपूर्ण विषयका रूपमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव यू थान्तलाई लुम्बिनी पिस अवार्डका लागि मनोनयन गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो।

म्यानमारका यू थान्त सन् १९६१ देखि १९७१ सम्म संयुक्त राष्ट्रसंघका महासचिव रहनुभएको थियो। उहाँ संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो एसियाली महासचिवका रूपमा पनि इतिहासमा स्थापित हुनुहुन्छ।

अध्यक्ष शाक्यका अनुसार, लुम्बिनीलाई विश्वको प्रमुख बौद्ध तीर्थस्थल तथा विश्वशान्तिको प्रतीकका रूपमा विकास गर्ने अन्तर्राष्ट्रिय अभियानमा यू थान्तको ऐतिहासिक योगदानलाई उचित रूपमा स्मरण र सम्मान गर्न आवश्यक छ।

यू थान्तले सन् १९६७ मा लुम्बिनी भ्रमण गरी तत्कालीन राजा महेन्द्रसँग लुम्बिनीको विकासका विषयमा छलफल गर्नुभएको थियो। त्यसपछि लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थल तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने अवधारणाले गति लिएको लुम्बिनी विकास कोषको आधिकारिक विवरणमा उल्लेख छ।

त्यसैको निरन्तरतामा लुम्बिनीको योजनाबद्ध विकासका लागि जापानका प्रसिद्ध वास्तुकार प्रा. केन्जो टाङ्गेलाई मास्टर प्लान तयार गर्ने जिम्मेवारी दिइएको थियो। टाङ्गेको मास्टर प्लान सन् १९७८ मा नेपाल सरकारबाट स्वीकृत भएको थियो।

अध्यक्ष शाक्यले भन्नुभयो, “आज विश्वभरबाट लाखौँ मानिस शान्ति र बुद्धको सन्देशका लागि लुम्बिनी आउने वातावरण निर्माण हुनुमा तत्कालीन राजा महेन्द्र र पूर्व संयुक्त राष्ट्रसंघ महासचिव यू थान्तको योगदानलाई इतिहासले उचित रूपमा मूल्याङ्कन गर्नुपर्छ।”

उहाँका अनुसार लुम्बिनीको विकासको प्रारम्भिक अन्तर्राष्ट्रिय सोच, त्यसपछिको मास्टर प्लान र हाल विकसित हुँदै गएको लुम्बिनीलाई एउटै ऐतिहासिक कडीका रूपमा हेर्नुपर्ने आवश्यकता छ।

नेपाल–म्यानमार सम्बन्ध र सहयोगमा जोड

भेटमा नेपाल र म्यानमारबीचको पुरानो धार्मिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई अझ गहिरो बनाउने, दुई देशबीच शान्ति, पर्यटन, संस्कृति तथा सामाजिक क्षेत्रमा सहयोग र अनुभव आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो।

यसै क्रममा नेपालमा हालै आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकप्रति म्यानमारले उपलब्ध गराएको राहत तथा सहयोगका लागि लुम्बिनी पिस अवार्डका तर्फबाट धन्यवाद तथा सम्मान व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागी पदाधिकारीहरूले पनि नेपाल–म्यानमार सम्बन्ध, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्व तथा आगामी सहकार्यका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

पूर्णिमा श्रेष्ठलाई म्यानमारका हिमाल आरोहणको निम्तो/सल्लाह

भेटवार्तामा विश्वप्रसिद्ध नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठको साहसिक पर्वतारोहण यात्राको प्रसंगसमेत उठेको थियो। उहाँले छोटो अवधिमा पटक–पटक सगरमाथा आरोहण गरी उल्लेखनीय कीर्तिमान कायम गर्नुभएको सन्दर्भमा महामहिम राजदूत यू थान्त सिनले म्यानमारका हिमालहरू आरोहण गर्न तथा नेपाल र म्यानमारबीच पर्वतारोहण तथा पर्यटनसम्बन्धी सम्बन्ध विस्तार गर्न सुझाव तथा प्रोत्साहन दिनुभएको थियो।

यसले दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धसँगै पर्वतीय पर्यटन र साहसिक पर्यटनका क्षेत्रमा समेत सहकार्यको सम्भावना देखाएको सहभागीहरूले बताएका छन्।

लुम्बिनी पिस अवार्डको भावी अभियान

अध्यक्ष शाक्यले लुम्बिनी पिस अवार्डलाई नेपालमा मात्र सीमित नराखी विश्वशान्ति, बुद्धको करुणा, अहिंसा, मैत्री र मानवताको सन्देश विश्वभर फैलाउने अन्तर्राष्ट्रिय अभियानका रूपमा अघि बढाउने योजना प्रस्तुत गर्नुभएको थियो।

संस्थाले आगामी दिनमा शान्ति अभियान, अन्तर्राष्ट्रिय व्यक्तित्व तथा संस्थासँग सहकार्य, युवा तथा ज्येष्ठ नागरिक सहभागिता, बौद्ध दर्शन र विश्वशान्तिसम्बन्धी कार्यक्रम तथा नेपाल–म्यानमारलगायत विभिन्न मुलुकसँग सांस्कृतिक र मानवीय आदानप्रदानलाई प्राथमिकता दिने जनाएको छ।

म्यानमार दूतावासले पनि आफ्नै सार्वजनिक सूचनामार्फत आर.के. शाक्य र लुम्बिनी पिस अवार्डको टोलीसँग भएको भेटमा शान्ति अभियानका गतिविधि तथा कार्यक्रमबारे छलफल भएको र पूर्व महासचिव यू थान्तलाई लुम्बिनी पिस अवार्डका लागि मनोनयन गर्ने प्रस्तावमाथि चर्चा भएको जनाएको छ।

यस भेटवार्तालाई नेपाल–म्यानमारबीचको मैत्रीपूर्ण सम्बन्ध, लुम्बिनीको अन्तर्राष्ट्रिय शान्ति सन्देश र पूर्व महासचिव यू थान्तको ऐतिहासिक योगदानलाई पुनः विश्वसामु उजागर गर्ने महत्वपूर्ण पहलका रूपमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *