भक्तपुरका राजा जगज्योतिर्मल्लले विसं १६८७ (नेसं ७५०) मा बनाउन लगाएका हुन्– भक्तपुरको रानीपोखरी अर्थात् न्हु पुखु । भक्तपुर सहरको पश्चिमतर्फको गढपर्खाल र ढोकाबाहिर त्यसअघि नै तीन वटा पोखरी थिए– सिद्धपोखरी अर्थात् तःपुखु (विसं ११७६), गुह्यपोखरी अर्थात् नःपुखु (विसं १२२६) र भाज्या पुखु । इतिहासका जीवित साक्षी यी पोखरीले आजसम्म शान्त रूपमा भक्तपुरको परिचय दिइरहेका छन् । भक्तपुर घुम्न पुग्ने जोकोही पर्यटक यी पोखरीको डिलमा टेकेकै हुन्छन् । भक्तपुरका पाटी, पौवा, सत्तल, धर्मशाला, धारा, पोखरी, मठ, मन्दिर, चैत्य, विहार, दाफाभजन, जात्रा र यहाँका परिकार जस्ता भौतिक तथा अभौतिक सम्पदाले पर्यटकलाई लोभ्याइरहन्छ; तथापि यस्ता सम्पदाको संरक्षण त्यसै भएको होइन । प्राचीन सहरको झल्को दिने गरी पर्यटक लोभ्याइरहने भक्तपुरको यो पृष्ठभूमिमा राजनीतिक नेतृत्वको दूरगामी सोच, चिन्तन र त्यसको कार्यान्वयन मुख्य रूपमा छ । ‘सय वर्षपछिको भक्तपुर’ भन्ने किताबमा नारायणमान बिजुक्छें ‘रोहित’ ले भक्तपुरको सम्पदा र संस्कृतिको मार्गदर्शन प्रस्ट दिनुभएको पाइन्छ । सँगसँगै त्यस्तो सोचलाई साथ दिने, होस्टेमा हैँसे गर्ने सम्पदाप्रेमी नागरिक भक्तपुरमा छन् । यहाँका सम्पदालाई नागरिकले आफ्नो अभिन्न जीवन, पुर्खाको नासो र भावी पुस्ताका लागि अमूल्य उपहार ठानेका छन् । यही बिउपुँजीले नै भक्तपुरले सम्पदा संरक्षणमा एउटा नमुना स्थापित गरिरहेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति भन्नुहुन्छ, “भक्तपुर पुनर्निर्माणका लागि ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक मार्गदर्शन हो ।” सोही मार्गदर्शन अनुसार विसं २०५४ देखि नै भक्तपुर नगरपालिकाले कला, संस्कृति, शिक्षा, स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा योजनाबद्ध अभियान थालेको देखिन्छ ।
फेरि रानीपोखरीको प्रसङ्ग यहाँ जोड्नु आवश्यक छ । इतिहासतिर फर्कंदा भक्तपुर र कान्तिपुरका मल्ल राजाबिच सौहार्द सम्बन्ध थिएन । कान्तिपुरका राजा प्रताप मल्लले विसं १७१८ मा ललितपुरको समेत साथ पाएर भक्तपुरको उत्तरी किल्लाका रूपमा रहेको महाकालीपीठसम्म आफ्नो अधिकारक्षेत्रमा राखेका थिए । भक्तपुरभित्र पस्न नसकेको झोँकमा किल्लाबाहिरका सम्पदा प्रताप मल्लका सेनाले भत्काइदिएको इतिहासमा पाइन्छ ।

गहिरा खाई र अग्ला पर्खालले घेरिएको भक्तपुर पस्ने हिम्मत प्रताप मल्लले गरेनन् तर उनले भक्तपुरको रानीपोखरीलाई बिगारी सुनका नागसमेत उठाएर लगी हनुमानढोकाको दरबार सजाएको इतिहासमा उल्लेख छ । यसरी बिगारिएको पोखरीलाई राजा जितामित्र मल्लले विसं १७३५ मा जीर्णोद्धार गरेका थिए ।
भक्तपुरको यो सम्पदाक्षेत्र विसं २०४० तिर सैनिक हकभोगका लागि दिइएको थियो । सोही इलाकाभित्र ऐतिहासिक रानीपोखरी, स्थानीयका कुलदेवता (दिगु द्यः) थिए । सेनाको अनुमति लिएर स्थानीयले त्यस इलाकाभित्र प्रवेश पाउँथे । लामो समयसम्म यसरी नै सम्पदाक्षेत्र नागरिकको सहज पहुँचबाहिर रहेर बेखबर बन्यो । भक्तपुरमा रानीपोखरी छ भन्दा धेरैले आश्चर्य मान्ने अवस्थासमेत थियो । विसं २०७२ को संविधान जारीपछि भक्तपुर नगरपालिकाको प्रमुख सुनिल प्रजापति हुनुभयो । उहाँले नगरपालिकाको नेतृत्व लिनुभएपछि नेपाली सेनासँग संवाद, छलफल गरी गुमनाम अवस्थामा रहेको रानीपोखरीलाई भक्तपुर नगरपालिका अन्तर्गत नागरिकको पहुँचमा ल्याउने काम भयो । त्यसपछि उक्त पोखरीको पुनर्निर्माण विसं २०७६ मा थालिएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार विसं २०७२ देखि २०८३ साउनसम्म १८५ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न गरिएको छ । केही पुनर्निर्माणकै चरणमा पनि छन् । पुनर्निर्माण सम्पन्न भएकामध्ये मन्दिर ४५, पाटी ६७, द्योछेँ १४, प्रवेशद्वार चार, पोखरी १४, इनार नौ, सत्तल नौ, ढुङ्गेधारा १० र अन्य सम्पदा १३ वटा छन् । ‘भक्तपुरका पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने अभियान भक्तपुरमा सार्थक भएको देखिन्छ । एक अध्ययन अनुसार भक्तपुर नगरपालिकाका १० वटा वडामा ५० भन्दा बढी सानाठुला पोखरी छन् । त्यस्तै ३६४ वटा पाटी छन् । भक्तपुर दरबारक्षेत्र आसपास मात्र २२ वटा पुराना ढुङ्गेधारा छन् । भक्तपुर नगरपालिका क्षेत्रमा करिब ८५ वटा जति ढुङ्गेधारा रहेको तथ्याङ्क पाइन्छ । भक्तपुरको नगरक्षेत्रमा एक सयभन्दा बढी इनार रहेका थिए । अहिले पनि ४० प्रतिशत इनार प्रयोगमा रहेको आकलन छ । प्रयोगमा नभएका इनार पनि संरक्षण गरिराखिएको छ । सम्पदा संरक्षणमा अविचलित प्रयासले नै हो, भक्तपुरको चाँगुनारायण र भक्तपुर दरबार स्क्वायर विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।
सम्पदा संरक्षण आफ्नै बलबुतामा
नेपाली मठमन्दिर, चैत्य र वास्तुकलाबारे विश्वलाई चिनाउने जर्मन नागरिक वास्तुविद् निल्स गुत्सोले भन्नुभएको छ, “भक्तपुर संसारकै ठुलो लाइभ म्युजियम हो ।” भक्तपुर घुमेपछि प्रश्न उठ्न सक्छ– मल्लकालीन सम्पदालाई सताब्दिऔँसम्म पनि जस्ताको तस्तै राख्न कसरी सम्भव हुन्छ ? हो, यस्तै प्रश्न बोकेर उपत्यका र उपत्यकाबाहिरबाट सम्पदाप्रेमी, कलाप्रेमी, जनप्रतिनिधि आइरहेकै हुन्छन्– भक्तपुर । त्यसो त विसं २०७२ को भूकम्पपछि काठमाडौँको काष्ठमण्डप र रानीपोखरी बनाउन भक्तपुरकै कालिगड, सिप र श्रमको महत्वपूर्ण भूमिकाले पनि प्रस्ट पार्छ– भक्तपुरमा सम्पदा सिप छ, ज्ञान छ ।
“न्याय नपाए गोर्खा जानु ।”
यो उहिलेको आहान जस्तै अहिले भन्ने गरिन्छ–
“कालिगड नपाए भक्तपुर जानु ।”
सम्पदा पुनर्निर्माणको काम मौलिक स्वरूपमा गर्नु परेमा कालिगड, सिप र श्रम खोज्दै भक्तपुर जानुपर्ने बाध्यता सबैतिर छ । ठेक्कापट्टाबाट काम हुन नसकेपछि हो, काष्ठमण्डप र जमलस्थित रानीपोखरी पुनर्निर्माणमा सहयोग माग्दै भक्तपुर पुग्नु परेको अवस्था । अर्थात् भनौँ, भक्तपुरले त्यो ज्ञान र सिपलाई जोगाइराखेको छ । सिकर्मी, डकर्मी मात्र होइन; सम्पदा संरक्षणका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा भक्तपुरले दसकौँदेखि लगानी गरिरहेको छ । नगरले अहिलेसम्म एक हजार सात सय दक्ष डकर्मी, दुई हजारभन्दा बढी सिकर्मी र एक हजार आठ सय इन्जिनियर उत्पादन गरिसकेको छ । त्यसैले त विश्व सम्पदा सूचीमा भक्तपुरले आफूलाई निर्धक्क उभ्याइरहन सकेको छ ।
“हामी ठेकेदार होइन, उपभोक्तामा विश्वास गर्छौ”, भक्तपुर नगरपालिकाको प्रमुखका रूपमा दोस्रो कार्यकाल समालिरहेका सुनिल प्रजापतिको निष्कर्ष नै यही हो । यही सूत्रमै भक्तपुरले सम्पदा संरक्षणमा सफलता पाउँदै गएको छ । रैथाने ज्ञान, सिप र स्रोतले नै सम्पदाको संरक्षण दिगो हुन सकोस् भनेर भक्तपुर नगरपालिकाले सिकर्मी, डकर्मीलगायत सिपमूलक तालिम नियमित सञ्चालन गरिआएको छ ।
सिमेन्ट, कङ्क्रिट, चुना र सुर्कीभन्दा भक्तपुरको प्राथमिकता छ– इँटा, ढुङ्गा, माटो र काठ । यसले सम्पदाको मौलिक स्वरूप संरक्षण गर्छ अनि स्थानीय सिप, श्रम र स्रोतसाधनको उपयोग गर्छ । सम्पदा पुनर्निर्माणमा स्थानीय स्रोत, श्रम र सिपलाई उपयोग गर्ने नीति पालिकाले लिएको छ । सम्पदा संरक्षण र पुनर्निर्माणको मुख्य साझेदार स्थानीयवासीलाई बनाइएको छ । भक्तपुर नगरपालिकाले कुनै पनि सम्पदाको संरक्षण र पुनर्निर्माणलाई ठेक्कामा लगाउँदैन । पालिकाले यस्ता कार्यका लागि समुदायमा आधारित संरक्षण अभियान चलाएको छ । स्थानीयस्तरका गुठी, आमा समूह, सहकारीलगायत सामाजिक संस्थालाई पुनर्निर्माणमा जोड्ने नीति पालिकाको छ । वित्तीय स्रोत जुटाउने सन्दर्भमा पनि नगद र जिन्सी सहयोग एवं स्थानीयको श्रमदानलाई अनिवार्य रूपमा जोडिएको छ । सम्पदा संरक्षणकै लागि भक्तपुर नगरपालिकाले हरेक वर्ष हरेक वडामा २० लाख रुपियाँ विनियोजन गर्दै आएको छ । एक वडामा हरेक वर्ष कम्तीमा एउटा सम्पदाको संरक्षण होस् भन्ने नीतिकै प्रतिफल हो, यो । सम्पदा संरक्षण र पुनर्निर्माणलाई नियमित कार्ययोजनामा राखिएकाले नै सम्पदालाई जीवन्त राख्न सकिएको निष्कर्ष नगरप्रमुख सुनिल प्रजापतिको छ ।
आफ्नो सम्पदा आफैँ बनाउने अभियान त्यसै सुरु भएको होइन । यसमा एउटा महत्वपूर्ण कारण छ । विसं २०७२ को भूकम्पपछि भक्तपुरका १० वटा सम्पदा पुनर्निर्माणका लागि जर्मन सरकारले एक करोड युरो (करिब एक अर्ब २० करोड रुपियाँ) अनुदान घोषणा गरेको थियो । त्यो अनुदान अन्तर्गत पुनर्निर्माण सम्झौतामा निर्देशक समिति उनीहरू (जर्मन) आफैँले गठन गर्ने, त्यसको निर्देशन अनुसार नेपाली प्राविधिकले काम गर्नुपर्ने, सम्पदा पुनर्निर्माणमा सिमेन्ट, डन्डी प्रयोग गर्ने जस्ता प्रस्ताव देखिएपछि भक्तपुरले त्यो सहयोग नलिने निर्णय गरेको थियो । सरकारका तर्फबाट सम्झौतामा हस्ताक्षर भइसकेकाले सहयोग स्वीकार गर्न अनुरोध पनि गरिएको थियो तथापि भक्तपुर नगरपालिकाको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ देखाएर ‘आफ्नो सम्पदा आफैँ बनाउने’ अठोट गरिएको थियो ।

त्यसपछि भक्तपुरको सम्पदा संरक्षण तथा पुनर्निर्माण नयाँ ढङ्गले अघि बढ्यो । विसं २०७२ को भूकम्पले क्षति पुगेको न्यातपोल मन्दिर पुनर्निर्माणको एउटा उदाहरण हेरौँ– २०७६ सालमा पुनर्निर्माण सम्पन्न सो मन्दिरको लागत अनुमान ६५ लाख १३ हजार रुपियाँ थियो तर करिब ३० लाख रुपियाँमै काम सन्पन्न भयो । यसपछाडिको कारण थियो– पुनर्निर्माणमा चार हजार १८७ जनाले गरेको स्वैच्छिक श्रमदान । न्यातपोल मन्दिर पुनर्निर्माणमा १५ लाख ४७ हजार नगद र पाँच लाख ६३ हजार सात सय रुपियाँ बराबरको जिन्सी सहयोग जुटेको थियो । नगरप्रमुख प्रजापति भन्नुहुन्छ, “सम्पदाप्रति स्थानीयमा अपनत्व जगाउने अभियान पनि हो यो । सम्पदा संरक्षणको दिगो नीति पनि हो । परम्परागत मूल्यमान्यतालाई प्राथमिकता दिएर समुदायमा आधारित पुनर्निर्माण प्रभावकारी हुने हाम्रो अनुभव हो ।” भक्तपुर नगरपालिकाले कानुन बनाएर सम्पदा संरक्षण र पुनर्निर्माण कार्यलाई व्यवस्थित गर्दै आएको छ । सम्पदाहरूको नक्साङ्कन, डिजिटल डाटाबेस तयार गरी नियमित मर्मत, सफाइ गर्दै आएको छ । स्थानीय पाठ्यक्रममा भक्तपुरका भौतिक तथा अभौतिक सम्पदालाई समावेश गरी अनुसन्धान र पुस्ता हस्तान्तरणका क्षेत्रमा समेत महत्वपूर्ण योगदान भएको देखिन्छ । बाजा, जात्रा संरक्षणमा योगदान दिएका ज्येष्ठ नागरिकको नियमित सम्मान गरिँदै आएको छ ।
निजी सम्पदाको संरक्षण
सार्वजनिक सम्पदा मात्र होइन, निजी क्षेत्रका पुराना भौतिक सम्पदाको संरक्षणमा समेत पालिकाले ध्यान दिएको छ । भक्तपुर नगरपालिकाको काठ, इँटा र झिँगटी खरिद अनुदानसम्बन्धी कार्यविधि, २०७५ जारी गरी मौलिक शैलीमा निजी घर निर्माणमा प्रोत्साहन गरिँदै आएको छ । पुराना बस्तीमा नयाँ घर बनाउँदा पुरानै शैलीमा बनाउनुपर्ने, बाहिरी भागमा इँटा देखाउनुपर्ने, अगाडिको भागमा झिँगटी लगाउनुपर्ने, काठ देखाउनुपर्नेलगायत प्रावधान नगरपालिकाले राखेको छ । त्यसका लागि काठ, इँटा, झिँगटी खरिदमा लागेको लागतको ३५ प्रतिशत अनुदान दिने व्यवस्था थियो तर धनीले यो सुविधा धेरै लिने स्थिति भएपछि अहिले प्रत्येकलाई तीन लाख रुपियाँ पालिकाले दिँदै आएको छ ।
नाचगानको राजधानी
‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नारालाई व्यावहारिक तहमा उतारिएको छ । भदौको बेला भक्तपुरका टोल टोलमा झ्यालिन्चाको आवाज गुन्जिरहेको पाइन्छ । लाखेनाच हेर्ने लर्को टोल टोलमा देखिन्छ । खास गरी भक्तपुर नगरक्षेत्रका दत्तात्रय, तचपाल, तौमढी, बोलछें, नासमना, सुकुलढोका, गोमारी, ब्यासी, नागाँचा, देगमनामा महिनैपिच्छे जात्रा, नाच, भजन जस्ता केही न केही अभौतिक सम्पदाको चहलपहल भई नै रहेको हुन्छ । भक्तपुरका अन्य स्थान मध्यपुर थिमि नगरपालिकाको थिमि, बोडे, नगदेश, चाँगुनारायण क्षेत्र, कटुन्जे, दधिकोटलगायतका बस्तीमा पुरातात्त्विक महत्वका सम्पदाहरू प्रशस्तै छन् । त्यता पनि भदौ महिनामा जात्राको उल्लास गुन्जिएकै पाइन्छ । सूर्यविनायक नगरपालिकाको सूर्यविनायक, डोलेश्वर, अनन्तलिङ्गेश्वर पनि सम्पदा र संस्कृतिका हिसाबले अर्थपूर्ण छन् । बोडेको जिब्रो छेड्ने जात्रा, नीलवाराही नाच, चाँगुको कलशजात्रा, मध्यपुर थिमिको बालकुमारी जात्रा (सिन्दूरजात्रा), जिलेटजात्रा (महाकाली नाच) ले भक्तपुरलाई जात्रा संस्कृतिमा समृद्ध बनाएको छ । नीलवाराही नाच एउटा कठोर तान्त्रिक नाच हो । गाईजात्राको भोलिपल्टदेखि सुरु हुने यो जात्रामा देवगण बनेका नर्तकहरूले तीन दिन तीन रातसम्म केही नखाई, नबोली खाली खुट्टा नाच्नुपर्ने परम्परा छ ।

भक्तपुर नगरको बिस्का (बिस्केट) जात्रा निकै प्रसिद्ध छ । आठ रात नौ दिन मनाइने यो जात्रा भक्तपुरको विशिष्ट जात्रा परम्परा हो । सापारु (गाईजात्रा) सँगै प्रदर्शन गरिने घिन्ताङघिसी नाच र ख्याल पनि प्रसिद्ध छ । पुल्किसी, मुपात्र जात्रा, नवदुर्गा जात्राले भक्तपुरको जात्रा परम्परामा विशिष्ट स्थान राख्छ । त्यसैले त भनिन्छ– भक्तपुर नाचगानको राजधानी हो । जगदीशशमशेर राणाले ‘नाचगानको राजधानी भक्तपुर’ पुस्तक नै लेख्नुभएको छ । उहाँले भक्तपुर नगरमा नौ बाजा डफ्फा छ, गान बजान डफ्फा ६३, ढोलक डफ्फा ३६, भजनमण्डल १३, क्वाखिं बाजा टोली एक, कुसुले बाजा टोली नौ, कँ बाजा टोली, नायखिं बाजा टोली नौ, कुसुले बाजा टोली (वज्राचार्य, शाक्य) नौ, गाइने पाँच तथा अलग अलग नृत्यमण्डली ३० र नवदुर्गा नाच एक वटा अझै रहेको उल्लेख गर्नुभएको छ । भक्तपुर नगरमा टोल टोलका नाचैनाच छन् । प्रायः नाच मल्लकालीन छन् । नाचसँगै वेशभूषा, मुकुन्डो, गरगहना, बाजागाजा, हाउभाउ र अभिनय पृथक शैलीका छन् । यी नाच, बाजागाजा, वेषभूषा जोगाउन र नागरिकलाई प्रोत्साहन नीति पालिकाले लिएको छ ।
सम्पदा जोगाएर कमाउँदै
नेपाल भित्रिएका पर्यटकमध्ये करिब एक चौथाइ पर्यटकले भक्तपुर भ्रमण गर्ने गरेको पाइन्छ । आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४५ हजार ५९३ विदेशी पर्यटकले भक्तपुर अवलोकन गरेका थिए । भक्तपुर नगरपालिकाले पर्यटन शुल्कबापत पर्यटकसँग २७ करोड ४५ लाख रुपियाँभन्दा बढी असुल गरेको थियो । त्यस्तै आव २०८१/८२ मा दुई लाख ४४ हजार ८६८ पर्यटकले भक्तपुर टेकेका थिए । पर्यटन शुल्कबापत २९ करोड ११ लाख रुपियाँभन्दा बढी रकम असुल भएको थियो । सार्क राष्ट्रलाई पाँच सय र गैरसार्क राष्ट्रलाई दुई हजार रुपियाँ प्रवेश दस्तुर रहेको छ । आव २०८२/८३ मा दुई लाख २१ हजार ९७६ पर्यटकले भक्तपुर भ्रमण गरेका छन् । पर्यटन दस्तुरका रूपमा २७ करोड ५० लाख ६३ हजार पाँच सय रुपियाँ र थप २३ हजार १९० डलर राजस्व सङ्कलन भएको जनाइएको छ । पर्यटन शुल्कबापत प्राप्त रकमलाई पुनः सम्पदा संरक्षण र पुनर्निर्माणमा लगाउने गरिएको छ ।
समस्या र चुनौती
सम्पदा संरक्षणको कार्य त्यति सहज चाहिँ छैन । एकातिर नागरिकका अपेक्षा धेरै छन्, अर्कातिर कानुनी अल्झन । सरकारले १० लाख रुपियाँभन्दा माथिको काम ठेक्काबाट गराउन भन्छ । त्यसैले महालेखाले भक्तपुरको काममाथि सधैँ प्रश्न उठाउँदै आएको थियो । उपभोक्तामार्फतका काम सबैतिर सही रूपमा हुन सकेका पनि छैनन् । त्यसैले प्रश्न उठ्नु नाजायज पनि होइन, तथापि नगरप्रमुख सुनिल प्रजापति भन्नुहुन्छ, “बल्लबल्ल हामीले हाम्रो काम बुझाउन सकेका छौँ । विश्वास जितेका छौँ । हामीले आफ्नै मोडेल स्थापित गरेका छौँ ।”
सङ्घीय सरकारबाट सम्पदा पुनर्निर्माणका लागि आवश्यक काठ सरकारी मूल्यमा उपलब्ध गराउने कानुनी व्यवस्था हुनुपर्ने, सम्पदा पुनर्निर्माण र जीर्णोद्धार कार्य स्थानीयमार्फत गर्ने व्यवस्था गरिनुपर्ने, सम्पदा पुनर्निर्माणका लागि आवश्यक जनशक्ति तयार पार्न सङ्घीय सहयोग, मौलिकता जोगाउन पुरातत्वले कडा नीति लिनुपर्ने, सम्पदा पुनर्निर्माण र जीर्णोद्धार कार्य विदेशीलाई दिन नहुने जस्ता अवधारणा भक्तपुर नगरपालिकाको छ । यसलाई सङ्घीय सरकारले अघि बढाउनुपर्ने माग उनीहरूको छ ।

भक्तपुरको भाज्या पुखु (पोखरी) र जलेश्वर मन्दिर । तस्बिर : भक्तपुर नगरपालिकाको फेसबुक पेज ।
साथसाथै मध्यपुर
काठमाडौँ र भक्तपुरको बिचमा छ– मध्यपुर थिमि । सांस्कृतिक सम्पदायुक्त यो सानो सहरले पनि पुरातात्त्विक सम्पदालाई जीवन्तता दिने अभियान भक्तपुर नगर सँगसँगै चलाएको छ । सम्पदा संरक्षण र पुनर्जीवन अभियान पनि नमुनाका रूपमा अगाडि बढेको छ । भूमाफियाको पोल्टामा पुगिसकेको मध्यपुर थिमि नगरपालिका–८, बोडेको तीन सय वर्ष पुरानो पलेस्वाँ पुखुलाई पुनः फिर्ता ल्याउन थिमिले लामो कानुनी लडाइँ लड्नु परेको थियो । माफियाबाट फिर्ता ल्याइएको पलेस्वाँ पुखुमा अहिले नाम अनुसारकै कमल फुलिरहेको छ । यस कर्ममा तत्कालीन नगरप्रमुख मदनसुन्दर श्रेष्ठको महत्वपूर्ण भूमिका बिर्सन सकिन्न । बस्तीभित्र पुरिएका ढुङ्गेधारा, पाटी, सत्तल, पोखरीको खोजी र पुनर्जीवन दिने त्यो कार्यलाई अहिलेका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पनि गतिसाथ पछ्याउनुभएको पाइन्छ ।
एक तथ्याङ्क अनुसार मध्यपुर थिमि (थिमि, बोडे, नगदेश, चपाचो, बालकुमारी) मा सानाठुला गरी ५० भन्दा बढी पाटी (फल्चा), सत्तल र ३५ को हाराहारीमा ढुङ्गेधारा रहेको अनुमान छ । नगरपालिकाले २० वटा मुख्य ऐतिहासिक पाटी र सत्तलहरू पुनर्निर्माण गरिसकेको छ । निजी तथा सार्वजनिक गरी सयभन्दा बढी पुराना इनार थिमिमा थिए । सम्पदा संरक्षण अभियान अन्तर्गत २२ वटा पुराना इनार (तुँ) को जीर्णोद्धार गरिएको छ । मल्लकालीन समयमा थिमि क्षेत्रमा धार्मिक–सांस्कृतिक जात्रा सञ्चालन, खानेपानी आपूर्तिका लागि २५ वटा पोखरी निर्माण गरिएको आधिकारिक तथ्याङ्क पाइन्छ । तीमध्ये निगुः पुखु (दुई पोखरी), पलेस्वाँ पुखु, लायकु पुखु, थिमिलाँ पोखरी, भुलाँख्य पोखरी, पुखुसी पोखरी, भुरुख्य पोखरीलगायत १५ वटा पोखरीको जीर्णोद्धार गरिएको छ । टोल टोल पुग्ने बाटामा ढुङ्गा बिछ्याउने, मौलिक शैलीले सम्पदा जगेर्ना गर्ने र प्राचीन शैलीको सहरको सौन्दर्य फर्काउने थिमिको प्रयासलाई ‘मरेको बिरालो च्यापेर थिमिको उकालो’ भन्ने उखान हालेर गिज्याइरहनु पर्दैन । अब त भन्नु पर्छ, “मृत सम्पदामा जीवन भर्ने कसरी ? सिक्ने भए जाऊ थिमि ।”
GORKHAPATRA













Leave a Reply