ख्वप इन्जिनियरिङ कलेजका शिक्षक–कर्मचारीको तलबबाट विपद् उद्धार कोषमा सहयोग

भक्तपुर, भदौ । रसुवा, भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापनाका लागि ख्वप इन्जिनियरिङ कलेजका शिक्षक तथा कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन्।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको भदौ १५ गते बसेको बैठकले कलेजमा पूर्णकालीन सेवामा कार्यरत शिक्षक तथा कर्मचारीको तलबबाट निश्चित रकम कट्टा गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार श्रेणीविहीन कर्मचारीको एक दिनको तलब/पारिश्रमिक, सहायकस्तर चौथो, पाँचौँ तथा सवारी चालक तहका कर्मचारीको दुई दिनको र अधिकृत छैटौँ तथा सो तहभन्दा माथिका शिक्षक तथा कर्मचारीको तीन दिनको मासिक सुरु तलब स्केल बराबरको रकम कट्टा गरिनेछ। कलेजको निर्णयमा कट्टा हुने रकमलाई रु. ५०० मा राउन्ड अप गरी कोषमा जम्मा गर्ने उल्लेख छ।

रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको थियो। उक्त विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कलेजले आफ्नो शिक्षक तथा कर्मचारीबाट समेत योगदान जुटाउने निर्णय गरेको हो। यसअघि पनि बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *