थिमि । भक्तपुरको मध्यपुर थिमिको मौलिक एवं ऐतिहासिक संस्कृति संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यस वर्ष पनि परम्परागत थिमि भैलः २०८३ आयोजना हुने भएको छ । श्री गणेश सांस्कृतिक समाज, कुम्हाननी÷तुलाननी, मध्यपुर थिमिको आयोजनामा आगामी भदौ १४ गतेदेखि १७ गतेसम्म चार दिन विभिन्न स्थानमा भैरवनाच प्रदर्शन गरिने भएको हो ।
(शनिबार मध्यपुर थिमि नगरपालिका वडा नं ५ कुम्हाननी÷तुलाननी जानकारीमूलक कार्यक्रममा वितरित विज्ञप्ति)
नाम ः परम्परागत थिमि भैलः २०८३
आयोजक ः श्री गणेश साँस्कृतिक समाज, कुम्हाननी ÷ तुलंननी, मध्यपुर थिमि–५ ।
परिचय तथा पृष्ठभूमि
मुकुन्डो (अर्थात् ख्वाः पा) लगाई नाचिने नाचमा भैलः अर्थात् भैरव नाच एउटा महत्वपूर्ण नाच मानिन्छ । भैलः ÷ भैरवको उत्पत्ति भीरु शब्दबाट भएको मानिन्छ, जसको अर्थ “डरलाग्दो” भन्ने हुन्छ । त्यसैले, भैरवले “भयानक” वा “डरलाग्दो” रूपलाई जनाउने गर्दछ । हिन्दू धर्म अनुसार भैरव विनाशसँग सम्बन्धित, शिवको एक शक्तिशाली अवतार मानिन्छ । तर बज्रयान बौद्ध धर्ममा भैरवलाई “बोधिसत्व मञ्जुश्रीको उग्र उत्पत्ति वा रूप” मानिन्छ । यसलाई हेरुका, बज्र भैरव, वा वज्रपाणी बोधिसत्वको उग्र वा क्रोध रूप पनि भनिन्छ । नेपाल मण्डलभित्र थुप्रै खालका मुकुन्डो नाच आजसम्म निरन्तर चलिरहेका छन् । ती मध्ये भैलः (भैरव) नाचलाई विशेष रूपमा मानिँदै आएको देखिन्छ ।
नेपाल मण्डलको एउटा सुन्दर, ऐतिहासिक, मौलिक कलाको नगरका रूपमा मध्यपुर थिमि नगर प्रसिद्ध छ । अहिले मध्यपुर थिमि नगरपालिका नेपालको बागमती प्रदेश भक्तपुर जिल्लामा पर्दछ । यही थिमिमा प्राचीनकालदेखि बसोवास गर्दै आएका प्रजापति समुदायद्वारा परम्परादेखि प्रदर्शन गर्दै आएका विभिन्न नाचमध्ये एउटा प्रख्यात तन्त्र र शास्त्रमा आधारित नाच हो, परम्परागत थिमि भैलः ।
विशेषतः परम्परागत थिमि भैलः आदरणीय गुरुहरू कुल बहादुर प्रजापति, तुलसीमान कोले प्रजापति, धिरमान (धेमा) प्रजापति, गुप्तलाल अजाजुहरूका शिष्यहरू आदरणीय गुरु स्व. कृष्ण (ब्याँ) प्रजापति तथा गुरु स्व. दिलबहादुर कुञ्छे प्रजापति र उहाँका शिष्यहरूको तर्फबाट प्रदर्शन हुँदै आइरहेको भैलः प्याखं (नाच) हो ।
परम्परागत थिमि भैलः एक आनुष्ठानिक मुकुन्डो नाचमा पर्दछ । त्यसैले यस नाचमा कडा अनुशासन अर्थात् विधि विधानअनुसार शास्त्र वा तन्त्रसँग पूजाविधि जोडिएको हुन्छ । तान्त्रिक विधि वा गुह्य पूजाविधि गरी मुकुन्डोमा प्राण प्रतिष्ठापन अर्थात् जीवन्यास गरिन्छ ।
शास्त्रसंगत नृत्य गराइन्छ । कुल ३२ ताल नचाइने परम्परागत थिमि भैलः अहिले २७ ताल प्रचलित छन् । ती तालहरू विशेष स्थानअनुसार विशेष ताल बजाउनु पर्ने शास्त्रमा उल्लेख छ ।
यो भैलः नाचको प्रशिक्षण दिने दिनदेखि नै विशेष पूजाविधि हुने गर्दछ । साधारणतया गठामुगः चरहे अर्थात् (घण्टाकर्ण चतुर्दशी) श्रावण कृष्ण चतुर्दशी पछिको पारुबाट नासःद्यो (नृत्यनाथ) को विशेष (गुस्य) पूजा पछि सुरु हुन्छ । यसरी सापारु÷गाईजात्रापछिको द्वितीयादेखि चार रात मध्यपुर थिमि नगरको विभिन्न स्थानमा यो नाच नचाइन्छ ।
परम्परागत थिमि भैलःको चार दिनमध्ये पहिलो र तेस्रो दिन विशेष दिन मानिन्छ । किनकि ती दिनहरूमा विशेष पूजा हुने गर्दछ । तेस्रो दिनलाई बाँ पूजा भनिन्छ । बाँ पूजाको दिन विशेष गुह्य पूजा गरी सम्पूर्ण भक्तजन वा भैलःको भोजमा सहभागीहरूलाई पनि पूजा गराइन्छ र गोप्य पूजा कोठामा जाने अनुमति प्रदान गर्दछ ।
परम्परागत थिमि भैलः मुकुन्डो लगाएर बाहिर खुला रूपमा नचाउनु अघि अभ्यासस्वरूप मुकुन्डो नलगाई प्रशिक्षण दिएको घर अगाडि दुई÷चार रात नचाइन्छ । जसलाई अखलेय ल्हुइकेगु भनिन्छ । यो भैलः नाचको मुख्य विशेषता भनेको भैलः खायगु (भैरव जाग्ने) हो । कहिलेकाहीँ त ३÷४ घण्टासम्म जाग्ने गर्दछ । अर्को विशेषता सिउ (स्यु) राख्ने विधि हो । यो एक तान्त्रिक विधि हो । गुह्यपूजा गर्नु हुने भैलः गुरुबाट देवगणको शिरमा विशेष गुह्यपूजा गरी सिउ राखिदिनुहुन्छ । सिउ गुरु नित्यनाथको विशेष प्रसाद हुनुपर्दछ भनी अनुमान गर्न सकिन्छ । सिउ राखिसकेपछि देवगणहरू प्रशिक्षण दिएकै घरमा बस्नुपर्ने हुन्छ । सापारु÷गाईजात्राका दिन भैलःको साँज्या गरिन्छ । भैलःको साँज्या आइसकेपछि अरुको साँज्या आउन हुन्न ।
परम्परागत थिमि भैलः नाचमा नृत्य गर्ने देवगणहरू निम्नानुसार हुने गर्दछन् ।
१. ज्यापुंगःचा (हरिसिद्धी)
श्याम वस्त्र, मुकुन्डो हुँदैन तर कलात्मक मतु मात्रै लगाएको हुन्छ । हातमा ज्यापु राख्ने ढकी बोकेको हुन्छ ।
२. न्हापा भैलः
पहिलो भैरव ÷ चण्डिका भैलः ÷ प्रचण्ड चण्ड भैलः (दिगु भैलःको प्रतीक) । श्याम वस्त्र, डरलाग्दो ठूलो भैरव मुकुन्डो लगाएको हुन्छ । साथै हातमा खड्ग बोकेको हुन्छ ।
३. लिपा भैलः
दोस्रो भैलः बटुक भैरव (बालकुमारीको भैरवको प्रतीक) । श्याम वस्त्र, डरलाग्दो ठूलो भैरव मुकुन्डो लगाएको हुन्छ । हातमा खड्ग बोकेको हुन्छ ।
४. न्हापा दागीं
कुमारी (बालकुमारीको प्रतीक) ः रातो वस्त्र, रक्त वर्ण, मुकुन्डो लगाएको हुन्छ । हातमा डमरु लिएको हुन्छ ।
५. लिपा दागीं
महालक्ष्मीको प्रतीक ः रातो वस्त्र, रक्त वर्ण, मुकुन्डो लगाएको हुन्छ । हातमा डमरु लिएको हुन्छ ।
तीमध्ये हरिसिद्धी ÷ ज्यापुंग सानो उमेरको बालक हुने गर्दछ, जसले भैलः, दागीं उग्र रूप लिएर जागेका बेला ज्यापु (कपासको बियाँले छातीमा हानेर शान्त पार्ने कार्य गर्दछ । ज्यापुले हानेर भैलः र दागीको क्रोध शान्त पार्ने भएकाले हरिसिद्धीलाई ज्यापुंगः पनि भनिएको हो भनिन्छ ।
भैलः प्याखंको ऐतिहासिक पृष्ठभूमि
भैलः प्याखं थिमि नगरमा कहिले र कहाँबाट सुरु भयो वा सञ्चालन भयो भन्ने यकिन इतिहास नभए पनि प्रजापति समुदायले १९९७ सालदेखि नै निरन्तर रूपमा परम्परागत थिमि भैलः सञ्चालन गर्दै आएको अध्ययन अनुसन्धानबाट प्राप्त सूचनाले देखाउँदछ (थिमिया भैलः प्याखं, तुलसीकृष्ण प्रजापति–२०७३) । हुन त, यो भैलः नाच १९९७ अगाडि नै धेरै पटक निकालिएको र ध्वाः थर भएका प्रजापतिले नै लगभग लगातार ७ पटकसम्म निकालेको भन्ने कुरा ८८ वर्षीय आदरणीय गुरु सन्तबहादुर कुञ्छे प्रजापतिले बताउनुहुन्छ । यसरी, प्राप्त तथ्य प्रमाणहरूबाट यो नाच मल्लकालदेखि नै सञ्चालन हुँदै आएको हुन सक्ने अनुमान गरिएको छ ।
पहिला पहिला प्रजापति समुदायबाट भैलः प्याखं सञ्चालन गर्न वा सञ्चालन गर्दा राज्य (लायकु) बाट सहयोगस्वरूप रु. ५० सम्म दिने गरेको । प्रजापति समुदाय (प्रजा) ले भैलः प्याखं सञ्चालन गर्न सम्भव नभएमा, नआउने भएमा लायकुबाट अनिवार्य सञ्चालन गर्नुपर्ने नियम रहेको भनिएको छ (थिमिया भैलः प्याखं, तुलसीकृष्ण प्रजापति–२०७३) ।
यसरी देशको (नगरको) रक्षाको निमित्त हरेक वर्ष भैलः प्याखं देखाउने गर्दछ वा देखाउनुपर्ने हुन्छ । किंवदन्ती अनुसार परापूर्वकालमा देशमा (थिमि नगरमा) विभिन्न भूतप्रेत, लाखे र पिशाचहरूले जनतालाई दुःख, कष्ट दिएर हाहाकार मच्चाएको थियो । त्यसकारण समाजका (नगरका) गन्यमान्यहरूले नगरवासीको दुःख, कष्ट लिएर लायकुमा (दरबारमा) राजासँग बिन्ती चढाए । राजाको आदेशमा राजसभा बोलाई सरसल्लाह छलफल गर्दा तान्त्रिक विधिबाट भैलः साधना गरेमा देश र जनता दुःख, कष्टबाट मुक्त भई देशमा शान्ति हुने निष्कर्षअनुसार भैलः साधना गरी आजसम्म नगरको दुःख, कष्ट हटाई शान्तिका लागि यो भैलः प्याखं निकाल्ने प्रचलन रहिआएको हो भन्ने जनश्रुति छ ।
यसरी पहिलेदेखि थिमिका जनताहरूलाई भूत, प्रेत, लाखे, पिशाचहरूको दुःख, कष्टबाट मुक्त गर्ने उद्देश्यले सञ्चालित यो भैरव नाच आज यस नगरीको ऐतिहासिक एवं मौलिक कला, संस्कृति तथा अमूल्य निधि बन्न पुगेको छ । हाल पनि यो मात्र कुनै धातु वा माटोको मुकुन्डो होइन, यो एक निश्चित विधि तन्त्रबाट प्रत्येक देवीदेवताको मुकुन्डोमा जीवन्यास गर्ने गरिएका हुँदा देवगणहरू भगवान् नै हुन् भनी श्रद्धा र भक्तिका साथ आदर गरिन्छ, आराधना पूजाआजा गर्दै आएको पाइन्छ ।
परम्परागत थिमि भैलः एउटै टोल वा ठाउँबाट मात्र प्रदर्शन तथा आयोजना हुने नभई विभिन्न टोल वा ठाउँबाट भैलः प्याखंलाई निरन्तरता दिँदै आएको देखिन्छ । यसक्रममा यसपाली २०८३ मा २५ औँ प्रदर्शनी, कुम्हाननी र तुलंननी टोलको श्री गणेश सांस्कृतिक समाजको आयोजना सञ्चालन हुने भएको छ । प्रशिक्षणको क्रममा रहेको छ ।
यो नाचको प्रशिक्षण गुरु–शिष्य परम्परामै आधारित छ । नाच सुरु गर्ने बेलादेखि नै गुरुहरूको सत्कार गरिन्छ, सम्मान गरिन्छ र त्यसपछि उहाँहरूबाट गुरु नासःद्योको पूजा गरिन्छ । परम्परागत थिमि भैलः नाचमा पनि यो परम्परा तथा संस्कृति जीवितै छ ।
नाच प्रशिक्षण अवधिमा र प्रदर्शन गर्ने अवधिमा पनि गुह्य पूजा हुन्छ । विधिवत् रूपमा प्रदर्शन गरी सकेपछि नासःद्यो पीठका निमित्त विशेष पूजा हुन्छ ।
संरक्षण तथा संवद्र्धन
मुकुन्डो नाचमा भैलः प्याखं प्रमुख नाच मानिन्छ । यो नेपाली संस्कृतिकै महत्वपूर्ण अंश हो । यो हाम्रो अमूल्य निधि हो, हाम्रो परिचय हो । ऐतिहासिक, पौराणिक एवं मौलिक कला संस्कृतिको पहिचानको रूपमा मानिएको परम्परागत थिमि भैलः प्याखं (भैरव नाच) लाई अहिलेका नयाँ पुस्ताहरूले संरक्षण, संवद्र्धन गरी जीवन्त बनाई राख्नुपर्दछ । यो आजको हाम्रो थिमिको संस्कृतिको पहिचान हो । यो हाम्रो मौलिक संस्कृति कला हो । यसलाई लोप हुन दिनुहुँदैन ।
यसको संरक्षण संवद्र्धनबाट मध्यपुर थिमिको पर्यटन विकासमा टेवा दिन सकिनेछ । स्थानीय जनताहरू तथा आन्तरिक पर्यटकहरूलाई मनोरञ्जन प्रदान गर्न वा आर्थिक समृद्धिको पाटो हुन सक्छ तथा नयाँ पुस्तालाई हाम्रो संस्कार र संस्कृतिबाट सुसज्जित गर्न सकिनेछ ।
भाषा, कला, साहित्य र संस्कृतिले नै समाजलाई जीवित बनाइराख्छ र एकतामा बाँधिराख्छ । त्यसैले, हाम्रा यी र यस्ता सांस्कृतिक धरोहर, सांस्कृतिक सम्पदा भावी पुस्ताका लागि एउटा स्वस्थ अनुपम उपहारका रूपमा हस्तान्तरण गर्न हरेक नेपालीले आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण गर्नु आजको आवश्यकता हो ।
(स्रोत ः– परम्परागत थिमि भैलः नाच (प्याखं), तुल्सीकृष्ण र शिवहरि प्रजापति)
नाच प्रदर्शन ः यस वर्ष २०८३ भाद्र १४ गतेदेखि १७ गतेसम्म ।
मध्यपुर थिमिमा ४ समूहका गुरुहरूबाट भैरवनाथ आयोजना
१) मध्यपुर थिमिमा ४ समूहबाट भैरवनाथ आयोजना भई सञ्चालनमा आउने गरिन्छ ।
१. प्रजापति समुदायको “परम्परागत थिमि भैलः”
२. प्रजापति समुदायकै अर्को गुरु मार्फत सिकाइने “थिमि भैलः”
३. लायकुबाट “लायकु भैलः”
४. नगदेशबाट “नगदेश परम्परागत भैलः” ।
(नगदेशको भैरव नाचमा भैरवले खड्ग चलाउने र भैरव गण जाग्ने तरिका थिमिका अरु ३ समूहभन्दा फरक पाइन्छ ।)
२) यहाँका गुरु समूहबाट कहिले भैरव नाच त कहिले गुँला बाजाको आयोजना समय–समयमा गराइरहनुभएको पाइन्छ । एक गुरुबाट भैरव नाच आयोजना गर्ने बेलामा अर्को गुरु समूहबाट भैरव नाचको आयोजना गराउनुभएको पनि पाइन्छ । यसरी प्रजापति समुदायमा कुनै कुनै वर्ष गुँला बाजा र भैरव नाच दुवै आयोजना गरिएको पनि पाइन्छ ।
३) करिब ५० वर्षजस्तो लायकुबाट भैरव नाच नभई रहेकोमा २०७२ पछि फेरि आयोजना हुँदै आएको देखिन्छ ।
उद्देश्य
“परम्परागत थिमि भैलः प्याखं (नाच) तथा बाजालाई निरन्तरता बनाई राख्न समय–समयमा भैरव नाचको आयोजना गराई हाम्रा गुरुहरूले हाम्रो मध्यपुर थिमिको संस्कृति र मौलिक परम्पराको संरक्षण संवद्र्धन गर्ने मुख्य उद्देश्यले यस वर्ष यस परम्परागत थिमि भैलःको आयोजना गरिएको हो ।”
अहिलेका गुरु वर्गहरू
१. श्री तेजकुमार प्रजापति
२. श्री मोहनकृष्ण प्रजापति
३. श्री सन्तबहादुर प्रजापति
४. श्री हर्षबहादुर प्रजापति
५. श्री गणेशमान प्रजापति
६. श्री रत्नकाजी प्रजापति
७. श्री विष्णुबहादुर प्रजापति
८. श्री तेजबहादुर प्रजापति
भैरव नाचका कलाकारहरू
ज्यापुंगःचा ः विनिस प्रजापति
न्हापा भैलः ः विज्ञान प्रजापति
लिपा भैलः ः रिजन प्रजापति
न्हापा दागीं ः निरञ्जन प्रजापति
लिपा दागीं ः विमल प्रजापति
आयोजना अवधिमा गरिने गतिविधि
१. बाजा प्रशिक्षण सुरु भई सकेको ।
२. कलाकारलाई नाच प्रशिक्षण आइतबारबाट सुरु गरिने जानकारी पाएको ।
३. अखलेय ल्हयकेगु (पूर्व अभ्यास) आउँदो भदौ १० र ११ गते, २ दिन गरिने छलफल भइरहेको ।
४. सापारुको भैलः साँज्या–गाईजात्राको दिन, सम्भवतः अन्तमा राति साँज्या जाने ।
५. भैरवनाथ आयोजनामा सहयोगी दाताबारे नियमित सूचना प्रसार गर्ने ।
यस बाहेक, आयोजकबाट गरिनुपर्ने
१. पूजा कलाकार तथा नाच सामान आदिको व्यवस्था गर्ने ।
२. आयोजना स्थलको ठाउँ, पाल, बस्ने मेच, स्कुल, बत्ती आदि व्यवस्था गर्ने ।
३. जलपान भोज व्यवस्थापन गर्ने ।
४. आर्थिक संकलन तथा आवश्यक खरिद व्यवस्थापन गर्ने ।
आर्थिक पक्ष
भैरव नाच आयोजनाको विगत वर्षको तुलनामा ठीक तरिकाले पाहुना टोलका सहभागीको हिसाबले पनि करिब ४० लाखको खर्च आसपासमा रहने अनुमान गरिएको छ ।
यस बजेटको व्यवस्था गर्न सहयोगी श्रद्धालु दाताहरूलाई उहाँहरूको योगदानअनुरूप कदर तथा सम्मान गर्ने निर्णय गरिएको छ ।
१. रु. ५,००० देखि १०,००० सम्म सहयोगी दातालाई कदरपत्र, फ्रेमसहित खादा सम्मान ।
२. रु. १०,००१ देखि २५,००० सम्म सहयोगी दातालाई आकर्षक फ्रेमसहित खादा सम्मान ।
३. रु. २५,००१ देखि ५०,००० सम्म सहयोगी दातालाई कदरपत्र, फ्रेमसहित दोसल्ला सम्मान ।
४. रु. ५०,००० भन्दा माथि सहयोगी दातालाई कदरपत्र, दोसल्लासहित विशेष सम्मान ।
यसरी कदर तथा सम्मान व्यवस्था गरिएको हुँदा श्रद्धालु दानी दाता महानुभावहरू, संघ–संस्थाहरूलाई यथाश्रद्धा आर्थिक एवं भौतिक सहयोग गरी यस परम्परागत थिमि भैलः २०८३ को आयोजना सफल पारिदिनु हुन सम्पूर्ण आयोजकको तर्फबाट हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद ।
जय भैरव नाथ ।
सधैं कृपा रहोस् ।
यस्तो छ थिमिको भैलः प्याखंको नालीबेली












Leave a Reply