भक्तपुरमा ग्यास कालोबजारी गर्ने एक जना पक्राउ
भक्तपुर, २३ साउन । भक्तपुरमा खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। त्वयनाले सञ्चालन गर्दै आएको त्वयना किराना पसलबाट उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर ७ हजार रुपैयाँका दरले बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीले पसलमा चेकजाँच तथा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा प्रहरीले ३ थान ग्यास सिलिण्डर बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीले पसल सञ्चालक त्वयनालाई समेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले २०८३ साउन २३ गते जारी गरेको प्रेस विज्ञप्तिमा ग्यासको कालोबजारी गर्ने मानिस नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ।
प्रहरीले ग्यासको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा बढीमा बिक्री वितरण गर्ने गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।












Leave a Reply