चाँगुनारायणमा एक सय ज्येष्ठ नागरिकले पाए निःशुल्क स्वास्थ्य सेवा, मुटुरोग परीक्षणदेखि फिजियोथेरापीसम्म उपलब्ध

नबराज काफ्ले

श्रावण २३ गते,शनिबार

चाँगुनारायण नगरपालिका, वडा नं.१ मा शनिबार एक सय जना ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् । चाँगुनारायण नगरपालिका स्थित मिलिजुली महिला वचत तथा ऋण सहकारी वचत लिमिटेड र ज्येष्ठ नागरिक मिलन चौतारीको संयुक्त आयोजनामा सञ्चालित उक्त स्वास्थ्य शिविरमा सिद्धि स्मृति अस्पतालको सहकार्य रहेको थियो । शिविरमार्फत ज्येष्ठ नागरिकहरूले निःशुल्क मुटुरोग परीक्षण, रक्तचाप जाँच, सुगर परीक्षण र फिजियोथेरापी सेवा पाएका थिए । संस्थाकी प्रतिनिधि एवं लेखा संयोजक चन्दा खत्रीले शिविरबाट एक सय ज्येष्ठ नागरिकले सेवा लिएको जानकारी दिइन् । शिविरमा मुटुरोग विशेषज्ञ डा. किशन कुसुवाले प्रमुख चिकित्सकको रूपमा सेवा प्रदान गर्दै भने, “वृद्धावस्थामा मुटु सम्बन्धी समस्या समयमै पत्ता नलागे जटिल हुन सक्छ । यस्ता निःशुल्क शिविरले ज्येष्ठ नागरिकलाई आफ्नो स्वास्थ्य अवस्था बुझ्ने र समयमै उपचार लिने अवसर दिन्छन्, जुन अत्यन्तै सह्रानीय कार्य हो ।” ज्येष्ठ नागरिक मिलन चौतारीका अध्यक्ष भरत प्रसाद न्यौपानेले कार्यक्रमको प्रशंसा गर्दै भने, “समाजले वृद्धवृद्धाप्रति जति संवेदनशीलता देखाउनुपर्छ, त्यो अझै कम नै देखिन्छ । आजको यो शिविरले हामी ज्येष्ठ नागरिकलाई साँच्चै उपेक्षित छैनौं भन्ने महसुस गराएको छ, यस्ता कार्यक्रम निरन्तर हुनुपर्छ ।” मिलिजुली महिला वचत तथा ऋण सहकारी वचत लिमिटेडकी अध्यक्ष पार्वती खत्रीले भनिन्, “हाम्रो सहकारीले सधैं समुदायमुखी सेवालाई प्राथमिकता दिँदै आएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा योगदान पुर्याउन पाउँदा हामी सबै गर्वान्वित छौं, र भविष्यमा पनि यस्ता कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।” समुदायमा यस्तो सेवा दिन आफ्नो अस्पताल हरदम इच्छुक रहेको सिद्धि स्मृति अस्पतालका प्रतिनिधिले बताएका छन् । स्थानीय समाजसेवी माधव न्यौपानेका अनुसार यस कार्यक्रमले स्थानीय ज्येष्ठ नागरिकहरूलाई अत्यन्तै खुशी बनाएको छ । उनले भने, “निष्क्रिय जीवनशैली र विश्रामको अवस्थामा घरभित्रै सीमित रहनुपर्ने ज्येष्ठ नागरिकको स्वास्थ्य र आवश्यकताप्रति सचेत भई सेवा पुर्याउनु हामी सबैको साझा दायित्व हो । यस्ता कार्यक्रम अरू ठाउँमा पनि दोहोरिनु आवश्यक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *