मेयर कप फुटबलबाट शुभारम्भ हुने
भक्तपुर — मध्यपुर थिमि नगरपालिकाले खेलकुद क्षेत्रको विकास, स्थानीय प्रतिभाको पहिचान तथा खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर प्रदान गर्ने उद्देश्यले ‘मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ।
नगरपालिकाले आगामी पुस महिनामा विभिन्न विधाका खेलकुद प्रतियोगिता समेटेर महोत्सव आयोजना गर्न लागेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख श्रेष्ठले महोत्सवको औपचारिक शुभारम्भ पुस ११ गतेदेखि ‘बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता–२०८३’ बाट गरिने बताए।
नगरपालिकाको चालु आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटअनुसार आयोजना गर्न लागिएको महोत्सवमा राष्ट्रव्यापी, प्रदेशव्यापी, उपत्यकाव्यापी तथा नगरव्यापी स्तरका विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछन्।
महोत्सवअन्तर्गत बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल, राष्ट्रव्यापी बुद्धिचाल, उपत्यकाव्यापी भलिबल, कराते, तेक्वान्दो, उसु, आइकेकेएफ कराते, किक बक्सिङ, टेबल टेनिस, फुटसल, ब्याडमिन्टन, बास्केटबल, हाफ म्याराथन र स्नूकर प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
नगर प्रमुख श्रेष्ठका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खोजी, विकास र प्रवद्र्धन गर्नु हो। पर्याप्त अवसर, प्रशिक्षण र प्रोत्साहनको अभावमा आफ्नो क्षमता प्रदर्शन गर्न नपाएका खेलाडीलाई उपयुक्त मञ्च प्रदान गर्दै प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने वातावरण निर्माण गर्न महोत्सवले सहयोग पु¥याउने उनले बताए।
खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी स्वस्थ नागरिक निर्माण, सामाजिक एकता, अनुशासन, नेतृत्व विकास र युवाको सिर्जनशीलता अभिवृद्धिको माध्यमका रूपमा नगरपालिकाले लिएको श्रेष्ठको भनाइ छ।
महोत्सवले विभिन्न स्थानीय तहबीच आपसी भाइचारा, सद्भाव, मित्रता र सहकार्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। विशेषगरी मेयर कप फुटबल प्रतियोगितामार्फत बागमती प्रदेशका नगरपालिकाबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गरिने नगरपालिकाले जनाएको छ।
खेलकुदमार्फत युवाको ऊर्जा र क्षमतालाई सकारात्मक क्षेत्रमा परिचालन गर्न सकिने उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले खेलकुद पूर्वाधार विकास, खेलमैदानको स्तरोन्नति, खेलाडीको क्षमता अभिवृद्धि र प्रशिक्षणलाई नगरपालिकाले प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालय तहदेखि नै खेल संस्कृतिको विकास गर्न शैक्षिक संस्था, खेलकुद संघसंस्था, प्रशिक्षक, खेलाडी र अभिभावकसँग समन्वय तथा सहकार्य गरिने उनले बताए।
महोत्सवले खेलकुद क्षेत्रको विकाससँगै मध्यपुर थिमिको कला, संस्कृति र सम्पदाको राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न तथा नगरको आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ। विभिन्न स्थानबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शकको आगमन हुँदा होटल, रेस्टुरेन्ट, यातायात तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढ्ने विश्वास नगरपालिकाले लिएको छ।
मध्यपुर थिमिलाई कला, संस्कृति र सम्पदासँगै खेलकुद तथा पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै नगर प्रमुख श्रेष्ठले महोत्सव सफल बनाउन खेलकुद संघसंस्था, स्थानीय क्लब, विद्यालय, निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमलाई सहयोग तथा सहभागिताका लागि आग्रह गरे।
‘खेलकुदमा लगानी भनेको स्वस्थ नागरिक, अनुशासित समाज, सक्षम युवा र समृद्ध राष्ट्र निर्माणमा लगानी हो,’ नगर प्रमुख श्रेष्ठले भने।
नगरपालिकाले यस महोत्सवलाई एकपटकको प्रतियोगितामा मात्र सीमित नराखी मध्यपुर थिमिमा नियमित खेलकुद संस्कृतिको विकास गर्ने अभियानका रूपमा अघि बढाउने जनाएको छ।
पत्रकार सम्मेलनमा उपमेयर विजयकृष्ण श्रेष्ठ, प्रवक्ता एवं मध्यपुर थिमि नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कुष्णहरि आचार्यलगायत वडा नं १ देखि ९ सम्मकै वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
मध्यपुर थिमिमा पुस ११ देखि खेलकुद महोत्सव










Leave a Reply