शिव कट्टेल
२१औँ शताब्दीमा पनि हामी जात, थर र सामाजिक वर्गीकरणको बहसमा अल्झिरहेका छौँ। नेवार समुदायका ३५ भन्दा बढी थरलाई दलित सूचीमा समावेश गर्ने सरकारी निर्णयले आज गम्भीर प्रश्न जन्माएको छ।
दलित समुदायमाथि सदियौँदेखि हुँदै आएको जातीय विभेद र अन्याय अन्त्य गर्नु राज्यको दायित्व हो। तर सामाजिक न्यायका नाममा कुनै समुदायको ऐतिहासिक पहिचान, सांस्कृतिक अस्तित्व र आत्मसम्मानलाई बेवास्ता गर्न मिल्छ?
कुनै समुदायको पहिचान निर्धारण गर्ने अधिकार राज्यको कागजमा मात्रै सीमित हुन सक्छ? सम्बन्धित समुदायसँग पर्याप्त छलफल, ऐतिहासिक अध्ययन र सहमति नगरी गरिएको वर्गीकरणले सामाजिक न्याय स्थापित गर्छ कि समाजमा थप असमझदारी र विभाजन निम्त्याउँछ?
नेवार समुदायको भाषा, संस्कृति, परम्परा, गुठी र सामाजिक संरचना हजारौँ वर्षको सभ्यताबाट निर्माण भएको हो। त्यसलाई प्रशासनिक सूचीमा सीमित गरेर बुझ्नु राज्यको गम्भीर कमजोरी हो।
राज्यको काम समाजलाई विभाजित गर्ने होइन, विभेद अन्त्य गर्दै समाजलाई एकताबद्ध बनाउने हो।
जातीय छुवाछुत र विभेदको अन्त्य हुनुपर्छ, तर त्यसका नाममा समुदायको पहिचानमाथि चोट पुग्नु हुँदैन। सामाजिक न्याय र सांस्कृतिक पहिचान एकअर्काका विरोधी होइनन्।
सरकारले यो निर्णय पुनर्विचार गरोस्। सम्बन्धित समुदायको आवाज सुनोस्। न्यायको नाममा अन्यायको अनुभूति पैदा नगरोस्।
विभेद अन्त्य गरौँ, पहिचानको सम्मान गरौँ। समाज जोडौँ, विभाजन होइन।
(लेखक राष्टिय उद्योग व्यापार महासंघका अध्यक्ष हुन् ।)










Leave a Reply