काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को बाह्रौँ पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपा (माओवादी) बागमती प्रदेशको आयोजनामा राजधानीमा आयोजित विशेष कार्यक्रममा ‘एकीकृत जनक्रान्तिका १२ वर्ष’ शीर्षकको दोलागिरि त्रैमासिक पत्रिकाको विशेष प्रकाशन विमोचन गरिएको छ । मङ्गलबार सम्पन्न उक्त कार्यक्रममा नेकपा (माओवादी) का बागमती प्रदेश इन्चार्ज माइला लामा, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की उपाध्यक्ष धीरेन्द्रा उपाध्यायलगायतले संयुक्त रूपमा विशेष प्रकाशनको विमोचन गर्नुभएको थियो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को पुनर्गठनपछिका १२ वर्षको राजनीतिक तथा वैचारिक यात्रा, यस अवधिमा प्राप्त उपलब्धि, सीमा, सम्भावना एवं चुनौतीका विविध आयामलाई समेटेर प्रकाशनले खोजमूलक सामग्री प्रस्तुत गरेको छ । समग्र कम्युनिस्ट आन्दोलनमा विचार र दृष्टिकोणबारे अध्ययन, छलफल तथा अनुसन्धानको काम कमजोर हुँदै गइरहेको सन्दर्भमा नेपाललगायत विश्वका क्रान्तिकारी आन्दोलनका पछिल्ला गतिविधि र विगत १२ वर्षमा अगाडि सारिएका विचार, कार्यक्रम, राजनीति तथा कम्युनिस्ट अर्थदृष्टिकोणका साथै नेपाली समाजका सामाजिक–आर्थिक पक्षहरूको समेत विश्लेषण गर्दै विशेषाङ्क तयार पारिएको हो । प्रकाशनमा नेकपा (माओवादी) का महासचिव विप्लव सी, सचिवालय सदस्य सन्तोष सी, अनिल शर्मा ‘विरही’, भरत सीलगायतका लेखक तथा राजनीतिक विश्लेषकहरूका महत्त्वपूर्ण वैचारिक, राजनीतिक एवं विश्लेषणात्मक सामग्री समावेश गरिएका छन् । प्रकाशनलाई जनपक्षीय पत्रकारहरू कुशल बोगटी, सुदर्शन मङ्गोल र शेरबहादुर विश्वकर्माले सङ्कलन तथा सम्पादन गर्नुभएको हो । १ सय २८ पृष्ठ रहेको उक्त विशेष प्रकाशनको संस्थागत मूल्य ५ सय रुपैयाँ र व्यक्तिगत मूल्य २ सय रुपैयाँ निर्धारण गरिएको छ । पार्टी पुनर्गठनका १२ वर्षका अनुभव, उपलब्धि, चुनौती र आगामी कार्यदिशाबारे वैचारिक बहस तथा अध्ययनलाई अगाडि बढाउने उद्देश्यले प्रकाशित विशेषाङ्कले नेपाली कम्युनिस्ट आन्दोलनको समकालीन विमर्शमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
‘एकीकृत जनक्रान्तिका १२ वर्ष’ विशेषाङ्क विमोचन












Leave a Reply