भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनका क्रममा फरार रहेका चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर तथा प्रहरी वृत्त ठिमी, जगाती र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेका चार जनालाई पक्राउ गरेको हो।
प्रहरीले २०८३ मंसिर ११ गते उनीहरूलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमध्ये दुई जना चेक अनादर मुद्दाका प्रतिवादी रहेका छन्। उनीहरूलाई जनही एक वर्ष कैद र कुल १ हजार ५०० रुपैयाँ जरिवाना तोकिएको थियो। उक्त मुद्दामा १० लाख रुपैयाँ बिगोसमेत रहेको छ।
त्यस्तै, बैंकिङ कसुर मुद्दाका एक जना प्रतिवादी पक्राउ परेका छन्। उक्त मुद्दामा ३ लाख ४० हजार रुपैयाँको लगत कट्टा गरिएको प्रहरीले जनाएको छ।
सार्वजनिक अपराध मुद्दाका एक जना प्रतिवादीलाई पनि पक्राउ गरिएको छ। उनलाई २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
प्रहरीको विवरणअनुसार चार जनाको पक्राउसँगै कुल एक वर्ष कैद, ३ हजार ५०० रुपैयाँ जरिवाना तथा १३ लाख ४० हजार रुपैयाँ बराबरको बिगो तथा लगतसम्बन्धी फैसला कार्यान्वयन भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार कार्कीले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको जनाएका छन्।












Leave a Reply