सिन्धुपाल्चोकको गौराती भीमेश्वरम भव्य मेला

धार्मिक आस्था र ऐतिहासिक परम्पराको संगम

चौतारा, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल गौराती भीमेश्वर मन्दिरमा आज परम्परागत गौराती मेला लागेको छ। धार्मिक आस्था, ऐतिहासिक विरासत र मौलिक संस्कृतिसँग जोडिएको यस मेलामा दर्शन तथा पूजाआजाका लागि भक्तजनहरूको सहभागिता रहने गर्दछ। चौतारा साँगाचोकगढी नगरपालिकाको गौरातीस्थित भीमेश्वर मन्दिर सिन्धुपाल्चोक जिल्लाकै महत्वपूर्ण धार्मिक स्थलका रूपमा परिचित छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको अवसरमा लाग्ने गौराती मेलालाई जिल्लाकै ठूलो धार्मिक मेलामध्ये एक मानिन्छ। मेलामा सिन्धुपाल्चोकसहित काठमाडौँ, भक्तपुर, काभ्रे, दोलखा, नुवाकोट लगायत विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजन आउने परम्परा रहँदै आएको छ। गौराती भीमेश्वरको उत्पत्ति र किंवदन्ती गौराती भीमेश्वरको उत्पत्तिसँग जोडिएको जनश्रुतिअनुसार प्राचीन समयमा गौराती क्षेत्र जंगल तथा गाईवस्तु चराउने खर्कका रूपमा रहेको थियो। त्यहाँ एउटा गाईले रातको समयमा निश्चित स्थानमा दूध चढाउने गरेको गोठालाहरूले देखेपछि उक्त स्थान खनेर हेर्दा दिव्य स्वरूप प्रकट भएको विश्वास गरिन्छ। त्यसपछि उक्त स्थानमा पूजा आराधना गर्न थालिएको र गाईले राति दूध चढाएको प्रसंगसँग जोडेर ‘गौराती’ नाम रहन गएको धार्मिक किंवदन्ती छ। भूमि खनेर उत्पत्ति भएको विश्वासका कारण सुरुमा भूमेश्वर र पछि भीमेश्वरका रूपमा पूजिँदै आएको जनविश्वास पनि पाइन्छ। चार सय वर्षभन्दा पुरानो ऐतिहासिक विरासत गौराती भीमेश्वर मन्दिरको ऐतिहासिकता झल्काउने महत्वपूर्ण प्रमाणका रूपमा वि.सं. १६४२ मा चढाइएको ढलौटको घण्टालाई लिने गरिन्छ। उक्त घण्टाको आधारमा यस क्षेत्रमा चार सय वर्षभन्दा लामो समयदेखि धार्मिक पूजाआजा हुँदै आएको विश्वास गरिन्छ। विभिन्न कालखण्डमा मन्दिरको संरक्षण तथा पुनर्निर्माण हुँदै आएको छ। वि.सं. २०५३ मा मन्दिर पुनर्निर्माण गरिएको थियो। चौतारा र गौरातीबीचको धार्मिक सम्बन्ध गौराती मेलाको अर्को विशेष आकर्षण चौतारा पुरानो बजारस्थित भीमसेन मन्दिरबाट भगवान् भीमसेनको मूर्तिलाई रथमा राखेर गौराती पुर्‍याउने परम्परा हो। पूर्णिमाको रात चौताराका भीमसेन र गौराती भीमेश्वरबीच धार्मिक मिलन गराउने चलनले मेलालाई थप विशेष बनाउँछ। यससँगै सरकारी पूजा, गुठीयारहरूको पूजाआजा, परम्परागत जात्रा तथा सिन्दूर यात्राले गौराती मेलाको सांस्कृतिक महत्वलाई उजागर गर्दछ। धार्मिक पर्यटन र स्थानीय संस्कृतिको संरक्षण गौराती भीमेश्वर मेला धार्मिक आस्थाको केन्द्र मात्र नभई स्थानीय कला, संस्कृति, परम्परा र सामाजिक सद्भावको महत्वपूर्ण पर्व पनि हो। प्राकृतिक सौन्दर्यले भरिएको गौराती क्षेत्रबाट वरपरका पहाड तथा जुगल हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिने भएकाले धार्मिक पर्यटनका दृष्टिले पनि यस क्षेत्र महत्वपूर्ण सम्भावना बोकेको छ। गौराती भीमेश्वर मन्दिर तथा मेलाको उचित संरक्षण, प्रचारप्रसार र व्यवस्थापन गर्न सके सिन्धुपाल्चोकको धार्मिक पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। गौराती मेला हाम्रो इतिहास, आस्था, संस्कृति र पुर्खाले जोगाउँदै आएको परम्पराको जीवन्त पहिचान हो। यस्ता धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नु आजको पुस्ताको महत्वपूर्ण दायित्व हो। गौराती भीमेश्वरको दर्शन गरौँ, मौलिक संस्कृति जोगाऔँ, धार्मिक पर्यटन प्रवर्द्धन गरौँ।

समाचार प्रस्तुति: शारदा प्रसाद चालिसे

Leave a Reply

Your email address will not be published. Required fields are marked *